Connect with us

SPECIAL

पीसीआर नेगेटिभ भएमात्रै स्वस्थानी व्रत बस्न पाउने

Avatar

Published

on

एक महिनासम्म चल्ने माधवनारायण स्वस्थानी व्रत हुने साँखुस्थित शालीनदी परिसर । तस्बिरहरु : ईश्वरकाजी खाइजू

काठमाडौं (साँखु) । स्वस्थानी व्रत भनेर प्रसिद्ध एक महिने माधवनारायण व्रत यस वर्ष यहीं माघ १५ गतेदेखि सुरु हुँदैछ । काठमाडौंको शंखरापुर नगरपालिकाको साँखुस्थित शाली नदी किनारमा उक्त व्रत बस्ने प्रचलन रहँदै आएको छ ।
स्वस्थानी व्रत कथाअनुसार शाली नदी क्षेत्र ऐतिहासिक एवं पौराणिक महत्वको स्थान हो । त्यसैले यसै स्थानमा व्रतालुहरु एक महिने लामो एवं कठिन व्रत बस्ने गर्दछन् ।
कोरोना भाइरस संक्रमणको महामारीको कारण यस वर्ष स्वस्थानीको व्रत बस्ने भक्तजनलाई कोरोना परीक्षण गरेको पीसीआर रिपोर्ट नेगेटिभ आउनु अनिवार्य गरिएको छ ।
कोरोना परीक्षण नेगेटिभमात्रै भएर व्रत बस्न नपाउने व्यवस्था गरिएको छ । कोरोना भाइरस संक्रमण नदेखिए पनि व्रत बस्ने भक्तजनमा निमोनियाजन्य रोगसमेत हुन नहुने प्रावधान राखिएको छ ।
वर्सेनि सयौंको संख्यामा व्रत बस्ने शालीनदीमा यस वर्ष ५० जनाभन्दा बढी भक्तजनलाई व्रत बस्न नदिने व्यवस्था गरिएको श्रीमाधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिले जनाएको छ ।
समितिका अध्यक्ष मिजेन्द्रकाजी श्रेष्ठले शालीनदीमा व्रत बस्ने भक्तजनहरुको लागि समितिले माघ १३ गते पीसीआर परीक्षणको व्यवस्था मिलाइएको जानकारी दिए । यसको लागि व्रतालुले माघ १० देखि १२ गतेभित्र आआफ्नो नाम दर्ता गर्नुपर्ने उनले बताए ।
‘कोरोना भाइरस संक्रमण भए नभएको थाहा हुने पीसीआर एन्टिजेन नेगेटिभमात्रै होइन निमोनियाको लक्षण छ कि छैन भनेर पनि एक्सरे रिपोर्ट साथमा ल्याउनुपर्ने अनिवार्य व्यवस्था गरेका छौं’, उनले भने, ‘विश्व स्वास्थ्य संगठनले रिफर गरेका विभिन्न रोग भएका बिरामीहरुलाई पनि व्रतमा सहभागी गराउन नसकिने भनेका छौं ।’
अध्यक्ष श्रेष्ठले यस वर्ष पुरुषतर्फ १५ र महिलातर्फ ३५ जना गरी जम्मा ५० जना भक्तजनलाई मात्रै स्वस्थानीको व्रत बस्न दिन लागिएको स्पष्ट पारे ।
यसवर्ष समितिले व्रतालुहरुलाई एकै ठाउँमा व्यवस्थित गरी राख्ने व्यवस्था मिलाएको छ । पहिले व्रतालु आफैले बस्ने, खाने व्यवस्था गर्दै आएका थिए । तर यसरी व्रतालुहरु छरिएर रहँदा कोरोना भाइरस संक्रमणको जोखिम भएकाले क्वारेन्टाइनको रुपमा सबै व्रतालुलाई एकै ठाउँमा व्यवस्थित गरी राख्ने व्यवस्था गरिएको समितिका महासचिव योगेशमान डंगोलले जानकारी दिए ।
उनले व्रत बस्ने ठाउँमा सामाजिक दूरी कायम गर्न यस वर्ष व्रतालुका घरपरिवारका सदस्य तथा आफन्तको उपस्थितिमा बन्देज लगाइएको बताए ।
‘पहिले जस्तो यस वर्ष व्रतालुसँगै उनका घरपरिवारका सदस्य र आफन्तको उपस्थितिलाई बन्देज लगाएका छौं’, महासचिव डंगोलले भने, ‘व्रत सुरु भएदेखि सम्पन्न नभएसम्म व्रतालुको सम्पूर्ण जिम्मा समितिले लिने गरी व्यवस्था गरेका छौं ।’
समितिले एकमहिने स्वस्थानी व्रतको तयारी करिब ९० प्रतिशत पूरा भएकोसमेत जनाएको छ ।
व्रतबारे जानकारी दिन समितिले बिहीबार साँखु पत्रकार सम्मेलनको आयोजनासमेत गरेको थियो ।
पत्रकार सम्मेलनमा समितिका अध्यक्ष श्रेष्ठले यसवर्ष बृहत मेलाको रुपमा स्वस्थानी व्रतको तयारी नगरिएको जानकारी दिए । तर व्रत अवधिभर शालीनदी पुग्ने सर्वसाधारणको लागि कोरोना भाइरस संक्रमण हुन नदिन ठाउँ ठाउँमा स्यानिटाइजर, साबुन पानीले हात धुने र माक्सको व्यवस्था गरिने उनले बताए ।

‘स्वस्थानी व्रतअवधिभर करिब २० लाख भक्तजन शालीनदी परिसर पुगेको तथ्यांक छ’, अध्यक्ष श्रेष्ठले भने, ‘कोरोना भाइरस संक्रमणबीच यसवर्ष त्यति संख्याका भक्तजनको व्यवस्थापन चुनौतीपूर्ण छ । त्यसमाथि सामाजिक दूरी कायम गर्न सकिने अवस्था हुँदैन ।’
व्रतस्थल र शालीनदी परिसरमा सामाजिक दूरी कायम गर्न यस वर्ष बढीभन्दा बढी सुरक्षाकर्मी र स्वयंसेवक परिचालनको तयारी गरिएको समितिले जनाएको छ । व्रतालुसँग अन्य भक्तजनको सम्पर्क हुन नदिन व्रतस्थलमा विशेष व्यवस्था गरिएको छ । त्यस्तै यसवर्ष सर्वसाधारण भक्तजनले माधवनारायण देवतालाई सिधै स्पर्श गर्न पाउनेछैनन् । माधवनारायण विराजमान हुने स्थानमा चारैतिर डोरी बाँधिने समितिले जनाएको छ ।
पत्रकार सम्मेलनमा शंखरापुर नपाका मेयर सुवर्ण श्रेष्ठले साँखुको धरोहरको रुपमा रहेको स्वस्थानी व्रत रोक्न सकिने अवस्था नभएकाले यसलाई व्यवस्थित गर्नेतर्फ आफूहरुको ध्यान केन्द्रित भएको स्पष्ट पारे ।
‘अन्य मन्दिर खुलेको, सार्वजनिक सवारीसाधन चलेको तथा सिनेमा हलसमेत सञ्चालनमा आएको अवस्थामा स्वस्थानी व्रत रोक्न सकिने अवस्था रहेन’, उनले भने, ‘त्यसैले धर्म, संस्कृति र आस्थाको संरक्षण सँगसँगै मानव जीवन रक्षा गर्ने गरी व्रत सञ्चालन गर्न लागिपरेका छौं ।’

स्वस्थानी व्रतको महत्व

एकमहिने व्रत अवधिभर लाखौं भक्तजन शाली नदी पुग्ने गरेका छन् । यहाँ पुग्ने भक्तजनले शाली नदीमा नुहाउने प्रचलन रहेको छ ।
शाली नदीमा स्नान गरेपछि माधवनारायण तथा स्वस्थानी माताको दर्शन गर्दा पुण्य मिल्ने जनविश्वास रहँदै आएको छ । त्यस्तै स्वस्थानी माताका व्रतालुलाई दान गर्दा पनि पुण्य मिल्ने मान्यता रहेको छ । त्यसैले यहाँ विगतमा राज्य प्रमुखसमेत पुगेर व्रतालुलाई गच्छेअनुसार दान दिने गरेका थिए ।
माधवनारायण एवं स्वस्थानी माताको व्रत बस्दा व्रतालुले प्रत्येक दिन शाली नदीमा स्नान गर्नुपर्छ । त्यसैले व्रतालुलाई स्नान गर्न सहज हुने गरी शाली नदीलाई छेकेर पोखरी बनाइएको छ ।
गत वर्ष शालीनदीमा पक्की बाँध निर्माण गरिएको छ । नदीको दुई किनारबाट पानी जाने गरी पक्की बाँध निर्माणसँगै स्नान गर्ने ठाउँ व्यवस्थित भएको छ । त्यस्तै स्नान गर्ने शाली नदीको पूर्वी किनारमा पनि पक्की खुड्किला निर्माण गरिएको छ । जसले गर्दा भक्तजनलाई शाली नदीमा स्नान गर्न थप सहज भएको छ ।

एक महिने व्रतको लागि अहिले शाली नदी परिसर सिंगार्ने काम धमाधम भइरहेको छ । शाली नदी परिसरमा माधवनारायणको स्तम्भसहितको पार्क निर्माण अन्तिम चरणमा पुगेको छ । उक्त स्तम्भमा माधवनारायणको मूर्ति राखिने भएको छ । स्तम्भको चारैतिर दुबो रोपेर हरियाली निर्माण गरिएको छ । माधवनारायण पार्क शंख आकारको हुने समितिले जनाएको छ ।
काठमाडौंको चाबहिलसँगै भक्तपुरको बोडे, दुवाकोट, चाँगुनारायण, तेलकोट र नगरकोटबाट साँखु पुग्न सकिन्छ । शाली नदी पुग्ने भक्तजनलाई केन्द्रित गरेर साँखु यातायात प्रालिले दैनिक एकसय वटा बस सञ्चालनमा ल्याउने भएको छ । प्रालिका अध्यक्ष गोविन्दबहादुर श्रेष्ठले व्रतअवधिभर बेलुका ९ बजेसम्म सार्वजनिक यातायात सञ्चालन गरिने बताए ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!