Connect with us

SPORTS

प्रधानसेनापति कप टीट्वेन्टी क्रिकेट : जेम्स स्कुल सेमिफाइनलमा

Avatar

Published

on

जेम्स र ग्यालेक्सीबीचको खेलका म्यान अफ दी म्याच जेम्सका अथर्भ पौडैललाई पुरस्कृत गरिँदै । तस्बिर : इन डेप्थ

भक्तपुर । जेम्स स्कुल भक्तपुरमा जारी १३ औं प्रधानसेनापति कप टी ट्वेन्टी रनिङ क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुग्न सफल भएको छ ।
भक्तपुरको सल्लाघारीस्थित सैनिक आवासीय महाविद्यालयद्वारा आयोजित प्रतियोगिताअन्तर्गत शनिबार भएको अन्तिम क्वार्टरफाइनलमा ग्यालेक्सी स्कुललाई ५४ रनले हराउँदै जेम्सले सेमिफाइनलको यात्रा सुनिश्चित गरेको हो ।
टस जितेको ग्यालेक्सीले फिल्डिङ रोजेपछि ब्याटिङ गर्न ओर्लेको जेम्सले पाँच विकेटको क्षतिमा पूरै ओभर खेलेर ११४ रन जोडेको थियो । उसको लागि आइस भट्टराईले सर्वाधिक ४६ रन जोडे । त्यस्तै सुजल ओलीले १५ र अर्पण अधिकारीले १३ रनको योगदान दिए ।
बलिङतर्फ ग्यालेक्सीका निकेश पोख्रेल एक्लैले तीन विकेट लिए । हृदय गिरी र हृतिकराज गुप्ताले एकएक विकेट लिए ।
जवाफी व्याटिङमा ओर्लेको ग्यालेक्सी १२.२ ओभरमै अलआउट हुँदै ५८ रनमा समेटिएको थियो । ग्यालेक्सीका कुनै पनि व्याट्सम्यानले दुई अंकको रन जोड्न सकेनन् ।
बलिङतर्फ जेम्सका अथर्भ पौडेल एक्लैले पाँच विकेट झारे । त्यसको लागि मात्र १८ रन खर्चेका पौडेल उक्त खेलका म्यान अफ दी म्याच घोषित भए । त्यस्तै जेम्सका सुजल ओलीले दुई र प्रतीक सुवेदीले एक विकेट झारे ।
यो जीतसँगै जेम्सले सेमिफाइनलमा अक्षरा स्कुल प्रतिद्वन्द्वी पाएको छ । त्यस्तै आयोजक सैनिक र डीएभीले यसअघि नै आआफ्नो प्रतिद्वन्द्वी निश्चित गरिसकेका छन् ।
सैनिकका खेलकुद संयोजक रञ्जित राणाले आइतबार दुइटै सेमिफाइनलका खेल हुने जानकारी दिए ।
काठमाडौं उपत्यका र काभ्रेका १३ वटा विद्यालयको सहभागिता रहेको प्रतियोगिताको विजेताले उपाधिसँगै एक लाख रुपैयाँ र उपविजेताले पचास हजार रुपैयाँ नगद पुरस्कार हात पार्नेछन् ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073 |

Design & Host By SITEMANDU.COM

Powered By GO BHAKTAPUR.COM