Connect with us

TOURISM

रानी पोखरीको मौलिक शैलीमै पुनर्निर्माण गरिने

Published

on

भक्तपुर नपा १ सल्लाघारीस्थित रानीपोखरी सरसफाइ गरिँदै । तस्बिरहरु : इन डेप्थ

भक्तपुर । भक्तपुर नगरपालिकाले वडा नं १ सल्लाघारीस्थित रानी पोखरीको मौलिक शैलीमै पुनर्निर्माण गर्ने भएको छ ।
भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले प्राप्त पुराना प्रमाणको आधारमा उक्त पोखरीको पुनर्निर्माण गर्ने प्रक्रिया अघि बढाइएको जानकारी दिए ।
यो पोखरी नेपाली सेनाअन्तर्गत रहेको सैनिक आवासीय महाविद्यालय परिसरमा रहेको छ । पोखरी सैनिक सुरक्षाभित्र रहेकाले उक्त पोखरीमा सर्वसाधारणलाई प्रवेश सहज छैन ।
हाल भग्नावशेषमात्रै बाँकी भएको पोखरीका चारै दिशाका डिलहरु भने बाँकी नै छन् । पोखरीमा पानी छिपछिपेमात्रै छ । चारैतिर झारपातले भरिएको यो पोखरीमा भक्तपुर नपाले सरसफाइ भने गर्दै आएको छ ।
भक्तपुरका प्रजापति समुदायको देवाली पूजा गर्नुपर्ने कूलदेवतासमेत पोखरी परिसरमा रहेकाले यहाँ बेलामौकामा सरसफाइ हुने गरेका छन् तर पोखरीको संरक्षण तथा पुनर्निर्माण भने हुन सकेको छैन ।
भक्तपुर नपाले काठमाडौंको रानीपोखरी संरक्षणमा सहयोग गरेपछि भने यो पोखरीसमेत पुनर्निर्माण गर्न स्थानीयले दबाब दिन थालेका छन् । सामाजिक सञ्जालमा ‘आफ्नो आङको भैसी नदेख्ने भक्तपुर नपाले काठमाडौंको जुम्रा देख्यो’ भन्नेसमेत टिप्पणी गरिएको थियो । सामाजिक सञ्जालमा रानी पोखरीलाई सैनिक कब्जाबाट मुक्त गर्न भक्तपुर नगरका जनप्रतिनिधिहरु असफल भएको आरोप लगाइएको थियो ।
यो पोखरी काठमाडौंको रानीपोखरीभन्दा ४० वर्ष पुरानो हो । पोखरीमा भेटिएको शिलालेखअनुसार नेपाल संवत् ७५० (वि.सं. १६८७) मा भक्तपुर मल्ला राजा जगज्योतिले उक्त पोखरी बनाउन लगाएका थिए । पोखरीको बीचमा नागको मूर्ति र ढुंगाका चारवटा खम्बा ठड्याएर शिवलिंग स्थापना गरेको शिलालेखमा उल्लेख छ । काठमाडौंको रानी पोखरी भने प्रताप मल्लले नेपाल संवत् ७९० (वि.सं. १७२७) मा बनाउन लगाएका थिए ।
प्रताप मल्लले नेपाल संवत् ७८३ मा भक्तपुर आक्रमण गर्दा यस पोखरी र त्यहाँ रहेका सम्पदाहरुलाई क्षति पु¥याएको इतिहासविद्हरु बताउँछन् । यहीं पोखरीबाट लोभिएर प्रताप मल्लले काठमाडांैमा रानीपोखरी बनाउन लगाएको दावी गर्नेहरु पनि कम छैनन् ।
यस्तो ऐतिहासिक पोखरीको पुनर्निर्माण गर्न नपाले नापजाँच गरी भेटिएको प्रमाणको आधारमा नक्सांकन गर्ने काम भइरहेको प्रमुख प्रजापतिले जानकारी दिए ।
सैनिक आवासीय महाविद्यालय हेर्ने नेपाली सैनिकका प्रमुख प्रतिनिधिमार्फत नेपाली सेनामा पोखरी पुनर्निर्माणबारे छलफल भइरहेको उनको भनाइ थियो ।
‘रानीपोखरी पुनर्निर्माणमा केही प्राविधिक समस्या छन्’, प्रमुख प्रजापतिले भने, ‘तैपनि पोखरीलाई पुनर्जीवन दिने प्रयासमा नगरपालिका अग्रसर रहँदै आएको छ ।’

पोखरीमा पुनः सफाइ

यसैबीच भक्तपुर नपाले आफ्नो पाक्षिक सरसफाइ अभियानअन्तर्गत आइतबार पोखरीमा पुनः सरसफाइ गरेको छ ।
प्रमुख प्रजापतिले स्थानीय चाड देवाली पूजा नजिकिएकोले पोखरी सरसफाइ गरिएको जानकारी दिए ।
सरसफाइमा नगर प्रमुख प्रजापति, उपप्रमुख रजनी जोशी, वडा अध्यक्ष तथा जनप्रतिनिधिहरुसँगै पोखरी परिसरमा देवाली पूजा गर्ने प्रजापति समुदायको तः गुठी, थिला गुठी, चुकु गुठी, न्हु गुठी, मारी गुठी र ख्वँ¥हे गुठीका गुठीयारलगायतको उपस्थिति रहेको थियो ।
पोखरीमा गरिएको सरसफाइको अवलोकन गर्न नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे र केन्द्रीय सचिव एवं भक्तपुर क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य प्रेम सुवालसमेत पुगेका थिए ।
नेमकिपाका अध्यक्ष बिजुक्छेले सम्पदा पुनर्निर्माण र संरक्षणमा अरु ठाउँमा भन्दा भक्तपुरमा व्यवस्थित र उल्लेखनीय कार्य भएको प्रतिक्रिया दिए ।
उनले सम्पदा क्षेत्र तथा सार्वजनिक स्थलको अतिक्रमण हुनबाट जोगाउन सम्बन्धित निकाय सचेत हुनुपर्ने बताए ।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!