Connect with us

SPECIAL

विदेशी सान्ता र एल्फमा फक्रिएको नेपाली कला

Avatar

Published

on

नेपाली कलामा आफूले बनाएको सान्ता क्लज र एल्फ देखाउँदै कालीगढ सोम तामाङ । तस्बिर : ईश्वरकाजी खाइजू

भक्तपुर । सान्ता क्लज र एल्फ क्रिश्चियन धर्मावलम्बीहरुको चाड क्रिसमसको पर्यायवाची नै मानिन्छ । क्रिसमसको रात सान्ता क्लजले दीनदुःखी बालबालिकालाई उपहार बाँड्ने जनविश्वास रहेको छ । त्यसैले सान्ता क्लजको चर्चा बढी हुन्छ ।
त्यस्तै जर्मन मिथअनुसार एल्फ मानिसको रुपमा अलौकिक र जादुमय शक्ति भएका व्यक्ति हुन् । जसको प्रार्थना गर्नाले आफूममा पनि त्यस्तै शक्ति प्राप्त हुने विश्वास गरिन्छ । सोही जनविश्वासले गर्दा क्रिसमसको दिन क्रिश्चियन धर्मावलम्बीहरु उपहारस्वरुप एल्फ दिने गर्छन् ।
क्रिश्चियन धर्मावलम्बीहरुको लागि प्रख्यात यही दुई पात्र सान्ता क्लज र एल्फको आकृति नेपाली कलामा तयार गरिएका छन् । भक्तपुरको मध्यपुर थिमि नगरपालिका निवासी कालीगढ सोम तामाङले नेपाली कलामा सान्ता र एल्फको आकृति तयार गर्दै आएका हुन् ।
नेपाली कलामा हिन्दू धर्म र बौद्ध धर्मका देवदेवी तथा बुद्धको मुकुन्डो बनाउँदै आएका सोमलाई क्रिश्चियनहरुको सान्ता र एल्फको समेत आकृति बनाउन पाउँदा गर्व महसुस भएको बताउँछन् ।
हुन त उनले मुकुन्डोमात्रै होइन, चराचुरुङ्गी, जीवजन्तुको आकृति पनि बनाउँदै आएका छन् । ‘तर नेपाली कलामा विदेशी धर्मको आकृति बनाउन पाउनु नेपाली कला र कलाकारिताको गौरव हो’, उनले थपे ।
परम्परागत शैलीमा नेपाली कागज, कपास र माटोको मिश्रणबाट मुकुन्डो बनाउने नेपाली मौलिक शैलीमा कालीगढ तामाङले सान्ता क्लज र एल्फ बनाएकै १८ वर्ष बितिसकेछ । सन् २००२ देखि नेपाली कला प्रयोग गरी एल्फ बनाउन थालेको उनी बताउँछन् । सान्ता क्लज भने सन् २०१० तिरमात्रै बनाएको उनले सुनाए ।
‘सन् २००२ देखि नै क्रिसमसको लागि भनेर एल्फ बनाउँदै आएको हुँ’, कालीगढ तामाङले भने, ‘सान्ता क्लज भने सन् २०१० तिर सुरु गरेको थिएँ ।’
उनले बनाएका एल्फ र सान्ता क्लज संयुक्त राज्य अमेरिका, फ्रान्स, स्पेनलगायत युरोपेली मुलुक तथा भारतसम्म जान्छन् । उनले अर्डरअनुसार नै सान्ता र एल्फ बनाउँदै आएका छन् । एकपटक ३० हजार वटा एल्फको आकृति बनाएको उनले सुनाए । उनले सान्ता र एल्फ बनाउन थालेदेखि वर्षमा कम्तीमा ५ हजार वटा अर्डर आउने गरेकोमा यस वर्ष धेरै नै कममात्रै अर्डर आएको बताए ।
‘विश्वव्यापी महामारी बनेको कोरोना भाइरस संक्रमणको कारण यस वर्ष धेरै नै कममात्रै सान्ता र एल्फ बनाएँ’, उनले थपे, ‘यसअघि वर्षमा करिब ५ हजार वटा सान्ता र एल्फ बनाउने गरेको थिएँ ।’
जति धेरै परिमाण हुन्छ, त्यत्ति नै अगाडि अर्डर आउने उनी बताउँछन् । नत्र कम्तीमा ३ महिनाअघि सान्ता र एल्फ बनाउने अर्डर आउने उनले सुनाए ।
परम्परागत विधिबाट सबै हातबाट नै बनाउने भएकाले विदेशीहरु नेपाली कलाबाट प्रभावित भएको कालीगढ तामाङ सगौरव बताउँछन् ।
उनले विदेशमा नेपाली कलाको माग उच्च रहे पनि विविध समस्याले माग धान्न मुस्किल भइरहेको गुनासो गरे ।
‘मुकुन्डो बनाउने तथा चित्रकारितामा नयाँ पुस्ताको आकर्षण कम छ’, उनले थपे, ‘भएका सीमित कालीगढले माग धान्न मुस्किल छ ।’
कला र कलाकारको कुनै सीमा, धर्म, लिंग र जात नहुने भन्दै तामाङले सबै चीजमा कलाकारिता र कला पोख्न सक्नु नै कलाकारको खुबी र क्षमता भएको स्पष्ट पारे ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!