Connect with us

SPORTS

सैनिक कप अन्तरविद्यालय भलिबल : नवदुर्गाद्वारा उपाधि कब्जा

Avatar

Published

on

अन्तरविद्यालय भलिबल प्रतियोगिताको विजेता नवदुर्गा बहुमुखी क्याम्पसलाई पुरस्कार वितरण गर्दै नेपाली सेनाका महासेनानी रञ्जित थापा । तस्बिर : ईश्वरकाजी खाइजू

भक्तपुर । नवदुर्गा बहुमुखी क्याम्पसले प्रथम सैनिक आवासीय महाविद्यालय अन्तरविद्यालय पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।
भक्तपुर नगरपालिका १ सल्लाघारीस्थित सैनिक आवासीय महाविद्यालयद्वारा आयोजित प्रतियोगिताको आइतबार भएको फाइनलमा स्प्रिंगडेल इंगलिस स्कुललाई २५–१४, २५–२३ र २५–२२ को सोझो सेटमा पन्छाएर नवदुर्गाले उपाधि चुमेको हो ।
उपाधिसँगै नवदुर्गाले नगद ३० हजार रुपैयाँ पुरस्कार पायो । उपविजेता स्प्रिंगडेल भने १५ हजार रुपैयाँमा चित्त बुझाउन बाध्य भयो । विद्यालयस्तरीय भलिबलमा एकछत्र राज गर्दै आएको स्प्रिंगडेललाई हराउँदै नवदुर्गा नयाँ च्याम्पियनको रुपमा उदाउनसमेत सफल भएको छ ।
प्रतियोगितामा नवदुर्गाका राजु रसाइली सर्वोत्कृष्ट खेलाडी घोषित भए । नवदुर्गाकै ज्ञानेन्द्र गुरुङ उत्कष्ट लिफ्टर बन्दा स्पिंगडेलका नारायण परियार उत्कृष्ट स्पाइकर घोषित भए ।
प्रतियोगिताको विजेतालाई सैनिक कल्याणकारी कोषका सहायक निर्देशक महासेनानी रञ्जित थापाले शिल्ड, मेडल, प्रमाणपत्र तथा नगद पुरस्कार वितरण गरे । त्यस्तै भक्तपुर जिल्ला भलिबल संघका अध्यक्ष विनोदचरण रायले उपविजेता टोलीलाई शिल्ड, मेडल, प्रमाणपत्र र नगद पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगितामा काठमाडौं उपत्यकासँगै काभ्रेका गरी नौ विद्यालयको सहभागिता रहेको थियो । निरन्तर रुपमा क्रिकेट र फुटबलको विद्यालयस्तरीय प्रतियोगिता गर्दै आएको सैनिकले यसै वर्षदेखि भलिबल प्रतियोगितासमेत सुरु गरेको हो ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073 |

Design & Host By SITEMANDU.COM

Powered By GO BHAKTAPUR.COM