भक्तपुर । आधुनिक गीतका अमर गायक स्वर्गीय अरुण थापालाई भक्तपुरमा स्मरण गरिएको छ । उनको २१ औं स्मृति दिवस मनाएर स्व. थापालाई स्मरण गरिएको हो । सदाबहार नेपाली आधुनिक गीतहरुका गायक स्व. थापाको स्मृतिमा शुभारम्भ द म्युजिकल जर्नी र भक्तपुर सांगीतिक समाजले सांगीतिक श्रद्धाञ्जली गरेको हो ।
कार्यक्रममा स्व. थापाका कालजयी ९ वटा गीत प्रस्तुत गरिएको थियो । भक्तपुरका स्थानीय कलाकारहरु गौतम श्रेष्ठ, विनय कोजु, अञ्जना श्रेष्ठ, नवीन्द्रलाल कर्माचार्य, गंगाराम रञ्जितकार, प्रवीण शाही, सहकुल अच्छामी, रामहरि ताम्राकार, अधिश्री कसपाल, सर्वश्री कसपाल र रोशन धौभडेलले म्युजिकल ट्र्याकमा स्व. थापाका गीत प्रस्तुत गरेका थिए । स्व. थापाका ‘करोडौं मुटुहरुको एउटै ढुकढुकी नेपाल’, ‘चोट के हो, व्यथा के हो ?’, ‘जति माया लाए पनि, जति कसम खाए पनि’, ‘म रोए पनि तिमी हाँसिदिनु’, ‘दोष कसैलाई दिन चाहन्न’, ‘आँखाको नीद चोरी लाने’, ‘ऋतुहरुमा तिमी हरियाली बसन्त हौ’, ‘लाग्न थाल्यो जीवनमा मेरो कथा यस्तो’, ‘साँझको जुनसँगै आउँछौ तिमी भनेर’ बोलका गीतहरु प्रस्तुत गरेर उनप्रति सांगीतिक श्रद्धाञ्जली दिइएको थियो ।
भक्तपुर सांगीतिक समाजका अध्यक्ष प्रवीण शाहीले कोरोना भाइरस संक्रमण नियन्त्रण तथा व्यवस्थापन गर्न सरकारले घोषणा गरेको लकडाउनकै बीच सीमित कलाकार तथा साहित्यकारहरुको उपस्थितिमा उक्त कार्यक्रम गरिएको जानकारी दिए । भक्तपुर नपा १ दूधपाटीस्थित होटल टिसा इनमा गरिएको कार्यक्रममा गीत प्रस्तुत गर्न चाहने कलाकारहरुलाई सामाजिक सञ्जाल फेसबुक ग्रुपमार्फत छनोट गरिएको उनले बताए ।
कार्यक्रम समाजका सल्लाहकार प्राज्ञ ध्रुव मधिकर्मी, वरिष्ठ गीतकार सुवासचन्द्र ढुङ्गेलको पनि उपस्थिति थियो । स्व. थापाले गाएको चोट के हो, व्यथा के हो गीतको रचना गीतकार ढुंगेलले गरेका थिए । गीतकार ढुंगेलले स्व. थापाको मूल्यांकन गर्दा धेरै राम्रा पक्ष रहेको र थोरैमात्र नराम्रो पक्ष भएको सुनाए । नेपालको सांगीतिक इतिहासमा थोरै गीत गाएर पनि अत्यधिक चर्चा कमाउने निकै कम गायकमा स्व. अरुण थापा पनि एक रहेको उनको भनाइ थियो ।
प्राज्ञ मधिकर्मीले कला र कलाकारितामा भक्तपुर विस्तारै पुनः अगाडि बढेको सुनाए । उनले मौका र अवसरले कलाकारको कला चम्कँदै आएको स्पष्ट पारे ।
क्यान्सरका कारण ४७ वर्षको उमेरमा मृत्यु भएका गायक थापालाई विछोड र वेदनाका गीतका पर्याय मानिन्छ । शुभारम्भ द म्युजिकल जर्नीले गायक स्व. थापाको सम्मानमा प्रत्येक वर्षझैं स्मृति कार्यक्रम गर्दै आएको छ । भक्तपुर सांगीतिक समाजले भने गएको तीन वर्षदेखि जर्नीसँग सहकार्य गर्दै आएको हो ।