हर्टल्याण्डका पुरुषोत्तमको अर्धसतक
भक्तपुर । हर्टल्याण्ड र राजन मेमोरियल स्कुलले भक्तपुरमा जारी विद्यालयस्तरीय बा¥हौं प्रधानसेनापति कप टी ट्वेन्टी क्रिकेट प्रतियोगितामा जीत निकालेका छन् ।
भक्तपुरको सल्लाघारीस्थित सैनिक आवासीय महाविद्यालयद्वारा आयोजित प्रतियोगिताअन्तर्गत बिहीबार भएको लिग खेलमा हर्टल्याण्डले त्रियोग स्कुललाई ६ विकेटले हराएको हो ।
टस जितेर ब्याटिङमा ओर्लेको त्रियोगले १५ ओभरमा ४ विकेट गुमाएर एकसय ३० रनको योगफल तयार गरेको थियो । खेलमा केही विलम्ब भएपछि २० ओभरको खेललाई १५ ओभरमा झारिएको थियो ।
त्रियोगको लागि अभाशिस खत्रीले पाँच चौकाको मद्दतले ३९ रन जोडे । त्यस्तै आश्रय अधिकारी र साश्वत पौडेलले नटआउट रहँदै क्रमशः २४ र २१ रनको योगदान गरे ।
बलिङतर्फ हर्टल्याण्डका समीर गोदामी मगर, आयुष लम्साल र निखिल महर्जनले एकएक विकेट लिए ।
जवाफी व्याटिङमा ओर्लेको हर्टल्याण्डले १४.३ ओभरमा मात्र ४ विकेट गुमाएर लक्ष्य भेट्टायो । विजेता हर्टल्याण्डको लागि पुरुषोत्तम न्यौपाने नटआउट ७६ रन जोडेका थिए । उक्त खेलका म्यान अफ द म्याच बन्न सफल पुरुषोत्तमले ४० बलको सामना गर्दै दस चौका हानेका थिए ।
त्यस्तै सुदीप विष्टले तीन चौकाको मद्दतले २१ र सौगात नेपालले ११ रनको योगदान गरे ।
बलिङतर्फ त्रियोगका अवाशिष खत्री, रोनक थापा र आश्रय अधिकारीले एकएक विकेट लिए ।
त्यस्तै बिहीबार नै भएको अर्को लिगमा राजन मेमोरियलले सेन्ट जेभियर्सलाई १६ रनले हराएको छ ।
टस जितेर व्याटिङमा ओर्लेको राजन मेमोरियलले २० ओभरमा एक विकेट बाँकी छँदै ८९ रनमात्रै जोड्न सकेको थियो । उसको लागि अनुप नेपालले चार चौकाको मद्दतमा २४, सुजन तामाङले २० र आलव्य खड्काले नटआउट सात रन जोडे ।
बलिङतर्फ सेन्ट जेभियर्सका तनिश स्वप्निल, सुशान्त खड्का र स्पर्शआनन्द चन्दले दुईदुई विकेट झारे ।
जवाफी व्याटिङमा ओर्लेको सेन्ट सेभियर्सले १८.२ ओभरमा अलआउट हुँदै ७३ रनमात्रै बनाउन सक्यो । उसको लागि आदित सुवेदीले सर्वाधिक ४९ रन जोडे । सेन्ट जेभियर्सका अरु ब्याट्सम्यानले दुई अंकको रन बनाउन सकेनन् ।
बलिङतर्फ राजन मेमोरियलका सुजन तामाङ र अनुप नेपालले समान तीनतीन विकेट लिए । तीन विकेट लिन सात रनमात्रै खर्चेका अनुप उक्त खेलका म्यान अफ द म्याच घोषित भए । त्यस्तै सन्देश दाहालले दुई विकेट झारे ।
प्रतियोगिताअन्तर्गत शुक्रबार लाइसियम र ईपीएस तथा जेम्स र नेक्ससबीचको लिग खेल हुने आयोजक सैनिक महाविद्यालयका खेलकुद इन्चार्ज रञ्जित राणाले जानकारी दिए ।