भक्तपुर । सैनिक आवासीय महाविद्यालय, सुप्रिम र स्प्रिंगडेल स्कुल भक्तपुरमा जारी एन्फा कप अन्तरविद्यालय फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेका छन् ।
भक्तपुर जिल्ला फुटबल संघको आयोजनामा भएको प्रतियोगितामा सैनिकले ग्लोरी, सुप्रिमले पारागन र स्प्रिंगडेलले रोम्बस स्कुलाई हराउँदै अन्तिम आठमा स्थान बनाएका हुन् ।
भक्तपुरस्थित माहेश्वरी खेलमा मैदानमा जारी प्रतियोगिताअन्तर्गत सोमबार सैनिकले ग्लोरीलाई ५–० गोलले पन्छाएको हो । विजेता सैनिकको लागि विशाल आलेमगरले दुई गोल गरे । त्यस्तै आयुष कुँवर, विमल बुढाथोकी र आदित गुरुङले एकएक गोल थपे ।
सुप्रिमले पारागनलाई ३–० गोलले हरायो । सुप्रिमको लागि आयुष पराजुली, राजन भोमी, र कृष्ण थापाले एकएक गोल गरे ।
यसैगरी सोमबार नै भएको अर्को खेलमा स्प्रिंगडेलले रोम्बसलाई २–१ गोलले पन्छायो । प्रतिस्पर्धात्मक उक्त खेलमा स्प्रिंगडेलको लागि दीप गुरुङ र सचिन ठकुरीले एकएक गोल गरे ।
रोम्बसका विवेक बालाले एक गोल फर्काएका थिए ।
सोमबार भएको अर्को खेलमा वाइज ल्याण्डले देवी माविलाई ट्राईब्रेकरमा हराएर क्वार्टरफाइनलको यात्रा तय गरेको छ । निर्धारित खेलमा एकएक गोलको बराबरी भएपछि खेल ट्राईब्रेकरमा गएको थियो । ट्राईब्रेकरमा वाइजल्याण्डले ३–१ गोलमा देवीलाई पन्छाएको हो ।
नकआउटको आधारमा खेलाइएको प्रतियोगितामा जिल्लाका १८ विद्यालयहरुको सहभागिता रहेको छ । असार ३० गतेसम्म हुने प्रतियोगिताको विजेता विद्यालय प्रदेशस्तरमा हुने एन्फा कपमा छनोट हुनेछ ।