Connect with us

SPORTS

सैनिक अन्तरविद्यालय भलिबल : क्वार्टरफाइनलको समीकरण पूरा

Avatar

Published

on

सैनिक आवासीय महाविद्यालय भइरहेको प्रथम सैनिक अन्तरविद्यालय भलिबल प्रतियोगिता । तस्बिर : इन डेप्थ

भक्तपुर । प्रथम सैनिक आवासीय महाविद्यालय अन्तरविद्यालय पुरुष भलिबल प्रतियोगिताको क्वार्टरफाइनलको समीकरण पूरा भएको छ ।
भक्तपुर नगरपालिका १ सल्लाघारीस्थित सैनिक स्कुलमा भएको प्रतियोगिताअन्तर्गत बुधबार क्वार्टरफाइनलको समीकरण पूरा भएको हो ।
जसअनुसार आयोजक सैनिक, रिपुमर्दिनी, नेपाल प्रहरी, पद्म, ख्वप, आदर्श जनप्रेमी र स्प्रिंगडेल स्कुल अन्तिम आठमा पुग्न सफल भएका हुन् । लिटिल एञ्जेल्स स्कुल भने लिग चरणबाटै बाहिरिएको छ ।
बुधबार भएको लिग चरणको खेलमा आयोजक सैनिकले रिपुमर्दिनी स्कुललाई २५–१९ र २५–८ को सोझो सेटमा हराएको थियो । स्प्रिंगडेलसँग २५–७ र २५–१२ को सोझो सेटमा हार व्यहोरेको लिटिल एञ्जेल्स आदर्श जनप्रेमीसँग पनि २५–३ र २५–१५ को सोझो सेटमा पराजय हुँदा प्रतियोगिताबाटै बाहिरिनु परेको हो ।
दोस्रो खेलमा आदर्श जनप्रेमीलाई २५–१९, २३–२५ र २५–२१ को सेटमा हराउँदै स्प्रिंगडेल समूह विजेता हुँदै क्वार्टरफाइनलमा पुगेको हो ।
त्यस्तै बुधबार नै भएको लिगमा पद्म माविले ख्वप माविलाई २५–१५ र २५–१५, नवदुर्गाले नेपाल प्रहरी स्कुललाई २५–१२, २३–२५ र २५–१६ का् कठिन सेटमा हराए ।
प्रतियोगिताअन्तर्गत बिहीबार पद्म र रिपुमर्दिनी, नवदुर्गा र आदर्श जनप्रेमी, सैनिक र ख्वप तथा स्प्रिंगडेल र नेपाल प्रहरीबीचको क्वार्टरफाइनलका खेल हुने आयोजक सैनिक स्कुलले जनाएको छ ।
स्कुलका प्रिन्सिपल दलप्रसाद पुनले उद्घाटन गरेको प्रतियोगिताका विजेताले उपाधिसँगै ३० हजार रुपैयाँ नगद पुरस्कार हात पार्नेछ । त्यस्तै उपविजेताले शिल्डसँगै २० हजार रुपैयाँ नगद पुरस्कार पाउने स्कुलका खेलकुद संयोजक रणजीत राणाले जानकारी दिए ।
विद्यालयस्तरीय क्रिकेट र फुटबल प्रतियोगिता गर्दै आएको सैनिक आवासीय महाविद्यालयले यसै वर्षदेखि भलिबलको समेत प्रतियोगिता सुरु गरेको हो । प्रतियोगितामा काठमाडौं उपत्यकासँगै काभ्रेका गरी नौ विद्यालयले सहभागिता जनाएका छन् ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073 |

Design & Host By SITEMANDU.COM

Powered By GO BHAKTAPUR.COM