Connect with us

SPORTS

एन्फालाई निर्णय सच्याउन चेतावनी

Avatar

Published

on

भक्तपुर । अखिल नेपाल फुटबल संघ (एन्फा) ले अवैध भनी भंग गरेको भक्तपुर जिल्ला फुटबल संघको पुरानो कार्य समितिले जिल्ला संघ अवैध भए एन्फा पनि वैध हुन नसक्ने जनाएको छ ।
भक्तपुर जिल्ला संघ अवैध भए भक्तपुर जिल्लाले मतदान गरी जिताएको एन्फाको वर्तमान नेतृत्व पनि अवैध हुने उसको तर्क रहेको छ ।
एन्फाले अवैधानिक रुपमा विघटन गरेको भक्तपुर जिल्ला फुटबल संघका अध्यक्ष गौतम सुजखूले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै एन्फाका केन्द्रीय सदस्यहरुको उपस्थितिमा भएको जिल्ला संघको अधिवेशन अवैध मान्ने हो भने एन्फाको वर्तमान पदाधिकारीहरु निर्वाचित गर्न अवैध भनिएको भक्तपुर जिल्ला संघले पनि मतदान गरेको यथार्थ भुल्न नहुनेतर्फ सचेत गराएको छ ।
‘विधिसम्मत र एन्फाकै विधानभित्र रहेर भएको जिल्ला संघको अधिवेशन अवैधानिक भन्ने हो भने अवैधानिक जिल्ला संघले मतदान गरेको वर्तमान एन्फा पदाधिकारीहरु कसरी वैध भए ?’, उनले प्रश्न गरे ।
जिल्ला संघले एन्फाको गलत प्रवृत्तिविरुद्ध आवाज उठाएको कारण नै पूर्वाग्रही रुपमा भक्तपुर जिल्ला फुटबल संघलाई प्रतिस्थापन गर्ने गरी तदर्थ समिति गठन गरेको अध्यक्ष सुजखूले स्पष्ट पारे । उनले एन्फाको निर्णयको घोर आपत्ति जनाउँदै निर्णय अमान्य भएको र उक्त कार्य गैरकानुनी भएको औंल्याए ।
‘मिति २०७७ असार २ गते भएको एन्फाको कार्य समितिको निर्णयानुसार यस संघलाई जे जस्तो आरोप लगाई भंग गरी तदर्थ समिति गठन गर्नु एन्फाको विधान र नियमावलीविपरीत छ’, प्रेस विज्ञप्तिमा भनिएको छ, ‘एन्फाको निर्णयानुसार नै जिल्ला संघले जिल्ला लिग सञ्चालन गरेको र एन्फाकै नियमभित्र रहेर टीम दर्ता गर्दै आएकाले एन्फाका सम्पूर्ण आरोप निराधार र सरासर गलत छ ।’
एन्फाले गौतम सुजखू अध्यक्ष रहेको जिल्ला संघलाई प्रतिस्थापन गरी किशोर हेक्काको अध्यक्षतामा १३ सदस्यीय तदर्थ समिति गठन गरेको थियो । एन्फाको उक्त कार्यविरुद्ध विघटित भक्तपुर जिल्ल फुटबल संघले एन्फाको निर्णय नसच्याए अदालत जाने चेतावनी दिएको छ ।
एन्फाले गरेको निर्णय फिर्ता गरी पूर्ववत् रुपमा भक्तपुर जिल्ला फुटबल संघलाई पुनःस्थापना गर्न माग गर्दै विघटित संघका अध्यक्ष सुजखूले निर्णय नसच्याए जिल्ला संघ आफ्नो अधिकार प्राप्त गर्नकै लागि कानुनी बाटोतर्फ लाग्न बाध्य हुने चेतावनी दिएका हुन् ।
यसैबीच शनिबार नै एन्फाबाट भंग गरिएको जिल्ला फुटबल संघ भक्तपुरका अध्यक्ष सुजखू, दक्षिण एसियाली खेलकुद (साफ) का उपाध्यक्ष मणि कुँवर र चार वटा जिल्ला फुटबल संघका अध्यक्षहरु क्रमशः काठमाडौंका विराटजङ्ग शाही, ललितपुरका पुरुषोत्तम थापा र धादिङका दीपक खतिवडाको उपस्थितिमा एक बैठक बसेको छ । बैठकले भक्तपुर जिल्ला फुटबल संघको मौजुदा कार्यसमिति भंग गर्ने एन्फाको निर्णय अमान्य भएको निर्णय गरेको विघटित भक्तपुर जिल्ला संघका उपाध्यक्ष रामकृष्ण प्रजापतिले जानकारी दिए । उनका अनुसार उक्त बैठकले एन्फाको कदमको घोर भत्र्सना र विरोध गर्ने निर्णयसमेत गरेको छ ।
उक्त बैठकले विघटित जिल्ला संघले निकालेको प्रेस विज्ञप्तिमा समेत समर्थन जनाएको छ ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073 |

Design & Host By SITEMANDU.COM

Powered By GO BHAKTAPUR.COM