Connect with us

SPECIAL

आज सा पारु अर्थात गाईजात्रा

Avatar

Published

on

भक्तपुरको गाईजात्रा । इन डेप्थ फाइल तस्बिर

भक्तपुर । आज भाद्र शुक्ल प्रतिपदा । काठमाडौं उपत्यकालगायत नेपालभाषीहरूको बसोबास रहेको ठाउँमा यस दिन गाईजात्रा भव्यताका साथ मनाइँदै आएको छ । गाईजात्रालाई नेपालभाषामा ‘सा पारु’ पनि भनिन्छ । सा भनेको गाई र पारु भनेको प्रतिपदा । प्रत्येक वर्षको भाद्र शुक्ल प्रतिपदामा गाईजात्रा मनाइने भएकाले यस दिनलाई सा पारु भनिएको हो ।
नेवारी समुदायमा सा पारु मृत्यु संस्कारसँग सम्बन्धित पर्व हो । यस दिन वर्षभरिमा दिवंंगतहरूको सम्मान तथा सम्झनामा गाईको प्रतीक बनाई स्थानीय नगर परिक्रमा गराइन्छ ।
धार्मिक परम्पराअनुसार भाद्र प्रतिपदाको एकदिनमात्र यमलोकको ढोका खुला हुने जनविश्वास रहँदै आएको छ । त्यस्तै मृतात्मालाई गाईको प्रदर्शनले गाईको मद्दतबाट उक्त दिन यमलोकमा प्रवेश हुने जनविश्वास छ ।
त्यसैले नेपालभाषी समुदाय यस दिन गाईको प्रतीक वा जिउँदो गाईलाई नै नगर परिक्रमा गराउँछन् । धार्मिक ग्रन्थ तथा किवंदन्तीहरूका अनुसार गाईजात्राको दिन गाई प्रदर्शन गर्ने क्रममा उक्त गाईले हालेको एक पाइला बराबर एक अश्वमेघ यज्ञ गरे बराबरको फल प्राप्त हुन्छ ।

पन्ध्रौं शताब्दीदेखि गाईजात्रा

काठमाडौं उपत्यकामा लिच्छविकालमै गाईजात्रा चलेको पाइन्छ । जसलाई काठमाडौंमा प्रताप मल्ल, ललितपुरमा सिद्धिनरसिंह मल्ल र भक्तपुरमा जगतप्रकाश मल्लले विस्तृत गरेको इतिहासविद् तथा संस्कृतिविद्हरु बताउँछन् ।
संस्कृतिकर्मी ओमप्रसाद धौभडेलले गोपालराज वंशावलीमा पन्ध्रौं शताब्दीतिरै नेपालमा गाईजात्रा चलनचल्तीमा आइसकेको उल्लेख गरिएको जानकारी दिए ।
‘लिच्छविकालमै काठमाडौंका नेपालभाषी समुदायले एउटा पर्वको रुपमा गाईजात्रा मनाइसकेका थिए’, उनले भने, ‘मल्ल राजाहरूले यसलाई परिमार्जन गरी विस्तृतमात्रै गरेका थिए ।’
उनका अनुसार काठमाडौंका प्रताप, पाटनका सिद्धिनरसिंह र भक्तपुरका जगतप्रकाश मल्लले आ–आफ्नो क्षेत्रमा मनाइने गाईजात्रा प्रत्येक राजदरबार अगाडिबाट जानुपर्ने व्यवस्था गरेका थिए । जसअनुसार काठमाडौं उपत्यकामा हुने गाईजात्रा प्रत्येक राजदरबार भएर नगर परिक्रमा गर्ने चलन आजसम्म कायम रहँदै आएको छ ।

कसरी मनाइन्छ गाईजात्रा ?

गाईजात्राको दिन गाईको प्रतीक बनाउनुअघि मृतकको नाममा क्रियापुत्रद्वारा संकल्प गराई पुरोहितले विधिपूर्वक पूजाआजा सम्पन्न गर्छन् । पुरोहितले पूजाकै क्रममा गाईको प्रतीक बनाउन लगाउँछन् र तयार भएको गाई आ–आफ्नो क्षेत्रको सम्बन्धित एवं निश्चित क्षेत्रमा परिक्रमा गराइन्छ ।
काठमाडौं उपत्यकामध्ये भक्तपुरमा यो गाईजात्रा नौ दिनसम्म मनाइन्छ । पूर्णिमाको दिनदेखि नै यो जात्रा मनाइने भएकाले यसलाई नेपालभाषामा गुन्हु पुन्ही (नौदिने पूर्णिमा) भनिन्छ ।
गाईको प्रतीक प्रदर्शन सँगसँगै विशेष किसिमको संगीतको तालमा लठ्ठी जुधाएर घिन्ताङघिसी नाच नाच्नु भक्तपुरको गाईजात्राको विशेष आकर्षण हो । पहिले पुरुषमात्रै सहभागी हुने यस नाचमा आजभोलि महिलासँगै स्वदेशी तथा विदेशी पनि सहभागी हुन थालेका छन् । महिलाले नाच्न नहुने समयमा पुरुष नै महिलाको भेषमा नाचमा सहभागी हुन्थे ।
भक्तपुरमा मृतक महिला, पुरुष र बच्चाको आधारमा गाईको प्रतीक बनाउँछन् । गाईको चित्र छापिएको छापा, परालले बनाइएको एकजोडा सिङ, चवरको पंखा, छाता, विभिन्न फूल र कागजबाट बनाइएका सिंगार्ने वस्तुले सजाइदिएर केटा भए सेतो वा अन्य रंगको नयाँ कपडा र केटी भए ‘हाकुपतासी’ (छेउमा रातो धर्सो भएको कालो रंगको सारी) वा सारीले बेरेर गाईको प्रतीक बनाइन्छ । जसमा उमेरअनुसार डोकः सा र ताहा सा बनाइन्छ ।
यसरी डोकः सा र ताहा सा तयार भएपछि घरको मूलढोका अगाडि पुरोहित वा ब्राह्मणले मृतकको क्रिया गर्ने क्रियापुत्रलाई संकल्प गराई विधिबमोजिम पूजा गरेपछि त्यसलाई नगर परिक्रमा गर्न पठाइन्छ ।

तलेजुको घिन्ताङघिसी

जनै पूर्णिमाको दिन राती भक्तपुर तलेजुको घिन्ताङघिसी निकालिन्छ । तलेजुको घिन्ताङघिसी नाच ननिकालेसम्म भक्तपुरमा गाईजात्रा सुरु भएको मानिँदैन । तलेजुको घिन्ताङघिसी नाचबाट सुरु भएको गाईजात्रा पर्व भक्तपुर नपा वडा नं ४ लाकोलाछेंबाट परालले बनाइएको भैरवको गाई निकालेर नगर परिक्रमा गराइएपछि पहिलो दिनको जात्रा विधिवत सम्पन्न हुन्छ ।
उक्त भैरवनाथको गाई भक्तपुरको टौमढी, भक्तपुर दरबार क्षेत्र र दत्तात्रयमा तीनपटकसम्म घुमाइन्छ ।
पहिलो दिन सांस्कृतिक र संस्कारगत गाईजात्रा सकिएपछि दोस्रो दिन खाली हुन्छ । तेस्रो दिनदेखि हास्यव्यंग्य, घोचपेच हुने जात्रासँगै परम्परागत र मौलिक विभिन्न नाचहरू प्रदर्शन गरेर गाईजात्रा मनाइन्छ । यो क्रम एक सातासम्म चल्छ ।

यस वर्ष औपचारिकतामात्रै !

तर यस वर्ष कोरोना भाइरस संक्रमणको सम्भावना भएकाले भक्तपुरमा गाईजात्रालाई औपचारिकतामा सीमित गर्न आग्रह गरिएको छ । भक्तपुर नपामा बसेको सर्वपक्षीय बैठकले कोरोना भाइरस संक्रमण हुन नदिन गाईजात्रामा घिन्ताङघिसीलगायतका सांस्कृतिक एवं परम्परागत तथा आधुनिक नाच ननिकाल्न आह्वान गरेको हो ।
संस्कारगत गाईजात्रामात्र गर्न उक्त बैठकले विशेष आह्वान गरेको छ ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073 |

Design & Host By SITEMANDU.COM

Powered By GO BHAKTAPUR.COM