Connect with us

SPORTS

दोस्रो सुटर्स कप फुटबल प्रतियोगिता जारी

Published

on

बलको लागि घम्साघम्सी गर्दै तथास्तु नगरकोट र टीम स्पीडका खेलाडी । तस्बिर : ईश्वरकाजी खाइजू

भक्तपुर । तथास्तु नगरकोट, सत्यनारायण, काभ्रे बोर्डर र २९ ब्वाइज युनाइटेड भक्तपुरमा जारी दोस्रो सुटर्स कप फुटबल प्रतियोगिताको प्रि–क्वार्टरफाइनलमा पुगेका छन् ।
सुटर्स फुटसलद्वारा आयोजित प्रतियोगिताअन्तर्गत सोमबार भएको खेलमा भक्तपुरको तथास्तु नगरकोटले काठमाडौंको पेप्सीकोलास्थित टीम स्पीडलाई ट्राई ब्रेकरमा ४–३ गोलले पन्छाएको हो । निर्धारित ७० मिनेटको खेलमा दुवै टीमबाट एकएक गोल भएपछि ट्राईब्रेकरमार्फत निर्णय लिइएको हो । जसमा टीम स्पीडका दुई खेलाडीले प्रहार गरेको पेनाल्टी गोल पोेस्टमा ठोक्किएका थिए । त्यस्तै तथास्तु नगरकोटका एक खेलाडीले गोल पोष्ट बाहिर प्रहार गरेका थिए ।
खेलको निर्धारित समयमा तथास्तु नगरकोटका अनिल किसीले र टीम स्पीडका अखिलेश कार्कीले एकएक गोल गरेका थिए ।
भक्तपुरको माहेश्वरी खेल मैदानमा भएको अर्को खेलमा भक्तपुरकै सत्यनारायण स्पोर्टस् क्लवले मध्यपुर थिमीको बोडेस्थित फुटबल क्लव रियललाई ३–० गोलले हराएको छ ।
सत्यनारायणको लागि विदेशी खेलाडीद्वय करिम र एल्बिस तथा सुमन डंगोलले एकएक गोल गरेका थिए ।
सोमबार नै भएको अर्को खेलमा काभ्रेको काभ्रे बोर्डरले काठमाडौंको नैकापस्थित दीपशिखा युवा समूहलाई २–० गोलले पन्छाएकोे छ । विजेता काभ्रे बोर्डरको लागि राधेश्याम कार्की र वीरेन्द्र थापाले एकएक गोल गरे ।
त्यस्तै अर्को खेलमा भक्तपुरको २९ ब्वाइज युनाइटेडले काभ्रेकको साँगास्थित नेपाल प्रहरी स्कुललाई ट्राई ब्रेकरमा ४–१ गोलले हराएको छ । खेलको निर्धारित समयमा दुवै टीमबाट दुईदुई गोल भएको थियो । खेलको २४ औं मिनेटमा अनिल कार्कीको गोलबाट प्रहरी स्कुलले अग्रता लिएको थियो ।
पहिलो हाफसम्म जितिरहेको प्रहरीको लागि खेलको दोस्रो हाफको ३७ औं मिनेटमा सुरज ठकुरीले गोल गर्दै अग्रता दोब्बर पारे तर खेलको ४७ औं मिनेटमा कुमार लामाको र ५० औं मिनेटमा राजन बखुन्छेंको गोलबाट २९ ब्वाइजले खेल बराबरी गरेको थियो ।
प्रतियोगितामा भक्तपुर, काठमाडौं र काभ्रेका २४ फुटबल टीमहरुको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले उपाधिसँगै नगद एकलाख रुपैयाँ पुरस्कार पाउनेछ । त्यस्तै उपविजेताले नगद पचास हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!