Connect with us

TOURISM

असार १५ : दही चिउरा खाने दिन

Published

on

Web Picture

भक्तपुर । सोमबार असार १५ । रोपाइँ सकेको खुसीयालीमा भोजस्वरुप दही र चिउरा खाने दिन । सरकारले यस दिनमा धान दिवससमेत मनाउँदै आएको छ । नेपाली समाजमा परम्परागत रुपले नै असार १५ मा दही चिउरा खाने प्रचलन रहँदै आएको हो ।
तर असार १५ मै किन खाइन्छ दही चिउरा ? प्रायःको एउटै उत्तर हुने गर्छ, पहिलेदेखि खाँदै आएको त्यसैले । आखिरमा किन असार १५ को सांस्कृतिक महत्व छ त ? संस्कृतिकर्मीहरुका असारमा समयमै रोपाइँ सकिएको खुसीयालीमा दही चिउरा खाइन्छ । परापूर्वकालदेखि नै यो प्रचलन चल्दै आयो । तर समयक्रमले यसलाई असार १५ मा पु¥याएको संस्कृतिकर्मीहरुको तर्क रहेको छ ।
उनीहरुका अनुसार रोपाइँ नसकिएसम्म दहीचिउरा खाइँदैन तर अहिले रोपाइँ सकियोस् या नसकियोस् प्रत्येक वर्षको असार १५ मा दहीचिउरा खाने गरिन्छ । हुन त अहिले दहीचिउरा खान असार १५ सम्म पर्खन पर्दैन । अहिले बजारमा दहीचिउरा १२ महिना उपलब्ध छन् ।
तर परापूर्वकालमा समयमै रोपाइँ सकिएको खुसीयालीमा भोजस्वरुप दहीचिउरा खाने चलन रहेको संस्कृतिकर्मी ओमप्रसाद धौभडेल बताउँछन् ।
‘माना रोपेर मुरी फलोस् भन्ने कामना लिएर सुरु गरिएको रोपाइँ सकिएको खुसीयालीमा दही चिउरा खाने गरिएको हो’, संस्कृतिकर्मी धौभडेल स्पष्ट पार्छन् ।
उनले रोपाइँमा सबैलाई भ्याईनभ्याई हुने भएकाले पकाइरहन पनि नपर्ने र तयार गर्न धेरै समय पनि नलाग्ने भएकाले दहीचिउरा खाने प्रचलनले महत्व पाएको बताए । ‘असारमा कामको व्यस्तताले अरु खानेकुरा जोहो गर्ने समय हुँदैन’, उनले थपे, ‘पकाइवरी गर्न नपर्ने र सरल रुपमा सबैका घरघरमा उपलब्ध हुने भएकाले असार १५ मा दही चिउरा खाने थिति नै बसेको हो ।’
उसबेला सबैसँग आजजस्तो माछा, मासुलगायतका पौष्टिक आहार खाने क्षमता थिएन । रोपाइँले थाकेका किसानहरुलाई माछामासु पकाएर बस्ने फुर्सद पनि हुँदैन ।
उसबेला सबैजसो किसानका घरमा गाईभैसी पालिएको हुन्थ्यो । गाईभैसीले दिने दूधले गर्दा घरघरमा दही, मही र घ्यू खाली हुँदैन । त्यस्तै खेतीकिसानी गर्ने भएकाले चिउरा पनि घरमै हुने भइहाल्यो । त्यसैले घरमै रहेको दहीचिउरालाई महत्व दिएर असारमा रोपाइँ सकिएको खुसीयालीमा भोज गर्ने प्रचलन रहेको संस्कृतिकर्मी धौभडेल स्पष्ट पार्छन् ।
दही चिउरा पौष्टिक आहार पनि भयो । धेरै समय लाग्ने गरी दहीचिउरा अरु खानेकुरा जसरी पकाइरहन पनि पर्दैन । त्यसैले यसको प्रयोगले महत्व पाएको उनी बताउँछन् । ‘यसै प्रयोगले आज संस्कृति र पर्वको रुप लिएकोमात्र हो’, संस्कृतिकर्मी धौभडेल भन्छन्, ‘तर कृषिमा परनिर्भरता बढेसँगै असार १५ को महत्व खल्लो हुने क्रम बढेको छ ।’
उनका अनुसार असार १५ कृषिमा नेपालीहरुको आत्मनिर्भरताको प्रमाण हो ।
‘पहिले दही र चिउरा घरकै हुन्थे’, उनी भन्छन्, ‘तर अहिले दही र चिउरा दुवै किन्नुपर्छ ।’

संकटमा दही

अहिले कमैका घरमा गाईभैंसी होलान् । गाईभैंसी नपालेपछि घरघरमा दही बन्ने कुरा भएन । तैपनि बजारबाट किनेर भए पनि असार १५ मा दहीचिउरा खाने प्रचलनमा कमी आएको छैन ।
विवाह, व्रतबन्ध, सभासमारोहपछि सबैभन्दा बढी दही प्रयोग हुने दिन भनेकै असार १५ हो । दही बनाउने पेसा पनि मौसमी व्यवसाय हो । माघ र फागुन महिना दहीका महिना हुन् । अरु समय भनेको चाडबाड, विवाह, व्रतवन्ध तथा सभा सम्मेलन नै हो । त्यस्तै गर्मी याममा पनि दहीको माग हुन्छ ।
तर बजारमा दूधको अभाव भएपछि दही संकटमा पर्दै आएको दही व्यवसायी कृष्णगोपाल सैंजू बताउँछन् ।
‘दूध आवश्यक मात्रामा नआउँदा अहिले दही धेरै जमाउन पाइँदैन’, उनले भने ।
भक्तपुर नगरभित्र करिब एकसय पचास घरपरिवारले परम्परागत रुपमा मौलिक जु जु धौ बनाउने गरिन्छ । उनीहरुले वार्षिक एक हजार पाँच सय मेट्रिक टन दही बनाउँछन् । दही भक्तपुरको मौलिक उत्पादन हो । भक्तपुरमा बन्ने दूधलाई विशेष प्रकारको दहीलाई जुजु धौ (राजा दही) भन्ने प्रचलन पनि रहँदै आएको छ । त्यसैले सबै दही जुजु धौ होइन ।
दही बनाउने पेसा आफैमा स्वतन्त्र र आत्मनिर्भर व्यवसाय भने होइन । यो पशुपालनमा आधारित व्यवसाय हो । पशुपालनमा पनि गाईको दूधबाट दही बन्दैन । त्यसैले शुद्ध भैंसीको दूध आवश्यक पर्छ । सहरीकरण र फेरिएको जीवनशैलीले नेपाली समाजमा पशुपालन क्रमशः घट्दै आएको छ ।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!