काठमाडौं । नेपाल एसियाली खेलकुद (एसियाड) को फुटबलमा समूह चरणबाटै बाहिरिएको छ । लगातार दुई हार व्यहोर्दै नेपाल समूह चरणबाटै बाहिरिएको हो ।
नेपाल बिहीबार दोस्रो खेलमा भियतनामसँग २–० गोलले पराजित भयो । नेपालले खेलको १३ औं र ६४ औं मिनेटमा गोल खाएको थियो ।
पहिलो खेलमा भने नेपाल एसियाको ‘पावर हाउस’ जापानसँग १–० ले पराजित भएको थियो । जापानसँग रक्षात्मक खेल खेलेको नेपालले बिहीबार भियतनामविरुद्ध केही आक्रामक हुन खोज्दा गोल खान पुगेको थियो ।
यो खेलसँगै समूह ‘डी’ बाट लगातार दुई जीतका साथ जापान र भियतनाम नकआउट चरणमा पुगेका छन् । खेलबाट बाहिरिइसकेका नेपाल र पाकिस्तान समूहको अन्तिम खेलमा आइतबार भिड्दै छन् ।