Connect with us

TOURISM

पञ्चदान पर्व मनाइँदै

Published

on

बौद्धमार्गीहरुको पञ्चदान पर्वअन्तर्गत भक्तपुर नगर परिक्रमा गराइने दीपंकर बुद्ध । फाइल तस्बिर

भक्तपुर । बौद्ध दर्शनमा पवित्र मानिएको दानको महत्व दर्साउने पञ्चदान पर्व शुक्रबार मनाइँदै छ ।
प्रत्येक वर्ष भाद्र कृष्ण त्रयोदशीका दिन भक्तपुर र मध्यपुर थिमीसँगै काठमाडौं, कीर्तिपुर, काभ्रेको नाला, बनेपा र चीनको ल्हासामा समेत पञ्चदान पर्व मनाइँदै आएको छ ।
यस पर्वमा बौद्धमार्गी नेवारहरुले आफ्नो वरपर रहेका विभिन्न विहार, बही, चोक र घरमा दानशाला बनाई अन्न, फलफूल र दक्षिणा दान दिन्छन् । बुद्ध धर्मका अनुयायी बज्राचार्य, बुद्धाचार्य, शाक्यलगायत अन्न, फलफूल र दक्षिणा दान लिन दिनभर भिक्षाटनमा सहभागी हुन्छन् ।
काठमाडौं उपत्यका र अन्यत्र मनाइने पञ्चदान पर्वभन्दा भक्तपुरको पञ्चदान पर्व फरक र विशेष किसिमको रहँदै आएको छ । भक्तपुरमा ऐतिहासिक तथा पुरातात्विक महत्वका पाँचवटा महाविहारमा विराजमान दीपंकर बुद्धहरुलाई नगर परिक्रमा गराइएर पञ्चदान पर्व मनाइन्छ ।
दीपंकर बुद्ध यात्राको क्रममा परम्परागत गुँला धाः बाजा, दाफा भजन श्रृङ्गभेरी बाजा आदि सांगीतिक समूहहरुले आआफ्नो बाजाको प्रदर्शनी गर्ने प्रचलन रहेको छ । त्यस्तै परम्परागत विहार र बहीहरुमा संरक्षित बौद्ध सम्पदाहरुको प्रदर्शनसमेत गरिन्छ ।


भक्तपुर नपा १० क्वाठडांैस्थित प्रशन्नशील महाविहार, गोल्मढीको झौरबही, साकोठाको चतुब्र्रम्ह महाविहार, इताछेंस्थित थथुबही अर्थात् जयकीर्ति विहार र भार्वाचोको कुथुबही अर्थात् बौद्ध समकृत विहारमा रहेका पाँच दीपंकरहरुलाई भक्तपुर नगर परिक्रमा गराइन्छ । यसरी नगर परिक्रमा गरिनुअघि यी पाँच दीपंकरहरुलाई भक्तपुर नपा ९ सूर्यमढीस्थित आदिपद्म महाविहारमा भेला गराइन्छ । त्यहाँ विशेष पूजा सम्पन्न भएपछि पाँच दीपंकर बुद्धलाई बाजागाजासहित भक्तपुर नगरका १० वटै वडाका टोल–टोलमा परिक्रमा गराइन्छ ।
ती दीपंकर बुद्धसँगै बौद्धमार्गीहरु बौद्ध परम्पराअनुसार पिण्डपात्र (गुलुपा) हातमा लिएर भिक्षाटनमा सहभागी हुने प्रचलन रहँदै आएको छ । भक्तपुर नगरको पूर्व आदिपद्म महाविहारबाट सुरु भएको पूजा नगरको पश्चिम थथुबहीमा पुगेर सकिन्छ । तर दीपंकरहरुलाई संयुक्त पञ्चदान पर्व भने भक्तपुर नपा ५ स्थित टौमढीमा समापन गरिन्छ । टौमढीस्थित पश्चिम डबलीमा पाँचवटै दीपंकरलाई लस्करै राखेर विभिन्न बाजागाजा बजाएर उल्लासमय वातावरणमा उक्त संयुक्त पञ्चदान गरिन्छ ।
उक्त अवसरमा टौमढीमा बौद्धमार्गीहरुले दान गाथा र स्त्रोत्र वाचनसँगै गुँला बाजा बजाउने गर्छन् ।
भक्तपुरको पञ्चदानको प्रमुख विशेषता गुँलाबाजा बजाउनु रहेको भक्तपुर बौद्ध सम्पदा संघका अध्यक्ष महेन्द्रराज शाक्य बताउँछन् । ‘अन्य धर्म तथा जात्रा पर्वमा गुँला बाजा प्रयोग हुँदैन’, उनी भन्छन्, ‘बौद्धमार्गीहरुको पञ्चदान पर्वमा मात्रै यो बाजा बजाइन्छ ।’
बौद्धमार्गीहरुले आफू बुद्धका अनुयायी भएको कारण आफूले आर्जन गरेको आयको केही अंश दानका लागि राख्ने र सोही दान पञ्चदान पर्वमा दान गर्ने प्रचलन रहँदै आएको उनको भनाइ छ ।
नेपाल संवत् ७७५ मा मल्ल राजा नरेश मल्लको शासनकालमा जयदेव बज्राचार्यले पञ्चदान पर्व प्रचलनमा ल्याएको ऐतिहासिक प्रमाणमा उल्लेख छ ।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!