Connect with us

SPORTS

आयोजक सैनिक र डीएभी सेमिमा

Avatar

Published

on

सैनिक बी र डीएभीबीचको क्वार्टरफाइनलमा म्यान अफ दी म्याच बन्न सफल डीएभीका सौरभ श्रेष्ठलाई पुरस्कृत गरिँदै । तस्बिर : इन डेप्थ

भक्तपुर । आयोजक सैनिक आवासीय महाविद्यालय र डीएभी स्कुल भक्तपुरमा जारी १३ औं प्रधानसेनापति कप टी ट्वेन्टी रनिङ क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् ।
भक्तपुरको सल्लाघारीस्थित सैनिक आवासीय महाविद्यालयद्वारा आयोजित प्रतियोगिताअन्तर्गत शुक्रबार भएको क्वार्टरफाइनलमा मोक्क्षदा स्कुललाई ६ विकेटले हराउँदै आयोजक सैनिकले सेमिफाइनलको यात्रा तय गरेको हो ।
टस जितेर सैनिकले फिल्डिङ रोजेपछि व्याटिङमा ओर्लेको मोक्क्षदाले १९.४ ओभरमा सबै विकेट गुमाएर ९१ रन जोडेको थियो । उसको लागि निश्चल वाग्लेले २९, गौरव वाग्लेले २९ र आरम्भ तिमिल्सिनाले ८ रनको योगदान दिएका थिए ।
बलिङतर्फ सैनिकका असीम कार्कीले दुई र प्रथम बुडाल तथा प्रशान्त भट्टराईले एकएक विकेट लिए ।
जवाफी व्याटिङ गर्न आएको सैनिकले १७.३ ओभरमा मात्र चार विकेटको क्षतिमा ९२ रनको लक्ष्य भेट्टाएको थियो । उसको लागि आशीष कुँवरले अविजित रहँदै ३१ रन बनाए । त्यस्तै निश्चय थापाले २६ र सुजन तामाङले ८ रनको योगदान दिए ।
बलिङतर्फ मोक्क्षदाका आरम्भ तिमिल्सिना, रोहित शर्मा र दीपेश यादवले एकएक विकेट लिए । उक्त खेलमा सैनिकका आशीष कुँवर म्यान अफ दी म्याच घोषित भए ।
त्यस्तै अर्को क्वार्टरफाइनल खेलमा डीएभीले आयोजक सैनिकको बी टीमलाई ५ विकेटले पन्छाएको छ । टस जितेर व्याटिङमा ओर्लेको सैनिक बीले १६ ओभरमा अलआउट हुँदै ४४ रनमात्रै बनाउन सक्यो । सैनिकका ध्रुव विष्टले मात्रै दुई अंकको रन जोड्न सके । उनले दुई चौकाको मद्दतमा १९ रन जोडेका थिए ।
वलिङतर्फ डीएभीका सौरभ श्रेष्ठले एक्लैले तीन विकेट लिए । कुनै रन नदिई सैनिकको तीन विकेट लिएका श्रेष्ठ उक्त खेलको म्यान अफ दी म्याचसमेत बन्न सफल भए ।
त्यस्तै भावेश अग्रवाल र उमंग महर्जनले दुईदुई विकेट लिए ।
जवाफी व्याटिङ गर्न आएको डीएभीले १०.४ विकेटमा पाँच विकेटको क्षतिमा ४५ रनको लक्ष्य पूरा गरेको थियो । विजेता डीएभीको लागि मोहम्मद समीर अन्सारीले १२, आदित्य रौनियारले १० र सौरभ श्रेष्ठले १० रनको योगदान दिएका थिए ।
बलिङतर्फ सैनिकका ध्रुव विष्टले दुई, सौरभ अधिकारी र क्रितेश अधिकारीले एकएक विकेट लिए ।
प्रतियोगिताअन्तर्गत शनिबार जेम्स र ग्यालेक्सीबीच तेस्रो क्वार्टरफाइनलको खेल हुने आयोजक सैनिक स्कुलका खेलकुद इन्चार्ज रञ्जित राणाले जानकारी दिए ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073 |

Design & Host By SITEMANDU.COM

Powered By GO BHAKTAPUR.COM