ललितपुर । नेपाल बुद्धिचाल संघका संस्थापक अध्यक्ष स्व.नारायणकृष्ण जोशीको १३औं दिनको पुण्य स्मृतिमा आयोजित खुला रेपिड रेटिङ्ग चेस टुर्नामेन्टको उपाधि माउण्ट एभरेष्ट चेस एण्ड सोसियल क्लव जोरपाटीका क्षितिज भण्डारीले जितेका छन् ।
स्वीस लिगअनुसार ९ चरणका खेलमा क्षितिजले ६ जीत र ३ बराबरी खेलेर साढे सात अंक हासिल गरेका थिए । उनले उपाधिसँगै नगद १५ हजार हात पारे ।
यसैगरी समान ७ अंक भए पनि बुकहोल्ज टाइब्रेकरमा एसियन कलेज गोंगबुका मिलन लामा दोस्रो र थापाथली चेस पार्कका सुशील चौधरी तेस्रो भए । उनीहरुले क्रमशः नगद १० हजार र ७ हजार रुपैयाँ जिते ।
लुँखुसी ललितपुरस्थित श्रमजीत किशोर माविमा सञ्चालित प्रतियोगितामा ललितपुरका सजिन महर्जन पाँचौं, रौतहटका फिडेमास्टर रुपेश जैशवाल छैटौं, पूर्वनेपाल च्याम्पियन सुरवीर लामा सातौं, बद्रीलाल नेपाली आठौं, नवीन तण्डुकार नवौं र झापाका प्रकाशचन्द्र नेपाल दशौं स्थानमा रही नगद पुरस्कार जित्न सफल रहे ।
ललितपुर स्पोर्टस् क्लवद्वारा आयोजित प्रतियोगितामा कपनका सुदीप तामाङ, फुटुङ्गका रामकुमार कार्की, दोलखाका आशिष फुँयाल, काठमाडौंका जनार्दन श्रेष्ठ र माउण्ट एभरेष्ट चेस एण्ड सोसियल क्लव जोरपाटीका सुश्रुत दाहाल उत्कृष्ट १५ औं भए । उनीहरुले जनही २/२ हजार प्राप्त गरे ।
प्रतियोगितामा भेट्रानतर्फ भक्तपुरका गणेशमान दुवाल, अनरेटेडमा बसुन्धराका विनय राई, १७०० मुनि रेटिङ्ग समूहमा माउण्ट एभरेष्ट चेस एण्ड सोसियल क्लव जोरपाटीका कृष्ण खत्री, स्थानीयमा रत्न व्यन्जनकार उत्कृष्ट ठहरिए । उनीहरुले जनही २/२ हजार पुरस्कार पाए । त्यसैगरी महिलातर्फ डब्लुएफएम सुजाना लोहनी प्रथम, मिशन चेस क्लब टोखाकी पूर्णिमा गुरुङ्ग दोस्रो र सन्तोषी विक तेस्रो भए । १६ वर्षमुनि उमेर समूहमा मिशन चेस क्लवका कुशल बेलवासे प्रथम, लाजिम्पाटका पुरुषोत्तम सिलवाल दोस्रो र मिशन क्लवकै आलोक चौधरी तेस्रो भए ।
प्रतियोगितामा १२ जिल्लाबाट ६७ जना खेलाडी सहभागी थिए । जसमा उत्कृष्ट २५ जनाको लागि कूल ८५ हजार नगद पुरस्कारको व्यवस्था गरिएको थियो ।
प्रतियोगिताका विजयी तथा सहभागी खेलाडीहरुलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, फिडे इथिक्स कमिटी सदस्य राजेशहरि जोशी, स्व. नारायणकृष्ण जोशीका सुपुत्र डा. सरोजकृष्ण जोशीलगायतले ट्रफी, नगद पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।