Connect with us

SPORTS

मध्यपुर थिमि नपाद्वारा कराते एकेडेमीलाई खेल सामग्री सहयोग

Avatar

Published

on

मध्यपुर कराते एकेडेमीलाई खेल सामग्री हस्तान्तरण गर्दै मध्यपुर थिमि नपाका प्रमुख मदनसुन्दर श्रेष्ठ । तस्बिर : इन डेप्थ

भक्तपुर । मध्यपुर थिमि नगरपालिकाले मध्यपुर कराते एकेडेमीलाई पाँच लाख रुपैयाँ बराबरको खेल सामग्री हस्तान्तरण गरेको छ ।
कराते प्रशिक्षण तथा प्रतियोगिता गर्न आवश्यक पर्ने म्याटसहित १४ थरि खेल सामग्री सहयोग गरिएको हो ।
एकेडेमीमा बिहीबार आयोजित एक कार्यक्रममा मध्यपुर थिमि नपाका प्रमुख मदनसुन्दर श्रेष्ठले एकेडेमीका अध्यक्ष एवं मुख्य प्रशिक्षक सजन श्रेष्ठलाई उक्त खेल सामग्री हस्तान्तरण गरेका छन् ।
एकेडेमीलाई म्याटसँगै किक प्याड, किक डमी, किक सिलिन्डर, ग्लोभस्, सिम गार्ड, गम सिल, कोण, स्किपिङ रोल, स्कोर बोर्ड, रनिङ रोपलगायत सहयोग गरिएको प्रमुख श्रेष्ठले जानकारी दिए ।
उनले मध्यपुरमा खेल र खेलाडीको विकासको लागि आवश्यक पूर्वाधार तथा खेलकुद सामग्रीको व्यवस्थापनमा निरन्तर सहयोग गर्दै आएको बताए ।
उनका अनुसार चालू आर्थिक वर्षमा एकेडेमीको भौतिक पूर्वाधार निर्माण लागि ८० लाख रुपैयाँ विनियोजन गरिएको छ ।
प्रमुख श्रेष्ठ आफै पनि करातेका खेलाडी हुन् । मध्यपुर थिमि नपामा कराते, शारीरिक सुगठन, बुद्धिचाल, तेक्वान्दोलगायत खेलकुदको मेयर कप प्रतियोगितासमेत हुँदै आएको छ ।
एकेडेमीमा अहिले ५० जना खेलाडी प्रशिक्षणरत रहेको अध्यक्ष श्रेष्ठले जानकारी दिए । उनले सीमित प्रशिक्षक र खेलकुद सामग्रीका साथ एकेडेमीले प्रशिक्षण सञ्चालन गर्दै आएको सुनाए ।
मध्यपुर थिमि नपाले खेलकुद सामग्री र भौतिक पूर्वाधार निर्माणको लागि बजेट उपलब्ध गराएसँगै एकेडेमीले प्रशिक्षण सँगसँगै प्रतियोगिता आयोजना गर्ने एकेडेमीका सचिव अभयन्द्र रञ्जितले जानकारी दिए ।
उनका अनुसार एकेडेमीमा हाल मुख्य प्रशिक्षक सजन श्रेष्ठ र प्रशिक्षक सनिश श्रेष्ठले प्रशिक्षण दिइरहेका छन् ।
तत्कालीन ट्रलिबसको मर्मत भवन तथा परिसरमा एकेडेमी सञ्चालन हुँदै आएको छ । अहिले एकेडेमी परिसरमा ब्याडमिन्टन कोर्टसमेत निर्माण गरिएको छ । सचिव रञ्जितले अन्य खेलकुद प्रशिक्षण तथा प्रतियोगिताको लागि पनि एकेडेमी खुला रहेको जानकारी दिए ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073 |

Design & Host By SITEMANDU.COM

Powered By GO BHAKTAPUR.COM