Connect with us

TOURISM

राष्ट्रपति भण्डारीले वाचा पूरा नगरेको गुनासो

Avatar

Published

on

राष्ट्रपति विद्यादेवी भण्डारीलाई नवदुर्गा भवानीको प्रसाद चढाइँदै । तस्बिरहरु : ईश्वरकाजी खाइजू

राष्ट्रपतिले चाहेर पनि हेर्न पाइनन् नवदुर्गा नाच

भक्तपुर । राष्ट्रपति विद्यादेवी भण्डारीले इच्छा व्यक्त गर्दागर्दै यस वर्ष भक्तपुरको नवदुर्गा देवगणको नाच हेर्न पाइनन् ।
पुजारी जुलाल कर्माचार्यले नवदुर्गा देवगणलाई मुकुन्डो उपलब्ध नगराउँदा राष्ट्रपति भण्डारीको नवदुर्गा गणनाच हेर्ने धोको पूरा हुन नपाएको हो ।
पुजारी कर्माचार्यले देवगणको आग्रहअनुसार मुकुटसहितको मुकुन्डो हस्तान्तरण नगर्दा देवगणले नाच नाच्न पाएनन् । मुकुटसहितको मुकुन्डोविना नवदुर्गा देवगण नाचिँदैन ।
वडा दसैंको अन्तिम दिन कोजाग्रत पूर्णिमाको दिन राष्ट्रप्रमुखको हैसियतले राष्ट्रपति भण्डारी नवदुर्गा भवानीको पूजाआजा गर्न बुधबार भक्तपुर पुगेकी थिइन् । नवदुर्गा मन्दिर प्रवेशलगत्तै उनले देवगणसमक्ष नवदुर्गा गणनाच देखाउन आग्रह गरेकी थिइन् । तर पोशाकमात्रै लगाएर बसेका देवगणले राष्ट्रपतिको मनोकांक्षा पूरा गर्न सकेनन् । नवदुर्गा देवगणले पनि पहिलेदेखि राष्ट्रप्रमुखसमक्ष नाच देखाउने आफूहरुको चाहना पूरा गर्न नपाएको बताए ।
‘राष्ट्रपतिज्यूले मन्दिर प्रवेश गरेर हामीलाई देख्नुभएलगत्तै नाच देखाउन आग्रह गर्नुभएको थियो’, नवदुर्गा देवगणका सदस्य कृष्णप्रसाद वनमालाले भने, ‘तर हामी मुकुन्डोविहीन थियौं । मुकुन्डोविना नाच देखाउनुको अर्थ छैन ।’
उनले यस वर्ष जसरी भए पनि राष्ट्रप्रमुखलाई नाच देखाउन तयारी गरेको बताए । त्यसैले पुजारी कर्माचार्यसँग मुकुन्डो उपलब्ध गराउन आग्रह गर्दा उनी नमानेको देवगण वनमाला बताउँछन् ।

 

पुजारी दक्षिणाको लोभमा परे : देवगण

नवदुर्गा देवगणहरुले पुजारी कर्माचार्यले केही हजार रुपैयाँ दक्षिणाको लोभ गर्दा आफूहरु राष्ट्रपतिसमक्ष नाच देखाउनबाट बञ्चित भएको गुनासो गरे ।
मुकुटसहितको मुकुन्डोको दर्शन र पूजा गर्दा राष्ट्रप्रमुखले प्रत्यके मुकुन्डोमा दक्षिणा चढाउने परम्परा रहँदै आएको छ । यसरी चढाइने दक्षिणाको हकदार पुजारी हुने व्यवस्था छ । नवदुर्गा गणमा अष्टमातृका, महादेव, भैरव, गणेश, सिम्ह र दुम्ह गरी १३ वटा देवताका छुट्टाछुट्टै मुकुन्डो हुन्छन् ।
‘मुकुन्डोलाई चढाइने केही हजार दक्षिणाको लोभ गरेर पुजारीले मुकुन्डो हस्तान्तरण गरेनन्’, एक नवदुर्गा देवगणले भने, ‘जसले गर्दा राष्ट्रपतिले नाच हेर्ने इच्छा व्यक्त गर्नुहुँदा पनि हामीले नाच देखाउन पाएनौं । हाम्रा प्रयास पनि सफल भएन ।’
नवदुर्गा देवगणका नाइके इन्द्रबहादुर बनमालाका अनुसार बुधबार हेर्न नपाए पनि राष्ट्रपति भण्डारीले कुनै दिन नाच हेर्ने व्यवस्था गर्ने वचन दिएकी छन् ।

देवगणलाई दक्षिणा एकहजार पाँच

राष्ट्रपति भण्डारीले नवदुर्गा देवगणलाई प्रतिव्यक्ति एक हजार पाँच रुपैयाँ खामबन्दी दक्षिणा चढाएकी छन् । गत वर्ष भने पाँच सय पाँच रुपैयाँ दक्षिणा चढाएकी थिइन् ।
नवदुर्गा देवगणमा नाच नाच्ने, वाद्यवादन बजाउने र नाइके तथा नकीं गरी २२ जना छन् । ती सबैलाई राष्ट्रपति भण्डारीले समान एकहजार पाँच रुपैयाँ दक्षिणा चढाएको नाइके बनमालाले जानकारी दिए ।

राष्ट्रपतिले वाचा पूरा नगरेको गुनासो

राष्ट्रपति भण्डारीले गत वर्ष आफूहरुसमक्ष गरेको वाचा पूरा नगरेको भन्दै नवदुर्गा देवगणले असन्तुष्टि पोखेका छन् । गएको वर्ष राष्ट्रपति भण्डारीले उक्त पूजा आफ्नो अन्तिम पूजा हुनसक्ने बताएकी थिइन् । उनले यदि पुनः राष्ट्रप्रमुखको हैसियतमा नवदुर्गा मन्दिर पुगेँ भने केही न केही गर्ने वचन दिएको नवदुर्गा मन्दिरका भण्डारी धन बनमाला बताउँछन् ।
भण्डारी गएको वर्ष पुनः राष्ट्रपतिमा दोहोरिएकी हुन् । जसअनुसार दोस्रोपटक राष्ट्रपति भएपछि भण्डारी बुधबार पहिलोपटक नवदुर्गा मन्दिर पुगेकी हुन् ।
‘गत वर्ष राष्ट्रपति भण्डारीले आफू दोहो¥याएर नवदुर्गा मन्दिर आउने भए केही न केही गर्छु भन्नुभएको थियो’, भण्डारी बनमालाले भने, ‘हामीले त्यो बचन पूरा नभएकोतर्फ राष्ट्रपति भण्डारीको ध्यानाकर्षण ग¥यौं ।’
देवगणको ध्यानाकर्षणपछि राष्ट्रपति भण्डारीले तीनचार दिनभित्र आफ्नो प्रतिनिधि पठाएर के गर्न सकिन्छ त्यसबारे जानकारी लिने वचन दिएको उनी बताउँछन् ।

पुजारी कर्माचार्यले गरे राष्ट्रपतिको पूजा

राष्ट्रपति भण्डारीले यस वर्ष करिब २५ मिनेट लगाएर नवदुर्गा मन्दिरको पूजाआजा तथा प्रसाद ग्रहण गरेकी छन् । राष्ट्रपतिको तर्फबाट मन्दिरका पुजारी जुलाल कर्माचार्यले तान्त्रिक विधिअनुसार नवदुर्गा भवानीको पूजाआजा गरेका थिए । पुजारी कर्माचार्यलाई नकीं तेजमाया बनमालाले सहयोग गरेकी थिइन् ।
भण्डारकोठामा पूजाआजापछि राष्ट्रपति भण्डारीलाई देवगण नाइके इन्द्रबहादुर र जयमल वनमालाले नवदुर्गा भवानीको दसैंको प्रसादको रुपमा एउटा बिमिरो, पञ्चरंगी धागोको डोरी बाटिएको गोका, पञ्चरंगी धागोको पासुका, फूलमाला र दसैंघरको जमरा चढाएका थिए ।

राष्ट्रपतिलाई तलेजुको समेत प्रसाद

नवदुर्गा भवानीको पूजाआजापछि मन्दिरबाट बाहिरिने क्रममा राष्ट्रपति भण्डारीलाई भक्तपुर तलेजु आगम छेंका मूल नाइके नरेन्द्रप्रसाद जोशीले तलेजु भवानीको प्रसाद अर्पण गरेका थिए ।
नवदुर्गा भवानीको पूजा गर्न भक्तपुर पुगेकी राष्ट्रपति भण्डारीलाई भक्तपुर क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य महेश बस्नेत, प्रदेश सांसदहरु राजेन्द्रमान श्रेष्ठ, शशिजंग थापा, सरस्वती बाटी र रजनी जोन्छे, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, उपप्रमुख सरिता कुँवरलगायतका सरकारी तथा सुरक्षा निकायका प्रमुखहरुले फूलमाला तथा पुष्पगुच्छाले स्वागत गरेका थिए ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!