Connect with us

TOURISM

मुकुन्डो बनाउन सिक्दै गैरचित्रकार युवायुवती

Avatar

Published

on

भक्तपुर हस्तकला संघद्वारा आयोजित एकमहिने मुकुन्डो बनाउने तालिमका सहभागी युवायुवती । तस्बिर : ईश्वरकाजी खाइजू

भक्तपुर । कागजको मुकुन्डो बनाउने पेसा चित्रकारहरुको पुख्र्यौली पेसा हो । यो नेपालको मौलिक एवं परम्परागत सीप र पेसासमेत हो । तर पछिल्लो समय चित्रकार समुदायका युवा पुस्ता यस पेसामा आकर्षित छैनन् । जसले गर्दा यो पेसाका कलाकार सीमित हुँदै आएको छ तर बजारमा यसको कलाकृतिको माग भने घटेको छैन ।
अन्तर्राष्ट्रियस्तरमै नेपाली मौलिक तथा परम्परागत सीप र कलाको प्रचारप्रसार भएपछि यसको माग ह्वात्तै बढेको कलाकारहरु बताउँछन् । कागजको मुकुन्डो हस्तकलासमेत भएकाले कलाका पारखीहरु यसतर्फ बढी आकर्षित भएको उनीहरु सुनाउँछन् ।
तर नयाँ कलाकार उत्पादन हुन नसक्दा माग धान्न मुस्किल हुँदै आएको उनीहरु गुनासो गर्छन् । पुख्र्यौली पेसा अँगाल्न चित्रकार समुदायका युवा पुस्ता यस पेसाप्रति आकर्षित हुन सकेका छैनन् । जसले गर्दा बजारमा कलाकारहरु दिनदिनै अभाव हुँदै आएका छन् । युवा पुस्ताका कलाकारहरुको अभावले कागजको मुकुन्डो बनाउने पेसा नै लोपोन्मुख हुँदै आएको भक्तपुर हस्तकला संघका अध्यक्ष गणेशमान राजचल बताउँछन् ।
हजारौं वर्ष पुरानो कागजको मुकुन्डो बनाउने पेसा र प्रविधि लोप हुने अवस्था आएपछि संघले युवा पुस्तालाई एकमहिने आधारभूत तालिम दिएको उनी सुनाउँछन् ।
‘अहिले कागजको मुकुन्डोसँगै हस्तकलाको माग ह्वात्तै बढेको छ’, अध्यक्ष राजचल थप्छन््, ‘तर सीमित कलाकारले गर्दा माग धान्न मुस्किल हुँदै आएको छ । युवा पुस्ता नआउँदासम्म समस्या बढ्नेमात्रै देखियो ।’
उनले युवा पुस्तालाई यस पेसाप्रति आकर्षित गर्न पनि तालिम दिइएको स्पष्ट पारे ।
संघका सचिव एवं प्रशिक्षक सोम तामाङले युवा पुस्ता नआउँदा नेपालका मौलिक एवं परम्परागत पेसा तथा कला हराउँदै जान थालेको सुनाए । गैरनेवार भएर पनि कागजको मुकुन्डो बनाउने नेवारहरुको पुख्र्यौली पेसा अँगाल्दै आएका तामाङले युवा पुस्ता आकर्षित भए यसले जीवन्तता र निरन्तरता पाउने स्पष्ट पारे ।
नेपाल हस्तकला महासंघको आर्थिक सहयोगमा भक्तपुरमा जारी एकमहिने कागजको मुकुन्डो बनाउने तालिममा ७ पुरुष र ५ महिला गरी १२ जना युवा सहभागी छन् । उक्त तालिममा गैरनेवार युवायुवतीसमेत सहभागी रहेको प्रशिक्षक तामाङले जानकारी दिए ।
उनका अनुसार तालिममा कागजको मुकुन्डो बनाउने प्रारम्भिक ज्ञान र सीपमात्रै दिइनेछ । जसअनुसार सुरुमा प्रशिक्षार्थीहरुलाई मुकुन्डो बनाउन आवश्यक कच्चापदार्थबारे जानकारी दिइएको छ ।
कागजको मुकुन्डो भने पनि यो माटो, नेपाली कागज र कपासको समीश्रणबाट बनाइन्छ । अधिक नेपाली कागजको प्रयोग हुने भएकाले यसलाई परम्परादेखि नै कागजको मुकुन्डो भन्दै आएको प्रशिक्षक तामाङ बताउँछन् ।
‘आवश्यक कच्चा पदार्थबारे जानकारी दिएपछि माटो, नेपाली कागज र कपास मिसाउने सीप र विधि सिकाउँछौं’, उनले थपे, ‘कच्चापदार्थ तयार भएपछि कुन मुखाकृति बनाउने हो त्यसको साँचो बनाउन सिकाउँछौं ।’
बनेको साँचोमा तयारी अवस्थाको माटो, नेपाली कागज र कपास मिसाएर बनाइएको लेदो राख्ने तरिका सिकाउने प्रशिक्षक तामाङले बताए ।
साँचो बनाउन सिकेपछि जुनसुकै मुखाकृति तयार गर्न सक्षम हुने उनको भनाइ थियो ।
उनका अनुसार अन्तिममा यसरी साँचोको सहायताले तयार भएको मुखाकृतिमा रंग भर्ने विधि र तरिका सिकाइएको छ । आजभोलि बजारमा तयारी रंग पाइने भएकाले पहिलेजस्तो परम्परागत विधिबाट रंग बनाइरहने झन्झट भने हटेको उनी बताउँछन् ।
तालिममा बजार प्रवद्र्धन गर्नेबारे समेत जानकारी दिइने भक्तपुर हस्तकला संघका अध्यक्ष राजचलले जानकारी दिए । उनका अनुसार तालिम आधारभूतमात्रै भएकाले प्रशिक्षार्थीहरुले विशिष्ट तालिमको व्यवस्था गर्न माग गरेका छन् । आधारभूत तालिम लिएका केही युवायुवतीले यसैलाई व्यवसायिक रुपमा अघि बढाउने सोच बनाएका छन् ।
प्रशिक्षार्थी शर्मिला विश्वकर्माले आधारभूत तालिमबाटै धेरै कुरा सिक्ने र जान्ने अवसर मिलेको भन्दै तालिमले आफूलाई यसै पेसामा लाग्न प्रेरित गरेको सुनाइन् ।
‘आधारभूत तालिमले नै पेसामा लाग्न प्रेरित गरेको छ’, उनले भनिन्, ‘विशिष्ट तालिमको व्यवस्था भए पेसामा लाग्ने आत्मविश्वास बढ्ने थियो ।’
त्यस्तै अर्का प्रशिक्षार्थी हेमन्त खड्गीले पनि विशिष्ट तालिम लिएर आफ्नो कलाकारिता निखार्न पाए निश्चिन्त भएर यहीं पेसामा व्यवसायिक रुपले लाग्न पाउनेमा जोड दिए ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!