Connect with us

SPORTS

दोस्रो सुटर्स कप फुटबल : बिहीबार क्वार्टरफाइनलमा चार खेल

Published

on

दोस्रो सुटर्स कप फुटबल प्रतियोगिताअन्तर्गत बुधबार बलको लागि घम्साघम्सी गर्दै आयोजक सुटर्स र तथास्तु नगरकोटका खेलाडी । तस्बिर : ईश्वरकाजी खाइजू

भक्तपुर । आयोजक सुटर्स टीम, रायमाझी, माउन्ट भ्याली र म्यानचेस्टर युनाइटेड फुटबल क्लव नेपाल भक्तपुरमा जारी दोस्रो सुटर्स कप फुटबल प्रतियोगिताको अन्तिम आठमा पुग्न सफल भएका छन् ।
भक्तपुरको माहेश्वरी खेल मैदानमा भएको प्रतियोगिताअन्तर्गत बुधबार आयोजक सुटर्सले तथास्तु नगरकोटलाई ट्राई ब्रेकरमा ४–३ गोलले पन्छाएर क्वार्टरफाइनलको यात्रा तय गरेको हो ।
निर्धारित ७० मिनेटको खेल गोलरहित बराबरीमा टुंगिएको थियो । पेनाल्टी सुटआउटमा तथास्तुका दुई गोल खेर गएपछि आयोजकको भाग्य खुलेको हो । तथास्तुको पहिलो पेनाल्टी प्रहार नै पोस्टभन्दा बाहिरिएको थियो । दोस्रो प्रहार भने सुटर्सका गोलकिपरले छेक्न सफल भए ।
यता विजेता सुटर्सको तेस्रो प्रहारको बल पोस्टभन्दा बाहिर गएको थियो ।
बुधबार नै भएको अर्को खेलमा रायमाझी फुटबल क्लवले २९ ब्वाइज युनाइटेडलाई १–० गोलले हरायो । उक्त खेलमा रायमाझीका मिलन तामाङले खेलको दोस्रो हाफको ३२ मिनेटका गरेको गोल नै निर्णायक सावित भयो ।
अर्को खेलमा पहिलो संस्करणको विजेता माउन्ट भ्यालीले सत्यनारायण स्पोर्टस् क्लवलाई १–० गोलले पन्छाएर क्वार्टरफाइनलको यात्रा सुनिश्चित गरेको छ ।
माउन्ट भ्यालीले एन्फाको ए डिभिजन खेल्ने दुई क्लवका तीन विदेशी खेलाडीलाई मैदानमा उतारेको थियो । जसमध्ये लावेल लोलले खेलको ३२ औं मिनेटमा गोल गर्दै माउन्ट भ्यालीलाई जिताए ।
बुधबार भएको प्रतियोगिताकै अन्तिम प्रि–क्वार्टरफाइनल खेलमा म्यानचेस्टर युनाइटेड फुटबल क्लव नेपालले काभ्रे बोर्डरलाई १–० गोलले पन्छायो । विजेता म्यानचेस्टरको लागि अरुण लामाले खेलको दोस्रो हाफको ११ औं मिनेटमा गोल गरेका थिए ।
यस जीतसँगै क्वार्टरफाइनलमा म्यानचेस्टरले आयोजक सुटर्स प्रतिद्वन्द्वी पाएको छ ।
प्रतियोगिताका म्याच कमिस्नर अनिल सुकुपायाको अनुसार बिहीबार क्वार्टरफाइनलका चार खेल हुनेछन् । जसमध्ये पहिलो खेलमा पद्म ज्योति ईआर ब्वाइज र प्लानिङ ब्वाइज भिड्नेछन् । दोस्रो खेलमा शिव शिखर भक्तपुर जिल्ला फुटबल क्लव एसोसियसन र सशस्त्र प्रहरीको ९ नम्बर ब्रिगेड आमनेसामने हुने म्याच कमिस्नर सुकुपायोले जानकारी दिए ।
त्यस्तै रायमाझी र माउन्ट भ्याली तथा आयोजक सुटर्स र म्यानचेस्टर युनाइटेड तेस्रो र चौथो खेलमा भिड्ने उनले बताए ।
प्रतियोगितामा काठमाडौं उपत्यकासँगै काभ्रे गरी २४ टीमको सहभागी रहेको छ । विजेताले एक लाख रुपैयाँ र उपविजेताले ५० हजार रुपैयाँ नगद पुरस्कार पाउने प्रतियोगिताका संयोजक किशोर धुकुछुले जानकारी दिए ।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!