Connect with us

SPORTS

आयोजक सैनिक र जेम्स फाइनलमा

Avatar

Published

on

सैनिक र डीएभीबीचको खेलमा म्यान अफ दी म्याच बनेका सैनिकका प्रथम बुडाललाई पुरस्कृत गरिँदै । तस्बिर : इन डेप्थ

प्रधानसेनापति कप टीट्वेन्टी क्रिकेट

भक्तपुर । आयोजक सैनिक र जेम्स स्कुल भक्तपुरमा जारी १३ औं प्रधानसेनापति कप टी ट्वेन्टी रनिङ क्रिकेट प्रतियोगिताको उपाधिको लागि भिड्ने भएका छन् ।
भक्तपुरको सल्लाघारीस्थित सैनिक आवासीय महाविद्यालयद्वारा आयोजित प्रतियोगिताअन्तर्गत आइतबार भएका सेमिफाइनलमा जीत हात पार्दै सैनिक र जेम्सले उपाधि भिडन्त पक्का गरेका हुन् ।
पहिलो सेमिफाइनलमा आयोजक सैनिकले डीएभी स्कुललाई सुपर ओभरमा पाँच रनले पन्छाएको हो ।
टस जितेको व्याटिङमा ओर्लेको डीएभीले २० ओभर पूरा खेलेर पाँच विकेटको क्षतिमा ११२ रन जोडेको थियो । डीएभीका सक्षम न्यौपानेले २३ रन, सौरभ श्रेष्ठले अभिजित २२ रन र समीर अन्सारीले २२ रनको योगदान दिए ।
बलिङतर्फ सैनिकका आशीष कुँवर, सन्देश अधिकारी र अर्जुन तामाङले एकएक विकेट लिए ।
जवाफी व्याटिङमा ओर्लेको सैनिकले १९.४ ओभरमा सबै विकेट गुमाउँदै ११२ रन नै बनायो । उसको लागि पुजन फुयालले २५ रन, आशीष कुँवरले १९ रन र सुजन तामाङले १६ रन बनाए ।
बलिङतर्फ डीएभीका उमंग महर्जनले तीन, भावेश अग्रवाल र समीर अन्सारीले दुईदुई विकेट लिए ।
दुवै टीमबाट बराबरी रन भएपछि सुपर ओभरबाट निर्णय लिइएकोमा सैनिकले ११ रन बनाउँदा डीएभीले ६ रनमात्रै जोड्न सक्यो । उक्त स्पर्धामा सैनिकका प्रथम बुडाल म्यान अफ दी म्याच घोषित भए ।
आइतबार नै भएको दोस्रो सेमिफाइनलमा जेम्सले अक्षरा स्कुललाई ६ विकेटले हराएर फाइनलको यात्रा तय गरेको छ ।
टस जितेर व्याटिङ गरेको अक्षराले १९.३ ओभरमा अलआउट हुँदै ९१ रनको योगफल तयार गरेको थियो । उसको लागि सुलभ बस्नेतले २८ रन, आदित्य सुवेदीले १२ रन र आरोग्य केसीले ११ रनको योगदान दिएका थिए ।
बलिङतर्फ जेम्सका अथर्भ पौडेल एक्लैले पाँच विकेट लिए । त्यसको लागि मात्र ५ रन खर्चेका पौडेल उक्त खेलका म्यान अफ दी म्याच घोषित भए । त्यस्तै जेम्सका आइस भट्टराई र प्रतीक सुवेदीले दुईदूई विकेट झारे ।
जवाफी व्याटिङमा आएको जेम्सले १७.२ ओभरमा मात्र चार विकेटको क्षतिमा ९२ रनको लक्ष्य पूरा गरेको थियो । उसको लागि सुजल ओली र कुन्दन राउतले अविजित रहँदै क्रमशः ३७ र १४ रन बनाए । त्यस्तै आश्रय कँडेलले १२ रन जोडे ।
बलिङतर्फ अक्षराका आदित्य सुवेदी दुई विकेट लिँदा प्रनिल कायस्थ र अलेक्स अधिकारीले एकएक विकेट लिए ।
प्रतियोगिताको फाइनल तथा पुरस्कार वितरण यहीं फागुन २२ गते हुने सैनिक स्कुलका खेलकुद संयोजक रञ्जित राणाले जानकारी दिए ।
काठमाडौं उपत्यका र काभ्रेका १३ वटा विद्यालयको सहभागिता रहेको प्रतियोगिताको विजेताले उपाधिसँगै एक लाख रुपैयाँ र उपविजेताले पचास हजार रुपैयाँ नगद पुरस्कार हात पार्नेछन् ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073 |

Design & Host By SITEMANDU.COM

Powered By GO BHAKTAPUR.COM