Connect with us

SPECIAL

भक्तपुर दरबार क्षेत्रस्थित शारदा माविलाई विकल्प दिन जोड

Avatar

Published

on

शारदा मावि जाने मुख्य प्रवेशद्वार र द्वारको सामुन्ने रहेको ढुंगे स्तम्भमाथि गरुड तथा एकजोडी ढुंगाको सिंह । तस्बिर : ईश्वरकाजी खाइजू

सम्पदा नै लुप्त गर्न लागेकोप्रति स्थानीयको आपत्ति

ईश्वरकाजी खाइजू
भक्तपुर । जिल्लाको भक्तपुर नगरपालिका २ यालाछेंस्थित भक्तपुर दरबार क्षेत्र परिसरमा शारदा माध्यमिक विद्यालयको भवन पुनर्निर्माण गर्न लागिएको भन्दै इतिहासविद् तथा संस्कृतिविद्हरुसँगै स्थानीय बासिन्दाले आपत्ति जनाएका छन् ।
उनीहरुले भक्तपुर दरबार क्षेत्र परिसरअन्तर्गतको ९९ चोकमध्ये केही चोक रहेको उक्त क्षेत्रमा विद्यालय भवन पुनर्निर्माण गर्न स्वीकृति दिनु आपत्तिजनक भएको बताएका हुन् ।
इतिहासविद् तथा संस्कृतिविद्हरुले उक्त ठाउँ भक्तपुर दरबार क्षेत्रको भाग भन्ने स्पष्ट हुँदाहुँदै भक्तपुर नपाले शारदा माविको भवन पुनर्निर्माण गर्न स्वीकृति दिँदा आफूहरु आश्चर्यमा परेको सुनाए ।
‘भक्तपुर दरबार क्षेत्र उत्खनन् गर्ने भन्दै आएको भक्तपुर नपाले शारदा माविलाई भवन पुनर्निर्माण गर्न स्वीकृति दिनु आश्चर्यको कुरा हो’, उनीहरुले भने, ‘त्यसैले पहिले उक्त ठाउँमा उत्खनन् गर्नुपर्छ । विद्यालयलाई तत्काल भवन पुनर्निर्माण गर्न दिन हुन्न ।’
भक्तपुर दरबार क्षेत्रको ९९ चोकभित्र परेका जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति, जिल्ला अदालत, महानगरीय प्रहरी परिसर भक्तपुर, नेपाल स्काउट, भक्तपुर बारलगायतका भवनसमेत हटाउन पहल गर्नुपर्नेमा विद्यालयलाई भवन पुनर्निर्माण गर्न दिने भक्तपुर नपाको निर्णय सच्याउनुपर्ने उनीहरुको जोड थियो ।
‘भक्तपुर दरबार क्षेत्र उत्खनन् गर्ने भन्दै आएकाले जिल्ला अदालतले अन्तै नयाँ भवन बनाइसकेको छ’, उनीहरुले भने, ‘क्रमशः अरु सरकारी कार्यालयहरुलाई पनि दरबार क्षेत्रबाट स्थानान्तरण गर्दै लानुपर्छ तर अहिले विद्यालय भवन पुनर्निर्माण गर्न दिँदा ती कार्यालयहरु स्थानान्तरण भएर जान तयार हुँदैनन् ।’
भक्तपुर नपाबाट ‘दबाब’ आउनसक्ने भन्दै ती इतिहासविद् तथा संस्कृतिविद्हरुले आफ्नो नाम उल्लेख नगर्न भने ध्यानाकर्षण गराएका थिए ।

नारायण मन्दिरको जगमा विद्यालय भवन !

जग खन्दा भेटिएको मन्दिरको भग्नावशेष ।

शारदा माविको भवन बन्नुअघि त्यहाँ दुई तले प्यागोडा शैलीको नारायणको मन्दिर रहेको उनीहरु बताउँछन् । १९९० सालको भूकम्पमा उक्त मन्दिर भत्किएको थियो । भूकम्पले भत्काएको मन्दिर धेरै वर्षसम्म पुनर्निर्माण हुन नसकिएपछि उक्त मन्दिरभित्रको नारायणको मूर्तिलाई हनुमानघाटमा लगेर राखिएको उनीहरुको भनाइ छ ।
१९९० सालको भूकम्पमा भत्किएर पुनर्निर्माण हुन नसकेका धेरै मन्दिरका देवदेवीका मूति अहिले पनि हनुमानघाट परिसरमा रहेका छन् । जसअनुसार उक्त नारायणको मूर्ति हालसम्म पनि हनुमानघाटमै रहेको छ । हाल विद्यालय प्रवेश गर्ने मुख्य प्रवेशद्वार नै त्यसबेला नारायण मन्दिर पुग्ने प्रवेशद्वार हो । जसलाई पुष्टि गर्न अहिले पनि प्रवेशद्वारको दायाँबायाँ एकजोडी ढुंगे सिंहले पहरा दिइरहेको छ । त्यस्तै प्रवेशद्वारको ठीक सामुन्ने लामो ढुंगे खम्बामा घुँडा टेकेर नमस्कार गरिरहेको ढुंगाकै गरुडको मूर्तिसमेत रहेको छ ।
यी सबै प्रमाणले विद्यालय बन्नुअघि नारायणको मन्दिर रहेको भन्ने स्पष्ट हुँदाहुँदै भक्तपुर नपाले करोडौं रुपैयाँ खर्चेर विद्यालय भवन पुनर्निर्माण गर्न भनी स्वीकृति दिएकोमा स्थानीय पुण्यराम सुवालले पनि आपत्ति जनाए ।

विद्यालय भवन बन्नुअघिको मन्दिरभित्र रहेको नारायण देवताको मूर्ति । हाल उक्त मूर्ति हनुमानघाटमा रहेको छ । तस्बिर : ईश्वरकाजी खाइजू

‘भूकम्पले भत्काएको भग्नावशेषमाथि नै २०१३ सालमा शारदा माविको भवन ठड्याइएको थियो’, उनले थपे, ‘अहिले विद्यालय भवन पुनर्निर्माण गर्न जग खन्ने क्रममै पनि मन्दिरको भग्नावशेष फेला परेको छ । यी सबै प्रमाणलाई अन्देखा गरेर सम्पदालाई विलुप्त पार्न पाइँदैन । विद्यालय भवन पुनर्निर्माण गर्न मिल्दैन ।’
भक्तपुर नपाले २०७२ सालको भूकम्पपछि भक्तपुर दरबार क्षेत्रभित्र परेको शारदा माविसँगै पद्म र विद्यार्थी निकेतन माविलाई अन्यत्र सार्ने भनेको थियो । उसले भक्तपुर दरबार क्षेत्र उत्खनन् गर्ने भन्दै यी ३ विद्यालयलाई भूकम्पपछि कुनै पनि भवन तथा संरचना बनाउन स्वीकृति दिएन । जसले गर्दा यी विद्यालयहरुले कक्षाकोठा अभाव झेल्दै जेनतेन पढाइलाई निरन्तरता दिँदै आएका थिए ।
भक्तपुर नपाले स्वीकृति नदिँदा यी विद्यालयले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, विदेशी दातृ निकाय तथा संस्थाले भूकम्पले क्षति पु-याएका भवन पुनर्निर्माण गरिदिन्छु भन्दा पनि कुनै सहयोग लिन पाएनन् । जसले गर्दा स्थानीय तथा इतिहासविद् तथा संस्कृतिविद्हरुमा भक्तपुर दरबार क्षेत्रको उत्खनन् हुने विश्वास बढेको थियो तर हालै शारदा माविलाई भवन पुनर्निर्माण गर्न स्वीकृति दिएपछि सम्पदा संरक्षणमा अग्रणी भक्तपुर नपाबाट आफूहरु निराश भएको उनीहरुले सुनाए ।
‘शारदा माविको भवन बन्नुअघि मन्दिर रहेको स्पष्टै छ । त्यसमा द्विविधै छैन’, सम्पदा संरक्षण अभियन्ता एवं अधिवक्ता राजकुमार सुवालले भने, ‘त्यहाँ मल्लकालीन बौद्ध चैत्य अहिलेसम्म जिउँदोजाग्दो छ । यस्तो स्थितिमा भक्तपुर नपाले विद्यालयलाई अन्यत्रै स्थानान्तरण गर्नुपर्छ ।’
यसअघि पुरातत्व विभागले पद्म माविमा उत्खनन् गर्दा मल्लकालीन दरबारको अवशेष नै फेला परेको थियो । त्यहाँ मल्लकालीन साततले बसन्तपुर दरबार रहेको थियो । जुन १८९० सालको भूकम्पले भत्काएको थियो ।
‘तर शारदा मावि परिसरमा मन्दिरका सबै भाग नै बाँकी छन् । अहिले मन्दिरको भग्नावशेष नै फेला परेको छ’, अधिवक्ता सुवालले भने, ‘त्यसैले पहिले भने जस्तै भक्तपुर नपाले शारदा माविलाई अन्तै स्थानान्तरण गर्नुपर्छ ।’
स्थानीयले २०७२ सालको भूकम्पपछि क्षतिग्रस्त विद्यालय भवनको निरीक्षणमा आएका नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेलगायतले अब विद्यालय स्थानान्तरण गरेर भक्तपुर दरबार क्षेत्र उत्खनन् गरिने अभिव्यक्ति दिएको सुनाए । तर अहिले त्यहीं नेमकिपाबाट उम्मेदवार बनी भक्तपुर नपामा निर्वाचित जनप्रतिनिधिहरुले पार्टी अध्यक्षकै अभिव्यक्तिलाई झूटो सावित गर्न लागिपरेको भन्दै गुनासो गरे ।
‘२०७२ साल बैशाख १२ गतेको महाभूकम्पपछि क्षति पु¥याएको विद्यालय भवन निरीक्षण गर्न आउनुभएका नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले नै अब विद्यालय अन्तै सारेर भक्तपुर दरबार क्षेत्र उत्खनन् गर्नुपर्ने अभिव्यक्ति दिएका थिए’, एक स्थानीयले भने, ‘तर त्यहीं पार्टीबाट जितेका भक्तपुर नपाका जनप्रतिनिधिहरुले सम्पदा क्षेत्रमै विद्यालय पुनर्निर्माण गर्न स्वीकृति दिएर पार्टी अध्यक्षकै अभिव्यक्तिलाई झूटो सावित गर्न लागेका छन् ।’
अझ उल्टै विद्यालय भवन पुनर्निर्माण गर्न नेमकिपाकै संघीय सांसद र प्रदेश सांसदले आफ्नो संसद विकास कोषबाट बजेट उपलब्ध गराएको भन्दै उनले आक्रोश पोखे ।
‘नगरपालिकाले गल्ती गरे रोक्नुपर्ने प्रदेश सांसद र संघीय सांसदले नै उल्टै सम्पदा क्षेत्रमा विद्यालय भवन पुनर्निर्माण गर्न बजेट उपलब्ध गराए’, उनले थपे, ‘के भक्तपुर नपा, संघीय र प्रदेश सांसदहरु नै सम्पदा म्हास्न उद्यत भएका हुन् ?’
शारदा मावि भवन पुनर्निर्माण गर्न विघटित प्रतिनिधिसभाका सदस्य प्रेम सुवालले आफ्नो संसद विकास कोषबाट २५ लाख रुपैयाँ बजेट पारिदिएका छन् । त्यस्तै बागमती प्रदेशका सांसद सुरेन्द्रराज गोसाईंले ४० लाख रुपैयाँ बजेट उपलब्ध गराएका छन् ।
२५ लाख रुपैयाँ बजेट उपलब्ध गराउने निवर्तमान संघीय सांसद सुवालले नै भवन पुनर्निर्माणको शिलान्यास गरिसकेका छन् । उक्त कार्यक्रममा प्रदेश सांसद गोसाईंसमेत सहभागी भएका थिए ।
त्यस्तै भक्तपुर नपाकी उपमेयर रजनी जोशी, वडा अध्यक्षहरु प्रेमगोपाल कर्माचार्य र हरिप्रसाद बासुकला पनि पुनर्निर्माण शिलान्यास कार्यक्रममा सहभागी भएका थिए । उनीहरुले आवश्यक परे पुनः भत्काउने शर्तमा विद्यालय भवन पुनर्निर्माण गर्न दिइएको स्पष्टीकरण दिए ।
तर स्थानीयले भने आवश्यक परे भत्काइने भवन करिब ३ करोड रुपैयाँ खर्चेर पुनर्निर्माण नगरिने भन्दै आएका छन् ।

नपाले विकल्प दिनुपर्छ : नकर्मी

शारदा मावि परिसरमा रहेको मल्लकालीन चैत्य ।

पुरातत्व विभागअन्तर्गत भक्तपुरमा रहेको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयकी प्रमुख अरुणा नकर्मीले शारदा मावि परिसर भक्तपुर दरबार क्षेत्रकै भाग भएको स्पष्ट पार्दै नपाले विद्यालयलाई विकल्प दिनुपर्ने बताइन् ।
भक्तपुर नपाले आवश्यक परे भत्काउने शर्तमा विद्यालय पुनर्निर्माण गर्न दिने स्पष्टीकरणसहित नक्सा पेस गरेपछि विभागबाट स्वीकृति दिइएको उनले जानकारी दिइन् ।
‘शारदा मावि परिसर भक्तपुर दरबार क्षेत्रकै भाग हो’, प्रमुख नकर्मीले भनिन्, ‘भक्तपुर दरबार क्षेत्र उत्खनन् गर्ने हो भने भक्तपुर नपाले त्यहाँ विद्यालय भवन पुनर्निर्माण गर्न दिनुहुन्न । विकल्प दिनुपर्छ ।’
उनले २०७२ सालको भूकम्पपछि भक्तपुर नपा आफैले रोकेको विद्यालय भवन निर्माण कार्य अहिले आएर स्वीकृति दिएको सुन्दा आश्चर्यमा परेको सुनाइन् ।

उत्खनन्मा हाम्रो आपत्ति छैन : तुईतुई

भूकम्पले भत्काउनुअघिको शारदा माविको मुख्य भवन ।

विद्यालयमा प्रधानाध्यापक रोशनराज तुईतुईले धेरै संघर्षपछि मात्रै भूकम्पले भत्काएको भवन पुनर्निर्माण गर्न स्वीकृति पाएको सुनाए । उनले सम्पदा क्षेत्र भनेर विद्यालय परिवार स्पष्ट भए पनि आफूहरुसँग अरु विकल्प नभएको बताए ।
‘भूकम्पपछि ५ वर्ष हामी भवनविहीन रह्यौं । धेरै संघर्षपछि अहिले भवन पुनर्निर्माण हुने अवस्था आएको हो’, प्रअ तुईतुईले भने, ‘तैपनि उत्खनन् गर्ने नै हो भने हामीलाई आपत्ति छैन । तर विद्यालय भवन पुनर्निर्माण सुरु गर्नुअघि नै हुनुप-यो ।’
उनले साविक ठाउँमा भवन बनाउन नदिने भए विकल्प दिन भक्तपुर नपाको पटकपटक ध्यानाकर्षण गरिएको सुनाए ।

तत्कालीन बडामहारानी रत्नले शिलान्यास गरेकी थिइन् भवन

उनका अनुसार २००९ सालमा स्थापना भएको शारदाले २०१६ सालमा मात्रै अहिले पुनर्निर्माण हुन लागेको भवन पाएको थियो । उनले उक्त भवनको तत्कालीन बडामहारानी रत्न राज्यलक्ष्मीदेवी शाहले २०१३ सालमा शिलान्यास गरेकी थिइन् । भवन निर्माण सकिएपछि शाहले नै २०१९ सालमा भवन उद्घाटन गरेको इतिहास रहेको प्रअ तुईतुईले जानकारी दिए ।
‘स्थापनाकालमा भक्तपुर दरबार क्षेत्रमै रहेको पद्म हाईस्कुलमा विद्यालयको कक्षा सञ्चालन गरिएको थियो’, प्रअ तुईतुईले भने, ‘२०१९ सालमा मात्रै विद्यालयले आफ्नै भवन पाएको थियो । जुन भवन २०७२ सालको भूकम्पमा क्षतिग्रस्त भएको थियो ।’
विद्यालयले नेपाली मौलिक एवं परम्परागत शैलीअनुसार माटो जोडाइमा भवन पुनर्निर्माण गर्न लागेको हो ।

मल्लकालीन शैलीमै पुनर्निर्माण गर्ने तयारी

मल्लकालीन शैलीमा पुनर्निर्माण हुने शारदा मावि भवनको डिजाइन ।

प्रअ तुईतुईले भक्तपुर दरबार क्षेत्रको ९९ चोकभित्र रहेको हुँदा विद्यालय भवन पनि मल्लकालीन शैलीमा बनाउन लागिएको स्पष्ट पारे ।
उनका अनुसार भवन पुनर्निर्माण गर्न करिब एक करोड रुपैयाँ सहयोग गर्ने प्रतिबद्ध दाताहरु विद्यालयसँग रहेका छन् । त्यसमाथि विघटित प्रतिनिधिसभा सदस्य प्रेम सुवालले २५ लाख र बागमती प्रदेश सांसद सुरेन्द्रराज गोसाईंले ४० लाख रुपैयाँ बजेट उपलब्ध गराएपछि विद्यालय भवन पुनर्निर्माण गर्न आफूहरु उत्साहित भएको प्रअ तुईतुई सुनाउँछन् ।
तीनतले उक्त भवनमा १४ वटा कोठा हुनेछन् । जसमध्ये करिब १० वटा शिक्षणको लागि र बाँकी कार्यालय, पुस्तकालय, प्रयोगशाला, लेखाशाखाको लागि प्रयोग गरिने विद्यालयले जनाएको छ ।
विद्यालयमा हाल दुईसय पचास विद्यार्थी अध्ययनरत छन् । तीनजना निजी स्रोतका सहित २५ जना शिक्षक रहेका छन् । कक्षा १२ सम्म पढाइ हुने विद्यालयमा कक्षा ११ र १२ तर्फ मानविकी, व्यवस्थापन र शिक्षाशास्त्र संकायको पढाइ हुँदै आएको छ ।
नपाले शारदालाई भवन पुनर्निर्माण गर्न स्वीकृति दिएसँगै भक्तपुर दरबार क्षेत्रमै रहेको पद्म र विद्यार्थी निकेतन माविले पनि भवन पुनर्निर्माण गर्ने प्रक्रिया अघि बढाएका छन् ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!