Connect with us

SPORTS

२० वर्षको प्रयासपछि बक्सिङ रिङको व्यवस्था

Published

on

भक्तपुर नपाद्वारा सञ्चालित बक्सिङ प्रशिक्षण केन्द्रलाई बक्सिङ रिङ हस्तान्तरण गर्दै प्रदेश नं ३ का सांसद सुरेन्द्रराज गोसाई र नगर प्रमुख सुनिल प्रजापति । तस्बिर : इन डेप्थ

भक्तपुर । भक्तपुर नगरपालिकाले आधुनिक बक्सिङ रिङ भित्र्याएको छ । बक्सिङ प्रशिक्षक तथा खेलाडीहरुले माग गरेको २० वर्षपछि करिब १५ लाख रुपैयाँमा उक्त बक्सिङ रिङ भित्र्याएको हो ।
भक्तपुर नपाले विश्व युवा दिवसको अवसर पारेर सोमबार भक्तपुर नपा बक्सिङ प्रशिक्षण केन्द्रलाई उक्त रिङ हस्तान्तरण गरेको छ ।
नगर प्रमुख सुनिल प्रजापति एवं प्रदेश नं. ३ का सांसद सुरेन्द्रराज गोसाईंले संयुक्त रुपमा केन्द्रका प्रशिक्षक केदार तुईतुईलाई रिङको सामग्री हस्तान्तरण गरेका हुन् ।
बक्सिङ रिङको सामान हस्तान्तरण भए पनि रिङ जडान हुन महिनादिन लाग्ने भक्तपुर नपा युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीले जानकारी दिए ।
उनका अनुसार हाल बक्सिङ प्रशिक्षण भइरहेको भक्तपुर नपा १० कमलविनायकस्थित बक्सिङ हलमा उक्त रिङ जडान गरिनेछ ।
संयोजक खत्रीले करिब २० दिनअघि भक्तपुर पुगेको रिङ सोमबार युवा दिवसको अवसर पारेर प्रशिक्षण केन्द्रलाई हस्तान्तरण गरिएको बताए ।
‘अहिले बक्सिङ प्रशिक्षण केन्द्र रहेको कभर्ड हलको मर्मत सम्भार कार्य भइरहेको छ’, उनले भने, ‘मर्मत कार्य सकिएलगत्तै बक्सिङ रिङ जडान गरेर त्यसैमा प्रशिक्षण सञ्चालन गर्छौं ।’
उनका अनुसार कभर्ड हलमा पानी चुहिएकाले त्यसको मर्मत भइरहेको छ ।
भक्तपुर नपाले २०५२ सालदेखि निरन्तर रुपमा बक्सिङ प्रशिक्षण सञ्चालन गर्दै आएको छ । बक्सिङ प्रशिक्षणको लागि भक्तपुर नपाले केदार तुईतुई र कृष्णसुन्दर प्रजापतिलाई प्रशिक्षक नियुक्ति गरेका छन् ।
दुई प्रशिक्षक सुरुदेखि अहिलेसम्म निरन्तर बक्सिङ प्रशिक्षण दिँदै आएका छन् ।
प्रशिक्षक तुईतुईले करिब २० वर्षपछि बक्सिङ रिङको व्यवस्था गर्ने प्रयास सफल भएकोसमेत सुनाए ।
‘हामीले २०५७ सालदेखि बक्सिङ प्रशिक्षणको लागि रिङको माग गर्दै आएका थियौं’, उनले भने, ‘२० वर्षमा आएर हाम्रो माग पूरा भएको छ । अब हाम्रा खेलाडीहरुले वास्तविक रिङमै प्रशिक्षण र प्रतियोगिता गर्न पाउने भएका छन् ।’
उनले भक्तपुर नपामा बक्सिङ रिङ आएपछि प्रशिक्षक र खेलाडीहरु उत्साहित भएकोसमेत सुनाए ।
उनका अनुसार केन्द्रमा यस वर्ष २० जना खेलाडीहरुले नियमित प्रशिक्षण लिइरहेका छन् । रिङ जडान भएपछि खेलाडीहरुको संख्या बढ्ने उनले विश्वास व्यक्त गरे ।
भक्तपुर नपाले बक्सिङसँगै सितेरियो कराते, टेबलटेनिस, भलिबल, फुटबल, जिम्न्यास्टिकको नियमित प्रशिक्षण दिँदै आएको छ ।
सोमबार नै भक्तपुर नपाले बक्सिङ रिङसँगै नपाका १० वटै वडालाई थप एकएक सेट शारीरिक सुगठन तथा फिटनेसका सामग्री हस्तान्तरण गरेको छ ।
यसअघि नपाले १० वटै वडाका सार्वजनिक ठाउँमा नौवटा सामग्रीको शारीरिक सुगठन तथा फिटनेसका सामग्री जडान गरिसकेको छ । ती सामग्री प्रयोग गर्ने नगरवासीहरुको चाप बढेर सामग्री अपुग भएपछि वडाहरुलाई १० वटा सामग्रीसहितको थप एकएक सेट शारीरिक सुगठन तथा फिटनेससम्बन्धी सामग्री हस्तान्तरण गरिएको युवा तथा खेलकुद समितिका संयोजक खत्रीले जानकारी दिए ।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!