भक्तपुर । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवालले स्रोतसाधन नचाहिने धेरै खेलकुद भएकाले त्यसको विकासमा सबै लाग्नुपर्ने आवश्यकता औंल्याएका छन् ।
नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघअन्तर्गत भक्तपुरको सूर्यविनायक नपा ८ सिपाडोलस्थित आशापुरी डोजोको बेल्ट प्रमोसन परीक्षण कार्यक्रममा उनले उक्त कुरा औंल्याएका हुन् ।
सदस्य सचिव सिलवालले हामीकहाँ स्रोतसाधन छैन भनेर खेलकुदको विकास गर्नबाट पन्छिने काम भइरहेको सुनाए । तर स्रोतसाधनविना पनि धेरै खेल खेल्न सकिने उनको स्पष्टोक्ति थियो ।
‘गाउँघरमा पिङ खेल्न सरकारले कुनै सहयोग गरेको छ त ? छैन । गाउँघरमा अहिलेसम्म आफै पिङ हालिरहेका छन्’, उनले भने, ‘तर हामीकहाँ टग अफ वार खेल खेल्न सरकारसँग डोरी मागिरहेका छौं ।’
उनले जुम्लामा हरि रोकायाले दौडाएरै राम्रा एथ्लेटिक्स खेलाडी तयार गरिरहेको उल्लेख गरे ।
‘के दौडिन पनि सरकारको मुख ताकिरहने ?’, सदस्य सचिव सिलवालले थपे, ‘कबड्डी खेल्न रंगशाला नै चाहिँदैन । रेखा तान्यो, खेले भइहाल्यो ।’
बरु खेल र खेलाडीको राम्रो विकास भएपछि सरकारले आवश्यक सहयोग दिनेमा ढुक्क हुन उनले आह्वान गरे ।
सदस्य सचिव सिलवालले खेलकुद, गीतसंगीत र नृत्यलाई पनि शिक्षाकै अंशको रुपमा बुझिलिनसमेत विद्यालय तथा अभिभावकहरुलाई आग्रह गरे ।
कार्यक्रममा उनले बेल्ट प्रमोसन भएका १५ पुरुष र १२ महिला खेलाडीहरुलाई पुरस्कृतसमेत गरेका थिए ।
त्यस्तै क्योकुसिन कराते प्रशिक्षण लिइरहेका ३५ जना विद्यार्थीहरुलाई विद्यार्थी पोशाक एवं स्टेशनरी सामग्रीसमेत वितरण गरेका थिए ।

कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष अशोककुमार श्रेष्ठ, केन्द्रीय उपाध्यक्ष हेमा मानन्धर, मिस नेवा ११३९ नीतू डंगोल,सूर्यविनायक नपा ८ वडाका अध्यक्ष किरण थापामगरलगायतको उपस्थिति थियो ।
बेल्ट परीक्षणमा एकएकजनाले क्रमशः ४ डन, ३ डन, २ डन र १ डन पाएको प्रशिक्षण सुरेन्द्र लामाले जानकारी दिए । त्यस्तै सुन्तला बेल्ट चारजना पाए । २३ जनाले नीलो बेल्ट पाउँदा २–२ जनाले पहेंलो र हरियो रंगको बेल्ट पाएको प्रशिक्षक लामाले बताए ।