Connect with us

SPORTS

युवा संघको स्थापना दिवसमा राष्ट्रव्यापी रापिड बुद्धिचाल हुने

Published

on

राष्ट्रव्यापी रापिड बुद्धिचालका नियमबारे जानकारी दिँदै अन्तर्राष्ट्रिय आर्विटर निरञ्जन प्रजापति । तस्बिर : ईश्वरकाजी खाइजू

भक्तपुर । भक्तपुरमा अहिलेसम्मकै सर्वाधिक नगद पुरस्कार रहेको राष्ट्रव्यापी रापिड बुद्धिचाल प्रतियोगिता हुने भएको छ ।
नेपाल क्रान्तिकारी युवा संघको २८ औं स्थापना दिवसको अवसरमा हुने उक्त प्रतियोगिताको च्याम्पियनले १५ हजार रुपैयाँ नगद पुरस्कार पाउने भएको हो ।
संघको भक्तपुर जिल्ला समितिले सोमबार पत्रकार सम्मेलन गरी मंगलबारदेखि हुने प्रतियोगिताका १७ जना उत्कृष्ट खेलाडीले नगद पुरस्कार प्राप्त गर्ने जानकारी दिएको हो ।
समितिका अध्यक्ष मीनबहादुर बाटाले प्रतियोगिताको च्याम्पियनले १५ हजार नगद पुरस्कार पाउँदा दोस्रो हुनेले १० हजार, तेस्रो हुनेले ६ हजार, चौथो हुनेले चार हजार र पाँचौं हुनेले दुई हजार रुपैयाँ नगद पुरस्कार पाउने बताए ।
छैटौंदेखि दसौं स्थानमा रहनेले जनही एकएक हजार, भक्तपुर जिल्ला टप हुनेले थप दुई हजार नगद पुरस्कार पाउनेछन् । त्यस्तै अनरेटेडतर्फको उत्कृष्ट, उत्कृष्ट भेट्रान्स, उत्कृष्ट जुनियर, उत्कृष्ट महिला र बेस्ट इलोतर्फ १५०० मुनि र १८०० मुनिका उत्कृष्टले पनि एकएक हजार नगद पुरस्कार हात पार्ने प्रतियोगिताका संयोजक राजकुमार लघूले जानकारी दिए ।
उनका अनुसार सोमबार बिहानसम्म १२ जिल्ला ६८ खेलाडीले नाम दर्ता गरिसकेका छन् । सोमबार बेलुकासम्म थप शुल्क बुझाएर नाम दर्ता गर्ने व्यवस्था गरिएको उनले बताए ।
स्वीस लिगको आधारमा नौचरणमा प्रतियोगिता हुने मुख्य आर्बिटर निरञ्जन प्रजापतिले जानकारी दिए । भक्तपुर जिल्ला बुद्धिचाल संघका अध्यक्षसमेत रहेका प्रजापति बुद्धिचालका अन्तर्राष्ट्रिय आर्विटर हुन् ।
उनका अनुसार प्रतियोगिताअन्तर्गत प्रत्येक खेलाडीलाई १५ मिनेट र थप दस सेकेन्डको समय दिइनेछ । निर्धारित समयभित्र माथ नखुवाए जसको चालमा निर्धारित समय सकिन्छ उनी पराजित हुने आर्विटर प्रजापतिले जानकारी दिए ।
उनले प्रतियोगिता अन्तर्राष्ट्रिय बुद्धिचाल महासंघ (फिडे) मान्यता प्राप्त रहेको हुँदा नतिजा फिडेकै लगफर्ममा भरिने जानकारी दिए ।
च्याम्पियनसीप अनुशासित रुपमा सम्पन्न गर्न मुख्य आर्विटर प्रजापतिको संयोजकत्वमा सात सदस्यीय निर्णायक समिति गठन गरिएको छ । त्यस्तै रामशरण त्वातीको संयोजकत्वमा प्रचारप्रसार समिति, एण्डिज ग्वाछाको संयोजकत्वमा आर्थिक समिति गठन गरिएको छ ।
प्रतियोगिता सम्पन्न गर्न एक लाख ४८ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!