Connect with us

TOURISM

द्योछेंमै तलेजुबाट एकान्त कुमारीको दसैं पूजा

Avatar

Published

on

वडा दसैंअन्तर्गत महानवमी पूजाअघि सिंगारिएर सिंहासनमा बसेकी भक्तपुरकी एकान्त कुमारी जीविका बज्राचार्य । तस्बिर सौजन्य : सुरेशराज शाक्य

भक्तपुर । विश्वव्यापी महामारी बनेको कोरोना भाइरस संक्रमणको कारण जीवित देवी मानिने एकान्त कुमारी भक्तपुर तलेजु सवारी भइनन् । तलेजुमा एकान्त कुमारी सवारी हुने प्रचलनलाई कुमारी यात्रा पनि भनिन्छ ।
जुन कोरोना भाइरस संक्रमणका कारण यस वर्षको कुमारी यात्रा रोकिएको छ । कुमारी यात्रा रोकिएसँगै भक्तपुर तलेजुका रकमीहरु बाजागाजाविनै एकान्त कुमारीको द्योछें पुगेका छन् ।
वडा दसैंको महानवमीको दिन कुमारी भक्तपुर तलेजुको मूलचोकको पश्चिममा रहेको कुमारी चोकस्थित दसैंघर सवारी हुने प्रचलन रहँदै आएको छ । दसैंघर सवारी हुने कुमारीलाई तलेजुका जोशी, राजोपाध्याय र कर्माचार्य पुजारी नाइकेहरुसँगै अरु रकमीले पूजाआजा गर्ने गर्छन् । तर यस वर्ष कोरोना भाइरस संक्रमण हुने डरका कारण तलेजुमै कुमारी सवारी नभएको तलेजुका मूलनाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिए ।
जीवित देवी कुमारी तलेजुस्थित दसैंघर सवारी नभएपछि आफूहरु नै कुमारी द्योछें गएर कुमारी पूजा विधिवत सम्पन्न गरिएको उनले बताए ।
‘कोरोना भाइरस संक्रमणको कारण यस वर्ष जीवित देवी कुमारी तलेजु सवारी हुनुभएन’, मूल नाइके जोशीले भने, ‘त्यसैले हामी नै कुमारी द्योछें पुगेर तलेजुमार्फत हुने सम्पूर्ण पूजा विधिवत सम्पन्न गरेका छौं ।’
एकान्त कुमारी पूजाका क्रममा वेदपाठ, चण्डी पाठ, स्त्रोत्रपाठसमेत गरिएको उनी बताउँछन् ।
भक्तपुर तलेजु सवारी रोकिएपछि एकान्त कुमारी भक्तपुर नपा ५ चासुखेलस्थित माक थरको समुदायको गुठी घरमा पनि पुगेनन् । एकान्त कुमारी तलेजु सवारी हुनुअघि यस गुठीघरमा पुग्ने गर्दछिन् । जहाँ भैरव र गणेशसहितका ११ गणकुमारी र एकान्त कुमारीको एकैपटक पूजाआजा गरिन्छ ।
तर कोरोना भाइरस संक्रमणका कारण उक्त पूजा पनि रोकिएको मूल नाइके जोशी बताउँछन् । उक्त पूजा सकिएपछि बाजागाजासहित भक्तपुर तलेजुका रकमीहरुको दलबल एकान्तकुमारी लिन चासुखेल पुग्ने उनको भनाइ छ ।
तलेजुका मूल नाइके जोशीले एकान्तकुमारीलाई चासुखेलदेखि बोकेर ल्याएर दसैंघरमा विराजमान गराउने प्रचलन रहेको छ । जुन एकान्तकुमारी तलेजु सवारी नहुँदा रोकिएको छ ।
एकान्तकुमारी द्योछें बाहिर सवारी हुँदा सधैं उनलाई छत्र ओढाउने गरिन्छ ।
एकान्त कुमारीको द्योछें भक्तपुर नपा १० क्वाठण्डौंस्थित प्रशन्नशील महाविहार परिसरमा रहेको छ । जहाँ आइतबार महानवमीको दिन तलेजुबाट कुमारी पूजा गरिएको हो । द्योछेंमा सुसारे नाइके न्हुछेरत्न शाक्यले एकान्तकुमारीको रेखदेखलगायत गर्ने गर्छन् ।
भक्तपुरको एकान्तकुमारी शाक्य बज्राचार्य थरकी बालिका हुने प्रचलन रहँदै आएको छ । जसअनुसार भक्तपुर नपा ५ निवासी जीवचन्द्र बज्राचार्यकी छोरी जीविका बज्राचार्य कुमारी रहेकी छन् ।
कुमारी रहेकी बालिको रजस्वला वा बेलविवाह कुन पहिले हुन्छ त्यसको आधारमा निवृत्त हुने प्रचलन रहेको छ ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073 |

Design & Host By SITEMANDU.COM

Powered By GO BHAKTAPUR.COM