Connect with us

SPORTS

राजेश बने दोस्रो मिस्टर भक्तपुर पावर

Avatar

Published

on

दोस्रो मिस्टर भक्तपुर पावर बन्न सफल राजेश सुवाललाई पुरस्कृत गर्दै नेमकिपाका केन्द्रीय सचिव प्रेम सुवाल । तस्बिरहरु : इन डेप्थ

भक्तपुर । मसल एण्ड फिटनेसका राजेश सुवाल भक्तपुरकै बलियो पुरुष बन्न सफल भएका छन् । भक्तपुर जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघको प्राविधिक सहयोगमा भक्तपुर नगरपालिका ९ वडा खेलकुद समितिले शनिबार गरेको दोस्रो मिस्टर पावर स्पर्धामा कूल ५१० केजी तौल उचालेर राजेश भक्तपुरकै सर्वाधिक बलियो पुरुष बन्न सफल भएका हुन् ।
६२ केजीभन्दा माथिल्लो तौल समूहमा १३ जना प्रतिस्पर्धीलाई पछि पार्दै राजेशले उपाधिसँगै नगद पन्ध्र हजार रुपैयाँ जिते । उनले स्क्वाटतर्फ १६० केजी, बेन्चप्रेसमा १६० केजी र डेडलिफ्टमा १९० केजी तौल उचालेका थिए । उपाधि जितेसँगै राजेशले बेन्चप्रेसतर्फ नयाँ राष्ट्रिय कीर्तिमानसमेत राख्न सफल भए । यसअघि १४० केजी तौलको बेन्चप्रेसको राष्ट्रिय कीर्तिमान तोडिएको भक्तपुर जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघका अध्यक्ष बाबुकाजी मानन्धरले जानकारी दिए ।
भक्तपुरमा ३० वर्षपछि शनिबार दोस्रो मिस्टर भक्तपुर पावर तथा पहिलो मिस पावर भक्तपुर आयोजना गरिएको थियो ।
उक्त तौल समूहमा रोबस्ट जीमका सुरज डंगोल दोस्रो हुँदै दस हजार रुपैयाँ नगद हात पारे । उनले स्क्वाटमा १५५ केजी, बेन्चप्रेसमा १०० केजी र डेडलिफ्टमा २१० केजी गरी कुल ४६५ केजी तौल उचालेका थिए । त्यस्तै तेस्रो भएका द पावर एरोबिक एण्ड फिटनेसका गंगाराम गोर्खालीले स्क्वाटमा १६० केजी, बेन्चप्रेसमा ११५ केजी र डेडलिफ्टमा १८५ केजी गरी कूल ४६० केजी तौल उचाले । उनले नगद पाँच हजार रुपैयाँ पुरस्कार जिते ।


६२ केजीमुनिको तौल समूहको उपाधि भने पारामाउन्ट फिजिकल फिटनेसका दिवेक अवालले जिते । उनले स्क्वाटतर्फ ११० केजी, बेन्चप्रेसमा १०० केजी र डेडलिफ्टमा १४० केजी गरी कूल ३५० केजी तौल उचाले ।
त्यस्तै अजिमा फिजिकल फिटनेसका किरण सुवाल दोस्रो भए । उनले स्क्वाटमा ८५ केजी, बेन्चप्रेसमा ९५ केजी र डेडलिफ्टमा १५० केजी गरी कूल ३३० केजी उचाले ।
स्क्वाटमा ११० केजी, बेन्चप्रेसमा ९० केजी र डेडलिफ्टमा १२५ केजी तौल उचालेका युनिभर्सल फिटनेसका अनिल राई तेस्रो भए । उक्त स्पर्धाका पहिलो, दोस्रो र तेस्रो हुनेले पनि क्रमशः पन्ध्र हजार, दस हजार र पाँच हजार रुपैयाँ नगर पुरस्कार हात पारे ।

पार्वती बनिन् पहिलो मिस पावर


त्यस्तै क्लव अक्सिजन फिटनेसका पार्वती खड्का पहिलो मिस पावर बन्न सफल भएकी छन् । भक्तपुरमै पहिलो पटक भएको मिस भक्तपुर पावरमा पाँच जना प्रतिस्पर्धीलाई पछि पार्दै पार्वती भक्तपुरकै बलियो महिला बनेकी हुन् ।
उनले स्क्वाटतर्फ ९० केजी, बेन्चप्रेसतर्फ ४२ केजी र डेडलिफ्टमा १०० केजी गरी कूल २३२ केजी उचालेकी थिइन् । उनले पन्ध्र हजार नगद पुरस्कारसमेत जितिन्
त्यस्तै स्क्वाटमा ८२ केजी, बेन्चप्रेसमा ४५ र डेडलिफ्टमा ९७ केजी गरी कूल २२४ केजी तौल उचालेकी अल्टिमेट फिजिकल फिटनेसकी अञ्जली श्रेष्ठ दोस्रो र अल्टिमेटकै सृजना घिसिङ स्क्वाटमा ८२ केजी, बेन्चप्रेसमा ४२ र डेडलिफ्टमा ९० केजी तौल गरी कूल २१४ केजी तौल उचालेर तेस्रो भए । अञ्जली र सृजनाले क्रमशः दस हजार र पाँच हजार रुपैयाँ नगद पुरस्कार जिते ।
प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने शारीरिक सुगठकहरुलाई नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवं प्रतिनिधिसभा सदस्य प्रेम सुवालले उपाधि, पदक, प्रमाणपत्रसँगै नगद पुरस्कार वितरण गरेका थिए ।
यसअघि २०४५ साल साउन १२ गते प्रथम मिस्टर भक्तपुर पावर भएको थियो । पहिलो मिस्टर भक्तपुर पावरको उपाधि विनेश जोन्छेले जितेका थिए । उनले बेन्च प्रेसमा ११५.५ केजी, स्क्वाटमा १२० केजी र डेड लिफ्टमा १३२ केजी गरी कूल ३६७.५ केजी उचालेर भक्तपुरकै बलियो पुरुष सावित गरेका थिए ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!