Connect with us

SPECIAL

परिकारमात्रै होइन संस्कृति पनि हो योमरी

Avatar

Published

on

आज योमरी पुन्ही

भक्तपुर । आज मंसिर पूर्णिमा अर्थात धान्य पूर्णिमा । चन्द्रमासअनुसारको नेपाल संवत्को तिथिमा थिल्ला पुन्ही । तर नेपालभाषी समुदाय यस दिन योमरी पुन्ही मनाउँछन् ।
यस दिन योमरी (चामलको पीठोबाट बनाइएको र भित्र चाकु तथा तिल राखेर विशेष प्रकारले पकाइएको रोटी) पकाएर खाने गरिन्छ । त्यसैले धान्य वा थिल्लाभन्दा योमरी पूर्णिमाले यो दिन बढी प्रख्यात हुँदै आएको छ ।
नेपालभाषीहरु हरेक पूजा वा पर्वमा कुनै पनि परिकार पहिले देवीदेवतालाई चढाउँछन् । देवीदेवतालाई चढाइसकेपछि मात्रै प्रसादको रुपमा आफूले खान्छन् । त्यसरी नै योमरी बनाएर देवदेवीलाई चढाइसकेपछि मात्रै प्रसादको रुपमा योमरी खान्छन् ।
पुन्हीको दिन पकाउन सुरु गरिएको योमरी अरु बेला पनि पकाएर खान हुन्छ । फेरि योमरी पुन्ही एकदिनमात्र मनाइँदैन । योमरी पुन्हीको भोलिपल्ट नेपालभाषीहरु आफ्ना नातागोता, छोरी, छोरीज्वाइँलाई घर बोलाएर योमरीसहितको भोज खुवाउने गर्छन् । यसरी अरु पुन्हीमा विशेष प्रकारको भोज खुवाउने गरिँदैन । त्यसैले यस पुन्ही नेपालभाषी समुदायमा अत्यन्त महत्वपूर्ण एवं ठूलो पुन्हीको रुपमा लिइन्छ ।

के हो योमरी ?

योमरी के हो बुझ्न शब्द टुक्राएर अथ्र्याउनुपर्छ । ‘यो’ भन्नाले मनपर्ने र ‘मरी’ भन्नाले रोटी हो । रापूर्वकालमा चिनी तथा सख्खर एवं आजभोलि जस्तो थरिथरिका मिठाइको प्रचलन नभएको बेला चाकु र तिल राखेर चामलको पीठोबाट पकाइने रोटी साँच्चै मीठो र स्वादिस्टै हुन्छ । त्यसैले संस्कृतिकर्मी ओमप्रसाद धौभडेल योमरीलाई तत्कालीन समयको रोटी कम मिठाइ बढी भएको जोड दिन्छन् ।

योमरी संस्कृति पनि

नेपालभाषी समुदायमा योमरी बफाएर पकाइन्छ । अरु अधिकांश रोटीहरु ताउ वा तेलमा पकाएर खाने गरिन्छ । योमरी पुन्हीको दिन खानको लागि योमरी पकाउनुअघि नेवारहरु ठूलो आकारमा दुइटा योमरी बनाउँछन् । यी दुई योमरीमध्ये एउटालाई ‘मायो’ र अर्कोलाई ‘बायो’ भनिन्छ । मायो भन्नाले माता र बायो भन्नाले पिता भन्ने जनाउँछ । यी दुई योमरीको आकार पनि फरक फरक हुन्छ । मायो त्रिकोणाकार हुन्छ र यो पकाउँदा यसमा चाकु तथा तिल नराखी दाल (मास, मुंग आदि) राखिन्छ ।
बायो भने गोलाकार एवं लटुकार हुन्छ । यसमा चाकु र तिलको मिश्रण राखेर पकाइन्छ । खानको लागि पनि बायोजस्तै सानो आकारको योमरी बनाइन्छ ।
यसरी ठूलो आकारका दुइटा योमरी बनाइसकेपछि अब अरु सानो आकारको बायोजस्तै गोलाकार योमरी बनाइन्छ । घरलाई आवश्यक योमरी बनाइसकेपछि त्यसलाई ढुकुटीमा लगरे पूजा गरिन्छ । त्यस्तै कुमार, गणेश र आफ्नो घर अगाडि रहेका अन्य देवदेवीलाई योमरी चढाएर पूजा गरिन्छ । यी सबै विधि पूरा भएपछि मात्र भगवानको प्रसादको रुपमा पुन्हीको दिन योमरी खाने गर्छ नेपालभाषी समुदाय ।
साथै योमरी पुन्हीको दिनमात्रै पकाइँदैन । नेपालभाषी समुदाय योमरी सांस्कृतिक साधन पनि हो । योमरी विवाहिता महिला गर्भवती भएको खुसीयालीमा माइती पक्षले गर्भवतीको मुख हेर्ने दिन भनी योमरीलगायतका मीठो र पोसिलो परिकार पकाएर ल्याउने गरिन्छ । आजभोलि यसलाई बेबी सोअर भनेर होटल रेस्टुराँ तथा पार्टी प्यालेसमा विविध कार्यक्रम गर्ने प्रचलन बढेको छ ।
त्यस्तै बच्चाको जन्मदिन मनाउने बेला पनि योमरी प्रयोग गरिने संस्कृतिकर्मी धौभडेल बताउँछन् । उनका अनुसार जोर जन्मदिन मनाउने क्रममा चार वर्षदेखि बालिग नभएसम्म योमरीको माला लगाइदिएर जन्म दिन मनाइन्छ ।
त्यस्तै ज्येष्ठ नागरिकहरुको जन्को (भीमरथारोहन) को क्रममा पनि योमरी प्रयोग हुन्छ ।
मौसमको हिसाबले योमरी पुन्ही पर्ने समय चिसो हुन्छ । त्यसमाथि योमरी पुन्हीको अघिल्लो दिन वर्षभरिकै लामो रात हुने मानिन्छ । त्यसैले योमरी बनाउँदा त्यसको चुच्चो जति तीखो बनाउन सकिन्छ त्यति नै दिन लामो भएर आउने जनकथन रहेको छ ।
संस्कृतिकर्मी धौभडेलका अनुसार योमरी पुन्हीको अघिल्लो दिन मध्यरातमै उठेर नेपालभाषीहरु योमरी पकाउने काममा जुट्छन् । मध्यरातमा मंसिरमा भित्र्याएको नयाँ धानको चामल कुटेर उक्त चामलको पनि पीठो पिनेर योमरी बनाएर बिहान हुनेबित्तिकै देवीदेवीलाई चढाएर प्रसादका रुपमा योमरी खाने गरिन्छ ।
उक्त लामो रातमा पनि योमरी नबनाएर सुतिराख्ने अर्थात उक्त रात सुत्न नपुग्नेलाई उसको जीवनभर कहिल्यै सुख नमिल्ने जनश्रुति रहेको उनी बताउँछन् ।

ऊर्जा पाउन खाइन्छ योमरी

काठमाडौं उपत्यकामा दसैंतिहारपछि विस्तारै जाडो बढ्न सुरु हुन्छ । पुस लाग्दै आउँदा जाडोको मात्रा पनि बढ्दै जान्छ । सकिमना पुन्हीमा पिडालु र भुटेको गेडागुडी खाएर शरीरलाई चाहिने ऊर्जा र ताप दिएका नेवारहरु पुसमा बढ्ने जाडोबाट बच्न तथा शरीरलाई आवश्यक पर्ने ताप र ऊर्जा प्राप्त गर्न योमरी खान्छन् ।
‘नेवारी चाडपर्व विज्ञानका दृष्टिले पनि वैज्ञानिक छ’, संस्कृतिकर्मी धौभडेल भन्छन्, ‘चिसो समयमा चाकु र तिलजस्तो गर्मी हुने खानेकुरा तात्तातो रोटीमा राखेर खाने चलन कुनै पनि किसिमले चाड वा संस्कृतिमात्र मान्न सकिन्न ।’
त्यसैले योमरी खाने परिकारमात्रै नभई संस्कृति र सांस्कृतिक साधनसमेत रहेको उनी स्पष्ट पार्छन् ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!