Connect with us

SPECIAL

गाईजात्राको इतिहासमै पहिलोपटक गुञ्जिएन गिनी ट्वाङ

Avatar

Published

on

गाईजात्राअन्तर्गत भैरवनाथको परालले बनेको गाई भक्तपुरको दत्तात्रयमा परिक्रमा गराइँदै । तस्बिरहरु : ईश्वरकाजी खाइजू

ईश्वरकाजी खाइजू
भक्तपुर ।
गिनी ट्वाङ गिनी ट्वाङ
घिन्ताङघिसी ट्वाङ
ताताखती नखकथेङ
घिन्ताङघिसी ट्वाङ
प्रत्येक वर्षको भाद्र शुक्ल प्रतिपदाको दिन मनाइने गाईजात्रा पर्वअन्तर्गत भक्तपुरमा गुञ्जिने बाजाको तालको बोल हो यो । यो बोलकै कारण भक्तपुरको गाईजात्राको रौनक बढेको थियो । भक्तपुरको गाईजात्राको ज्यान एवं प्राण नै यहीं बोलमा लट्ठी जुधाएर नाचिने घिन्ताङघिसी नाच हो ।
तर कोरोना भाइरसको सम्भावित संक्रमण नियन्त्रण गर्न गाईजात्राको इतिहासमै यस वर्ष पहिलोपटक घिन्ताङघिसी ताल एवं संगीतविनै भक्तपुरको गाईजात्रा मंगलबार भएको छ ।
यदि कोरोना भाइरस महामारी नभएको भए गाईजात्राको दिन बिहानैदेखि खिँ, धोलक, धिमेसँगै भुछ्याय र तः को मिश्रणमा घिन्ताङघिसीको तालमा विभिन्न नाच निस्किन्थ्यो । बिहानैदेखि भक्तपुर नगर घिन्ताङघिसीको संगीतमय हुन्थ्यो ।
कोरोना भाइरस महामारीकै कारण भैरवनाथ तथा भद्रकालीको गाईले समेत कुनै बाजागाजाको आवाज सुन्न पाएनन् । मंगलबार विनाबाजागाजा भैरवनाथ र भद्रकालीको गाई भक्तपुर नगर परिक्रमा गराइएको थियो ।
संस्कृतिकर्मी ओमप्रसाद धौभडेलले भैरवनाथ तथा भद्रकालीको गाईलाई नगर परिक्रमा गराइँदा बाजागाजा बज्नुपर्छ भन्ने इतिहास रहे पनि यस वर्ष त्यो पालना नभएको सुनाए ।
‘देवदेवीका गाई होस् या रथ बाजागाजासहित नगर परिक्रमा गराउनुपर्ने इतिहास थियो’, उनले भने, ‘तर कोरोना महामारीको कारण यसवर्ष उक्त परम्परा तोडियो ।’
उनले भक्तपुरको यस वर्षको गाईजात्रालाई सुख्खा गाईजात्राको संज्ञा दिए । घिन्ताङघिसीको संगीत र नाचविहीन गाईजात्रा सुख्खा नै भएको उनको भनाइ थियो ।
स्थानीय प्रशासन, प्रहरी र भक्तपुर नगरपालिकाले यस वर्षको गाईजात्रालाई औपचारिकतामात्रै दिन आह्वान गरेका थिए । सोहीअनुसार भक्तपुर नपाले गाईजात्रामा घिन्ताङघिसी नाच ल्याउन नदिन वडा वडाको टोल टोलमा स्वयम्सेवकसमेत खटाएको थियो । सोहीअनुसार यस वर्षको गाईजात्रा सांस्कृतिक पर्वको रुपमा मात्रै सम्पन्न भएको हो ।

भैरवनाथ र भद्रकालीसँगै तीनवटामात्रै गाई

भैरवनाथ र भद्रकालीका गाईले यसपालि स्थानीय भक्तपुर नपा वडा नं. ४ र ५ बाट गएको वर्ष दिवंगत भएका सर्वसाधारणका गाईले समेत साथ पाएनन् । यस वर्ष भैरवनाथ र भद्रकालीको गाईको साथमा ती वडाका तीनजनाको मात्रै गाईले साथ दिए ।
स्थानीयका अनुसार भनपा वडा नं. ४ र ५ का करिब २० वटा गाईले भैरवनाथ र भद्रकालीको रथसँगै भक्तपुर नगर परिक्रमा गरेनन् । ती गाईलाई मंगलबार बिहानै भक्तपुर नगर परिक्रमा गराइएको थियो ।

सामाजिक दूरीको उपेक्षा

काभ्रेको साँगामा गाईजात्राअन्तर्गत घिन्ताङघिसी नाच नाच्दै जात्रालु ।

भक्तपुरको गाईजात्रामा घिन्ताङघिसीलगायतका परम्परागत नागहरु प्रदर्शन नभए पनि भक्तजनहरुले सामाजिक दूरी कायम गरेको पाइएन । गाई नगर परिक्रमा गराइँदा जताततै भक्तजनको भीड थियो । भैरवनाथ र भद्रकालीको गाईलाई नगर परिक्रमा गराउँदा झन् सर्वसाधारणको भीड बाक्लो थियो । कतै पनि सामाजिक दूरी कायम गरिएको देखिएन । अधिकांशले माक्स लगाए पनि सामाजिक दूरी कायम नभएकाले कोरोना भाइरस संक्रमण हुने खतरालाई नकार्न सकिन्न ।

मृत्यु संस्कारगत पर्व

गाईजात्रालाई नेपालभाषामा ‘सा पारु’ भनिन्छ । सा भनेको गाई र पारु भनेको प्रतिपदा । प्रत्येक वर्षको भाद्र शुक्ल प्रतिपदामा गाईजात्रा मनाइने भएकाले यस दिनलाई सा पारु भनिन्छ ।
नेवारी समुदायमा सा पारु मृत्यु संस्कारसँग सम्बन्धित पर्व हो । यस दिन वर्षभरिमा दिवंंगतहरूको सम्मान तथा सम्झनामा गाईको प्रतीक बनाई स्थानीय नगर परिक्रमा गराइन्छ ।
धार्मिक परम्पराअनुसार भाद्र प्रतिपदाको एकदिनमात्र यमलोकको ढोका खुला हुने जनविश्वास रहँदै आएको छ । त्यस्तै मृतात्मालाई गाईको प्रदर्शनले गाईको मद्दतबाट उक्त दिन यमलोकमा प्रवेश हुने जनविश्वास छ ।
त्यसैले नेपालभाषी समुदाय यस दिन गाईको प्रतीक वा जिउँदो गाईलाई नै नगर परिक्रमा गराउँछन् । धार्मिक ग्रन्थ तथा किवंदन्तीहरूका अनुसार गाईजात्राको दिन गाई प्रदर्शन गर्ने क्रममा उक्त गाईले हालेको एक पाइला बराबर एक अश्वमेघ यज्ञ गरे बराबरको फल प्राप्त हुन्छ ।

पन्ध्रौं शताब्दीदेखि गाईजात्रा

काठमाडौं उपत्यकामा लिच्छविकालअघि नै गाईजात्रा चलेको पाइन्छ । जसलाई काठमाडौंमा प्रताप मल्ल, ललितपुरमा सिद्धिनरसिंह मल्ल र भक्तपुरमा जगतप्रकाश मल्लले विस्तृत गरेको इतिहासविद् तथा संस्कृतिविद्हरु बताउँछन् ।
संस्कृतिकर्मी ओमप्रसाद धौभडेलले गोपालराज वंशावलीमा पन्ध्रौं शताब्दीतिरै नेपालमा गाईजात्रा चलनचल्तीमा आइसकेको उल्लेख गरिएको जानकारी दिए ।
‘लिच्छविकालअघि नै काठमाडौं उपत्यकाका नेपालभाषी समुदायले एउटा पर्वको रुपमा गाईजात्रा मनाइसकेका थिए’, उनले भने, ‘मल्ल राजाहरूले यसलाई परिमार्जन गरी विस्तृतमात्रै गरेका थिए ।’

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073 |

Design & Host By SITEMANDU.COM

Powered By GO BHAKTAPUR.COM