Connect with us

HEALTH

नयाँ उमंग फुटसल : बीपी स्मृति च्याम्पियन

Avatar

Published

on

नयाँ उमंग फुटसल प्रतियोगिताको उपाधिका साथमा विजेता बीपी स्मृति अस्पतालका चिकित्सकहरुको टोली । तस्बिर : इन डेप्थ

भक्तपुर । काठमाडौंको सामाखुसीस्थित बीपी स्मृति अस्पतालले भक्तपुरमा भएको नयाँ उमंग फुटसल प्रतियोगिताको उपाधि जितेको छ ।
नयाँ उमंगद्वारा आयोजित प्रतियोगिताको फाइनलमा बीपी स्मृतिले भक्तपुरको मध्यपुर अस्पताललाई २–० गोलले पराजित गर्दै उपाधि उचालेको हो ।
नयाँ उमंग स्तन क्यान्सर भई उपचारपश्चात निको भएका महिलाहरुको समूह हो । उक्त समूहले आयोजना गरेको नयाँ उमंग कप फुटसलको यो दोस्रो संस्करण हो । गत वर्ष कोरोना भाइरस संक्रमण गर्न घोषित लकडाउनको कारण प्रतियोगिता रोकिएको थियो ।
दोस्रो संस्करणमा ५ वटा टीमको सहभागिता रहेको थियो । जसअनुसार बीपी स्मृति अस्पतालका चिकित्सकहरुको टोलीले मध्यपुर अस्पतालका चिकित्सकहरुको टोलीलाई पराजित गरेको हो ।
प्रतियोगितामा विजेता बीपी स्मृति र उपविजेता मध्यपुरसँगै भक्तपुर क्यान्सर अस्पताल र नागरिक अस्पतालका चिकित्सकहरुको टोली सहभागी थियो । अर्को एक टोली भने मेडिसिन रिप्रजेन्टेटिभ (एमआर) हरुको टीम एभिट ०३ सहभागी भएको प्रतियोगिता संयोजक डा. निकोश कुँवरले जानकारी दिए ।
उनका अनुसार प्रतियोगिताको पहिलो चरणमा पाँच टीमबीच लिग भएको थियो । उक्त लिगबाट भक्तपुर क्यान्सर अस्पताल बाहिरिएपछि बाँकी ४ टीम सीधै सेमिफाइनलमा पुगेका थिए ।
सेमिफाइनलमा बीपी स्मृतिले एभिट ०३ लाई ६–२ गोलले पन्छाउँदै फाइनलको यात्रा तय गरेको थियो ।
अर्को सेमिफाइनलमा मध्यपुरले नागरिकलाई ७–२ गोलले हराएको थियो ।
प्रतियोगिताका विजेता तथा उपविजेता टीम क्रमशः बीपी स्मृति र मध्यपुर अस्पताललाई नेपाल भारात्तोलन संघका अध्यक्ष एवं थ्रीस्टार क्लवका कोषाध्यक्ष राम श्रेष्ठ बोस र समाजसेवी श्याम कार्कीले कप, पदक तथा प्रमाणपत्र वितरण गरेका थिए ।
प्रतियोगितामा बीपी स्मृतिका खेलाडी डा. उत्सव थापा श्रेष्ठ उत्कृष्ट घोषित भए । उनले प्रतियोगिताभर सर्वाधिक १२ गोल गरेका थिए ।
शरीर स्वस्थ भए रोग नलाग्ने र रोगी भए पनि खेल खेल्नुपर्छ भन्ने सन्देश दिन नयाँ उमंगले फुटसल प्रतियोगिता गर्दै आएको संस्थाकी अध्यक्ष प्रतिमा कसपालले बताइन् ।
‘खेलकुदले शरीर स्वस्थ बनाउँछ, स्वस्थ शरीर भयो भने रोग लाग्नबाट बच्न सकिन्छ’, उनले भनिन्, ‘त्यसैले रोग लागे पनि नलागे पनि खेलकुद आवश्यक छ भन्ने सन्देश प्रवाह गर्न फुटसल आयोजना गर्दै आएको हौं ।’
उनका अनुसार नयाँ उमंगले स्वास्थ्य शिविर तथा स्वास्थ्य जनचेतनामूलक कार्यक्रमसमेत गर्दै आएको छ ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!