Connect with us

TOURISM

भक्तपुरकी एकान्तकुमारी जिविकाको बेलविवाह हुने

Published

on

भक्तपुर । भक्तपुरमा जिवित देवी मानिने एकान्तकुमारीको पद रिक्त हुने भएको छ । बहालवाला एकान्तकुमारी जिविका बज्राचार्यको आउँदो श्रीपञ्चमीमा बेलविवाह हुँदै छ ।
बहालवाला कुमारी १० वर्ष पूरा भएपछि वा बेलविवाह गर्ने निश्चित भएपछि भक्तपुरमा एकान्तकुमारीको पदबाट स्वतः अवकाश हुने प्रावधान रहेको छ । कुमारी पद खाली भएपछि नयाँ कुमारीको खोजीको लागि समय लाग्ने भएकाले आमाबुबाले बेलविवाह गर्ने तीन महिनाअघि नै भक्तपुर तलेजुलाई जानकारी दिने प्रचलनसमेत रहँदै आएको छ ।
सोहीअनुसार बहालवाला एकान्तकुमारी जिविकाको बेलविवाह गर्ने निश्चित भइसकेकोबारे भक्तपुर तलेजुलाई जानकारी गराइएको जिविकाका पिता जीवचन्द्रले जानकारी दिए ।
‘श्रीपञ्चमीको दिन बेलविवाहको साइत जुरेको छ’, जीवचन्द्रले भने, ‘सोहीअनुसार भक्तपुर तलेजु र कुमारीका सुसारे नाइकेलाई जानकारी दिइसकेको छु ।’
जिविका बज्राचार्य २०७२ सालमा भक्तपुरको एकान्तकुमारीमा नियुक्त भएकी थिइन् । भक्तपुर तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले १० वर्ष नाघी ११ वर्ष पुगेमा वा बेलविवाह गर्ने भएमा जुन पहिले हुन्छ त्यसैको आधारमा एकान्तकुमारीबाट स्वतः अवकास हुने प्रचलन रहँदै आएको बताए ।
बहालवाला एकान्तकुमारी जिविकाको बेलविवाह गर्ने निश्चित भइसकेकाले नयाँ कुमारीको खोजी कार्य अघि बढाइएको उनले जानकारी दिए ।
भक्तपुरमा शाक्य बज्राचार्य कुलकी २ देखि ८ वर्षसम्मका सुकन्यालाई एकान्तकुमारी नियुक्ति गरिँदै आएको छ ।

एकान्तकुमारी हुने योग्यता

एकान्तकुमारी हुनलाई शाक्य र बज्राचार्य कुलकी कन्या भएरमात्रै पुग्दैन । मूल नाइके जोशीका अनुसार गुणवती, हँसिलो मुहार, शरीरमा कुनै खोट वा अंगभंग नभएकी, निधार चौडा भएकी कन्यामात्रै एकान्तकुमारीको लागि योग्य मानिन्छ ।
‘कुमारी बन्न इच्छुक कन्यालाई परिवारले पनि स्वीकृति दिनुपर्छ’, उनले थपे, ‘अझ मुख्य कुरा एकान्त कुमारीको फूलप्रसाद टाउकोमा राखेपछि बिरामी नपरेमा मात्रै ती कन्या कुमारी बन्न उपयुक्त मानिन्छ ।’
एकान्तकुमारीको पद खाली हुने भएपछि कुमारीका सुसारे नाइकेले नयाँ सुकन्याको खोजी गर्ने गर्दछन् । खोजीको क्रममा सुकन्या भेटिएपछि सुसारे नाइकेले भक्तपुर तलेजुका मूल नाइकेलाई जानकारी दिन्छन् ।
तलेजुका मूल नाइकेले सबै योग्यता भए नभएको जाँच गरेर उपयुक्त ठहरिएपछि सुकन्यालाई भक्तपुरको एकान्तकुमारीमा नियुक्तिको लागि गुठी संस्थान केन्द्रीय कार्यालयमा सिफारिस गर्ने गर्छन् ।

गुठी संस्थानले गर्छ नियुक्ति

भक्तपुर तलेजुका मूल नाइकेबाट सिफारिस भएकी कन्यालाई नै गुठी संस्थानले कुमारी पदमा नियुक्ति दिँदै आएको छ । पहिले मूल नाइकेले मूल पुरोहितसमक्ष सिफारिस गर्ने प्रचलन थियो ।
देशमा गणतन्त्र स्थापनासँगै मूल पुरोहितको ठाउँमा गुठी संस्थान केन्द्रीय कार्यालयमा सिफारिस गर्ने प्रचलन चलेको भक्तपुर तलेजुका मूल नाइके जोशीले जानकारी दिए ।
यसरी एकान्तकुमारीमा नियुक्त हुने कन्यालाई गुठी संस्थानले मासिक ३ हजार ७ सय १० रुपैयाँ भत्ता दिँदै आएको छ ।
एकान्त कुमारीमा नियुक्ति भएकी कन्या वडादसैंको घटस्थापनादेखि पूर्णिमासम्म कुमारी घरमा बस्नुपर्ने सुसारे नाइके न्हुछेरत्न शाक्य बताउँछन् । दसैंको नवमीको दिन एकान्तकुमारी तलेजुस्थित दसैंघरमा सवारी हुनुपर्छ । त्यसदिन तलेजुको तर्फबाट कुमारीको विशेष पूजा हुन्छ ।
उनका अनुसार अरु दिन घरमै बसरे आफ्नो दिनचर्या बिताउन पाइन्छ । तर कुमारी भएकी कन्याले घर तथा कतै भोजन गर्दा कुखुराको मासु तथा अन्डा खान नहुने प्रचलन रहेको उनको भनाइ छ ।
त्यस्तै कुमारी भएकी कन्याले अरुको जुठो पनि खानुहुँदैन । कुमारी भएकी कन्याले भक्तपुर तलेजु र गुठी संस्थानको अनुमति एवं स्वीकृतिविना काठमाडौं उपत्यका र बनेपाभन्दा टाढा जान पाइँदैन ।

बहालवाला र पूर्वकुमारीलाई भत्ताको व्यवस्था

सरकारले बहालवाला र पूर्वकुमारीहरुलाई निवृत्तिभरण भत्ताको व्यवस्था गरेको छ । जसअनुसार पूर्वकुमारीहरुले मासिक पाँच हजार ६ सय रुपैयाँ निवृत्तीभरण भत्ता पाउँछन् । बहालवालाहरुलाई भने तीन हजार एकसय ८५ रुपैयाँ व्यवस्था गरिएको छ । भक्तपुरका बहालवाला र पूर्वकुमारीहरुलाई गुठी संस्थानले थप एकएक सय रुपैयाँ भत्ता उपलब्ध गराउँदै आएको छ ।
भक्तपुरका ६ जना भूतपूर्व कुमारीहरु जीवित छन् । जसमध्ये २०४१ सालपछि कुमारी भएकाहरुले मात्रै निवृत्तीभरण भत्ता पाउँदै आएका छन् ।
मूल नाइके जोशीका अनुसार २०४१ सालपछि कुमारी बनेकाहरु गीता बज्राचार्य, पद्म सुमना शाक्य, नीलम बज्राचार्य, सजनी शाक्य, श्रीया बज्राचार्य र जुनिशा शाक्यले मात्रै निवृत्तीभरण भत्ता पाउने गरेका छन् ।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!