Connect with us

SPORTS

भक्तपुर मेन डोजोले उचाल्यो उपत्यकाव्यापी सितेरियो करातेको उपाधि

Published

on

भक्तपुरमा सम्पन्न प्रथम उपत्यकाव्यापी सितेरियो कराते तथा किक बक्सिङ प्रतियोगितामा भिड्दै किक बक्सिङका महिला खेलाडी । तस्बिर : ईश्वरकाजी खाइजू

भक्तपुर । भक्तपुर जिल्ला सितेरियो कराते संघ मेन डोजोले भक्तपुरमा शनिबार सम्पन्न प्रथम उपत्यकाव्यापी सितेरियो कराते प्रतियोगिताको उपाधि उचालेको छ ।
विद्या आर्जन सितेरियो कराते शाखा डोजोद्वारा आयोजित प्रतियोगितामा मेन डोजोले ६ स्वर्ण, ५ रजत र ५ वटै कास्य पदक जित्दै उपाधि उचालेको हो ।
त्यस्तै ४ स्वर्ण, ४ रजत र ७ कास्य पदक जितेको काभ्रे एकेडेमी दोस्रो र भक्तपुर नगरपालिका ३ स्वर्ण, २ रजत र ३ कास्य पद जितेर तेस्रो स्थानमा पर्न सफल भए ।
च्याम्पियन भएको मेन डोजोको लागि पुरुषतर्फ ३० केजीमा सुवास परियार, ४० केजीमा सुन्दर तामाङ, ४५ केजीमा देनिस सांगाछें र ५५ केजीमा सुनिल लामाले पहिलो भई स्वर्ण पदक जिते । त्यस्तै पुरुष एकल कातामा प्रथम भई डेनिस सांगाछेंले व्यक्तिगत रुपमा दुइटा स्वर्ण पदक जिते ।
महिलातर्फ ४० केजी तौल समूहमा मेन डोजोका पूर्णिमा रानामगरले मात्रै स्वर्ण पदक जितिन् ।
दोस्रो भएको काभ्रे एकेडेमीको लागि पुरुषतर्फ ५० केजी तौल समूहमा साजन मोक्तान पहिलो भए । महिलातर्फ ४५ केजीमा ईसा श्रेष्ठ र खुला तौल समूहमा धनमाया लामाले स्वर्ण पदक जित्दा महिला एकल कातामा बेली लामाले प्रथम भइन् ।
तेस्रो भएको भक्तपुर नगरपालिका टीमको लागि महिला ५५ केजी तौलमा तारादेवी तामाङ र ३५ केजीमा शशिका चाम्लिङले स्वर्ण पदक जिते । त्यस्तै पुरुषतर्फ २० केजीमा लक्की सुवालले भक्तपुर नपाको लागि तेस्रो स्वर्ण पदक जिते ।
काभ्रेसहित उपत्यकाका तीन जिल्लाका करिब ३०० खेलाडी सहभागी भएको प्रतियोगितामा भक्तपुरकै गोजुरियाले तीन, काठमाडौंको केन्द्रीय डोजोले दुई, काठमाडौंकै क्यामेलिया डोजो, ललितपुरको लुभु डोजो र भक्तपुरको थिमी डोजोले एकएक स्वर्ण पदक जिते ।
सितेरियो करातेतर्फ क्यामेलियाका आयुषा तामाङ सर्वोत्कृष्ट महिला खेलाडी हुँदा काभ्रे एकेडेमीका सजन मोक्तान सर्वोत्कृष्ट पुरुष खेलाडी बन्न सफल भए ।
त्यस्तै किक बक्सिङतर्फ भक्तपुर मेन डोजोका पवनकुमार शाह र सुस्मिता शाही क्रमशः सर्वोत्कृष्ट पुरुष र महिला किक बक्सिङ खेलाडी घोषित हुन सफल भए ।
पवनकुमारले खुला तौलतर्फ तेजबहादुर थापालाई पछार्दै स्वर्ण पदक जितेका थिए । त्यस्तै सुस्मिताले ५० केजी तौल समूहमा रुक्साना दुवाललाई हराइन् ।
महिला खुलातर्फ भने तारा तामाङले रविना तामाङलाई हराउँदै स्वर्ण जितिन् । त्यस्तै महिला ४५ केजीमा अप्सरा श्रेष्ठले स्वर्ण जितिन् । पुरुषतर्फ ४५ केजीमा सुरेश राई र ५० केजीमा सुमन नेपाल पहिलो भए ।
प्रतियोगिताका विजेता खेलाडी तथा टीमलाई नेपाल कराते महासंघका अध्यक्ष दावा गुरुङले शिल्ड, मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।
प्रतियोगिताका उद्घाटन भने शुक्रबार एक कार्यक्रमबीच राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले गरेका थिए ।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!