Connect with us

SPORTS

‘सरकार घोषित पुरस्कार कहिले पाउने ?’

Avatar

Published

on

१३ औं सागमा टेबुलटेनिसमा रजत पदक ल्याउने भक्तपुरका शिवसुन्दर गोथेलाई सम्मान गर्दै सांसद महेश बस्नेत । तस्बिर : ईश्वरकाजी खाइजू

भक्तपुर । १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेताहरुले सरकारको घोषित पुरस्कार अहिलेसम्म नपाएको गुनासो गरेका छन् ।
सरकारले घोषणा गरेको पुरस्कार दुई महिना पूरा हुँदा पनि नपाउँदा आफूहरु निराश भएको उनीहरुले गुनासो गरेका हुन् ।
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ भक्तपुर र सम्बाहक मिडियाद्वारा शुक्रबार आयोजित सम्मान कार्यक्रममा उनीहरुले पुरस्कार समयमै नपाउँदा अर्को प्रतियोगिताको लागि तयारी गर्न उत्साह नमिलेको बताएका छन् ।
सरकारले १३ औं साग सकिएलगत्तै स्वर्ण, रजत र कास्य पदक विजेता खेलाडीहरुलाई नगद पुरस्कार दिने घोषणा गरेको थियो । १३ औं साग नेपालमै भएको थियो । जसमा नेपालले ऐतिहासिक पदक जितेर पदक तालिकामा दोस्रो स्थानमा रहेको थियो ।
कार्यक्रममा नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका केन्द्रीय अध्यक्ष एवं १३ औं सागका स्वर्ण पदक विजेता दीपक श्रेष्ठले सरकार आफैले घोषणा गरेको पुरस्कार छिटो उपलब्ध गराउन माग गरे ।
‘सरकारले घोषणा गरेको पुरस्कार अझैसम्म पाउन सकेका छैनौं’, उनले भने, ‘पुरस्कार घोषणा गरेकै दुई महिना बढी नाघिसक्यो । त्यसैले छिटो उक्त पुरस्कार दिन माग गर्दछौं ।’
अध्यक्ष श्रेष्ठले छिटोभन्दा छिटो उक्त पुरस्कार पाए खेलाडीहरु अरु प्रतियोगिताको लागि तयारी गर्न उत्साहित हुने सुनाए । सरकारले दिने भनेकै पुरस्कार नपाउँदा खेलाडीहरुमा निराशा छाएको उनको भनाइ थियो ।
‘सरकारले पदक जितेका खेलाडीलाई पुरस्कार दिने घोषणा गर्दा हामी उत्साहित भएका थियौं’, उनले थपे, ‘तर अहिले पुरस्कार नपाउँदा त्यो उत्साह मरेको छ । खेलाडीहरुमा निराशा देखिएको छ ।’
कार्यक्रममा १३ औं सागमा पदक जित्ने भक्तपुरका ११ जना खेलाडी, दुई प्रशिक्षक र ३९ अम्पायर तथा निर्णायकहरुलाई सम्मान गरिएको थियो । १३ औं सागमा भक्तपुरका कराते खेलाडी मन्डेकाजी श्रेष्ठले नेपालको लागि पहिलो स्वर्ण पदक दिलाएका थिए ।
त्यस्तै उसु खेलाडी सुस्मिता तामाङ र तेक्वान्दो खेलाडी काजोल श्रेष्ठले स्वर्ण पदक जितेका थिए । टेबलटेनिसमा शिवसुन्दर गोथे, ह्याण्डबलमा देवकुमारी बास्कोटा, कबड्डीमा इन्दिरा गिरी, भारोत्तोलनमा लक्ष्मी वन, जुडोमा श्रीराम मगजू, बास्केटबलमा विकल जोशी र तेक्वान्दोमा ज्ञानेन्द्र हमालले नेपालको लागि रजत पदक जितेका थिए ।
त्यस्तै खो खोमा श्याम बुढाथोकीले कास्य पदक जितेका थिए ।

‘नेपालले अमेरिका, चीन र भारतलाई हराउने खेलमै हो’

कार्यक्रममा पदक विजेता खेलाडी, प्रशिक्षक तथा अम्पायरहरुलाई सम्मान गर्दै भक्तपुर क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य महेश बस्नेतले नेपालले शक्तिराष्ट्रहरु अमेरिका, चीन र भारतलाई हराउने खेलमै मात्र भएको बताए ।
त्यसैले तलैदेखि खेलकुदको विकासमा सबै लाग्नुपर्ने उनको भनाइ थियो ।
सांसद बस्नेतले खेलकुदलाई व्यवसाय र उद्योगको रुपमा विकास गर्न नसकिएसम्म यसको विकास नहुने स्पष्ट पारे ।
युरोपमा क्लवले खेलकुदमा लगानी गर्ने गरेको स्मरण गराउँदै उनले भने, ‘नेपालमा पनि ठूला उद्योग तथा विद्यालयलाई खेलकुद र खेलाडीको विकासमा सहभागी गराउनुपर्छ । खेलकुदलाई उद्योग र व्यवसायको रुपमा विकास गर्नुपर्छ ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073 |

Design & Host By SITEMANDU.COM

Powered By GO BHAKTAPUR.COM