Connect with us

SPORTS

पूर्वनेपाल च्याम्पियनद्वय लामा र नेपाली अगाडि

Published

on

राष्ट्रव्यापी रापिड बुद्धिचालअन्तर्गत चौथो चरणमा विपक्षीविरुद्ध चाल चाल्दै पूर्वनेपाल च्याम्पियन सुरवीर लामा (दायाँ) । तस्बिर : ईश्वरकाजी खाइजू

राष्ट्रव्यापी रापिड बुद्धिचाल

भक्तपुर । भक्तपुरमा मंगलबारदेखि सुरु भएको राष्ट्रव्यापी रापिड बुद्धिचाल प्रतियोगितामा पूर्वनेपाल च्याम्पियनद्वय सुरवीर लामा र बद्रीलाल नेपाली अग्रस्थानमा रहेका छन् ।
नेपाल क्रान्तिकारी युवा संघको २८ औं स्थापना दिवसको अवसरमा आयोजित प्रतियोगिताअन्तर्गत सोमबार सम्पन्न चार चरणमा चारचार अंककै साथमा लामा र नेपाली अगाडि रहेका हुन् ।
उनीहरुसँगै मकवानपुरका कृष्ण थापाले पनि समान चार अंक बटुलेर लामा र नेपाली सँगसँगै अघि बढिरहेका छन् ।
पूर्व नेपाल च्याम्पियन लामाले चौथो चरणमा राजन सुवेदीलाई माथ खुवाउँदै महत्वपूर्ण एक अंक बटुले । त्यस्तै पूर्वनेपाल च्याम्पियन नेपालीले चौथो चरणमा अर्का पूर्वनेपाल च्याम्पियन नवीन तुलाधरलाई माथ खुवाएका थिए ।
कृष्ण थापाले भने कमल श्रेष्ठलाई हराएर महत्वपूर्ण एक अंक लिए ।
स्वीस लिगअनुसार नौ चरणमा हुने प्रतियोगितामा चौथो चरणसम्म पूर्वनेपाल च्याम्पियन मनिष हमाल, राजेन्द्र बज्राचार्य र राजेन्द्र सिजख्वको समान ३.५ अंक रहेका छन् ।
नेपाल च्याम्पियन मदनकृष्ण कायस्थले भने चार चरणभित्र तीन अंकमात्रै जोडेका छन् । उनी चौथो चरणमा सुश्रुत दाहालसँग बराबरीमा रोकिएका थिए ।
त्यस्तै भेट्रान खेलाडी एवं भक्तपुर च्याम्पियन गणेशमान दुवालको पनि तीन अंक भएको छ । दोस्रो चरणमा पराजित उनले चौथो चरणमा खोमप्रसाद तिमिल्सिनालाई माथ खुवाएर महत्वपूर्ण एक अंक लिएका थिए ।
प्रतियोगिताका च्याम्पियनसँगै उत्कृष्ट १७ जना खेलाडीले नगद पुरस्कार प्राप्त गर्नेछन् ।
आयोजक नेपाल क्रान्तिकारी युवा संघ भक्तपुर जिल्ला समितिका अध्यक्ष मीनबहादुर बाटाले प्रतियोगिताको च्याम्पियनले १५ हजार नगद पुरस्कार पाउँदा दोस्रो हुनेले १० हजार, तेस्रो हुनेले ६ हजार, चौथो हुनेले चार हजार र पाँचौं हुनेले दुई हजार रुपैयाँ नगद पुरस्कार पाउने बताए ।
छैटौंदेखि दसौं स्थानमा रहनेले जनही एकएक हजार, भक्तपुर जिल्ला टप हुनेले थप दुई हजार नगद पुरस्कार पाउनेछन् । त्यस्तै अनरेटेडतर्फको उत्कृष्ट, उत्कृष्ट भेट्रान्स, उत्कृष्ट जुनियर, उत्कृष्ट महिला र बेस्ट इलोतर्फ १५०० मुनि र १८०० मुनिका उत्कृष्टले पनि एकएक हजार नगद पुरस्कार हात पार्ने प्रतियोगिताका संयोजक राजकुमार लघूले जानकारी दिए ।
प्रतियोगितामा १३ जिल्लाका ८८ जना खेलाडीहरुको सहभागिता रहेको प्रतियोगिताका आर्विटर निरञ्जन प्रजापतिले जानकारी दिए । उनका अनुसार कूल सहभागीमध्ये रेटेडतर्फ ५१ जना र अनरेटेडतर्फ ३७ जना रहेका छन् ।
त्यस्तै भेट्रान्सतर्फ ८, जुनियरतर्फ १२ जना सहभागी हुँदा रेटेड १८०० मुनि २१ र १५०० मुनि ८ जना सहभागी छन् ।
प्रतियोगिताअन्तर्गत बुधबार बाँकी पाँच चरणको खेलसँगै पुरस्कार वितरणसमेत हुने प्रचारप्रसार समिति संयोजक रामशरण त्वातीले जानकारी दिए ।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!