Connect with us

SPORTS

क्षमादेवी प्लानिङ ब्वाइज बन्यो च्याम्पियन

Published

on

दोस्रो सुटर्स कप फुटबल प्रतियोगिताको उपाधिसँगै विजेता क्षमादेवी प्लानिङ ब्वाइजका खेलाडी, अफिसियल र पुरस्कार वितरण समारोहका प्रमुख अतिथि तथा अतिथिहरु । तस्बिर : ईश्वरकाजी खाइजू

भक्तपुर । काठमाडौंको पेप्सीकोलास्थित क्षमादेवी प्लानिङ ब्वाइज युनाइटेडले दोस्रो सुटर्स कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
सुटर्स फुटसलद्वारा आयोजित प्रतियोगिताको आइतबार भएको फाइनलमा भक्तपुरको माउन्ट भ्याली क्लवलाई ३–० गोलले हराउँदै क्षमादेवी प्लानिङ ब्वाइज च्याम्पियन बन्न सफल भएको हो ।
विजेता प्लानिङ ब्वाइजले उपाधिसँगै एकलाख रुपैयाँ नगद पुरस्कार हात पारेको छ । उपविजेता माउन्ट भ्यालीले भने पचास हजार रुपैयाँ नगद पुरस्कारमै चित्त बुझाएको छ । माउन्ट भ्याली सुटर्स कप फुटबल प्रतियोगिताको पहिलो संस्करण विजेता थियो ।
खेलको १४ औं मिनेटमै सुनिल लामाले गोल गर्दै प्लानिङ ब्वाइजलाई अग्रता दिलाएका थिए । खेलको दोस्रो हाफको २० मिनेट बाँकी छँदा दोहोरो पहेंलो कार्ड पाएर माउन्ट भ्यालीका एक खेलाडी मैदानबाट बाहिरिएका थिए ।
त्यसलगत्तै सुनिल लामाले नै अर्को गोल थप्दै प्लानिङ ब्वाइजको अग्रता दोब्बर बनाए । १० खेलाडीमा सीमित माउन्ट भ्यालीका खेलाडीहरुले प्लानिङ ब्वाइजलाई दबाबमा राखे पनि गोल गर्न भने सकेनन् । त्यस्तै खेलको ७० औं मिनेटमा पाएको पेनाल्टी प्रहार असफल भएपछि माउन्ट भ्यालीका खेलाडीहरु उल्टै दबाबमा पर्न बाध्य भएका थिए ।
खेलको ८१ औं मिनेटमा सञ्जीव लामाले अर्को गोल गर्दै प्लानिङ ब्वाइजको जीत सुनिश्चित गरे ।


प्रतियोगितामा प्लानिङ ब्वाइजका कप्तान सविन खड्का प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित भए । त्यस्तै विजेता प्लानिङ ब्वाइजका विष्णु केसी उत्कृष्ट गोलरक्षक, सुनिल लामा उत्कृष्ट स्ट्राइकर र तेजबहादुर बुढाथोकी फाइनल खेलका म्यान अफ द म्याच घोषित भए ।
त्यस्तै उपविजेता माउन्ट भ्यालीका सुरज ठकुरी उत्कृष्ट मिडफिल्डर बने । माउन्ट भ्यालीकै जनक कोइराला उत्कृष्ट डिफेन्डर र सजन डंगोल उत्कृष्ट विंगर बन्न सफल भए ।
प्रतियोगिताका विजेता तथा उपविजेता टीमसँगै उत्कृष्ट खेलाडीहरुलाई भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशीले शिल्ड, मेडल र प्रमाणपत्रसँगै नगद पुरस्कार वितरण गरेकी थिइन् ।
उक्त अवसरमा उनले प्रतियोगिता सञ्चालनलगत्तै माहेश्वरी खेल मैदानको स्तरोन्नतिको काम अघि बढ्न जानकारी दिइन् । खेल मैदानको स्तरोन्नतिको लागि भक्तपुर नपाले एक करोड रुपैयाँ विनियोजन गरेको उनले बताइन् ।
त्यस्तै अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष उपेन्द्रमान सिंहले नेपालमा फुटबल खेल र खेलाडीको विकासको लागि एन्फाले जिल्ला तहमै विभिन्न प्रतियोगिता तथा कार्यक्रमलाई प्राथमिकता दिएको बताए ।
उनले यस वर्ष जिल्ला लिगसँगै प्रदेश र राष्ट्रिय फुटबल लिग हुने जानकारी दिए ।
प्रतियोगितामा काठमाडौं उपत्यका र काभ्रेका गरी २४ टीमको सहभागिता रहेको थियो । प्रतियोगिताको विजेताको लागि निक भुजिकिक प्रालिले एक लाख रुपैयाँको प्रायोजन गरेको थियो । त्यस्तै उपविजेताको लागि हारती माता डेभलपर्सले पचास हजार रुपैयाँ प्रयोजन गरेको आयोजक सुटर्स फुटसलका अध्यक्ष रमेश सुवालले जानकारी दिए ।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!