Connect with us

SPECIAL

कोभिड–१९, एकान्तवास र मौका

Avatar

Published

on

राजेश भोयद्यो
दुई महिनाभन्दा अधिक समयको एकान्तबास त्रासदीपूर्ण छ । यो समय कसरी बाँच्ने र बचाउने भन्नेमा नै केन्द्रित रह्यो । ब्यस्त समयबाट प्रकृतिले अनिवार्य जन्मघर फिर्ती तथा पारिवारिक जमघटको अवस्था सृजना भएको देखिन्छ । आजको समयमा गाउँघरबाट रहर वा बाध्यताबस सहरिएका तथा विदेशिएका (भारततिर) धेरै गाउँले तथा आफन्तहरू गाउँघर पुगेका छन् । यो लहर अझै केही महिना चल्ने पक्का छ ।
हरेक सिक्काको दुई पाटा रहन्छन् । त्यसरी नै यो गाउँ फिर्ती र जमघटको विपरीत पाटोबाट यो दुई महिनामा धेरै चर्चा परिचर्चा तथा जानकार हामी भइसकेका छौं । अब यसबाट हुन र लिन सकिने सकारात्मक पक्षमा चर्चा गरौं ।

पारिवारिक सहलह

यो समय सबै परिवारका सदस्य एकपटक सबै घर स्थानमा जम्मा भएका छन् । अब यसै समयमा घरपरिवारको सुखदुःखका बारे चर्चा परिचर्चाको समय मिलेको छ । अन्य समयमा झैं बाहिरिने कामकाजको ध्यान यो समयमा छैन । यो समय एकान्तबासकै क्रममा घरगाउँमा सीमित रहने हुँदा परिवारमा सुमधुर सम्बन्धको व्यवस्थापन गर्न सहज हुनेछ । पहिले बिग्रेका वा खट्केका सम्बन्धहरूको पुनः ताजकीकरण गर्न उपयुक्त समय हुन सक्दछ । यसरी नै अब एकपटक आफ्नो गाउँठाउँको बाँझो खेतले ताजकी पाउने भएको छ । बुढो आमाबुबाले एकपटक छोराछोरी तथा बुहारी यिनीहरूको यस वर्ष खेतीपातीका कार्यमा साथ पाउँदा पहिलेका वर्षमा कामकाजमा हुने एक्लोपन भुलाउने छ । सहरबजारमा रहेका छोराबुहारी तथा साना बाबुनानीहरूले समेत गाउँघरको दुःखको आत्मसाथ गर्नेछन् । यसरी यो एकान्तबासको समयमा पारिवारिक सम्बन्ध सुधार गर्न सकिने देखिन्छ ।

दाम्पत्य जीवनमा सुधार

कार्यव्यस्तताका कारण श्रीमान श्रीमतीको सम्बन्धमा चिसोपना आउनु स्वाभाविक छ । आज यो समय त्यस्ता सम्बन्धहरुमा नयाँ आयाम थप्न सकिनेछ । जीवनका गोरेटामा आइपरेका एकापसका दुःखसुखका क्षण सम्झिन हामीलाई समय मिलेको छ । एक–अर्काको दुःख–गुनासो सुन्ने र सुनाउने यो नै सुनौला समय हुन सक्छ । एक–अर्कोमाथिका शंका उपशंकाहरुको निराकरण यसै समयमा गर्न सके आउँदो समय थप ऊर्जावान बन्ने छ ।

सन्तानलाई सिकाउने मौका

गाउँघरमा आज परिवारका सबै सदस्य एकै घरकोठामा रहँदा आफ्ना सन्ततिहरूलाई आफ्नो भावी योगनाअनुसार तयार गर्ने उपयुक्त समय भएको छ । छोराछोरीको आनीबानीको सूक्ष्म अध्ययन अनुसन्धान र अवलोकनबाट यो समयमा अभिभावक चुक्नु हुँदैन । प्राकृतिक रूपमै आफू सक्षम र परिवार सुरक्षित राख्न चाहेर पनि हामी बाहिरिन सक्ने अवस्था छैन । यसै समयमा बालबच्चाको राम्रो बानी तथा कुलतको लतसमेत लागेको भए सजिलै चाल पाउन सकिनेछ । यो समयले यस्तो आफ्नो तथा आफ्नो सन्ततिको कुलतको बाटोबाट अलग्याउने र त्यससम्बन्धी परामर्शको यो उपयुक्त समय हो । त्यसरी नै दैनिक दिनचर्यामा अभिभावकको दुःखबारे बालबच्चालाई परिचित गर्ने उत्तम मौका हुन सक्छ । बालबच्चामा दुःख, सुख, काम, दाम, सेवा जीवनका अभिन्न अंग हुन् भन्ने बुझाउन चुक्नु हुन्न । बाल मस्तिष्कमा दुःख, सुख, काम, दाम, सेवासम्बन्धी राम्रो छाप पार्न र त्यससम्बन्धी बानी व्यवहार विकास गर्न यस महामारीले हामीलाई मौका दिएको छ ।

बालसखासँगको भेट

बालापनमा एकै थालमा खाँदै, डाँडाकाँडा–गाईगोठ गर्दाका बालसखाहरू यो विपद्ले एकपटक फेरि एकै स्थानमा भेट गराउने साइत जुराएको छ । दसैंतिहार जस्ता महत्वपूर्ण समयमा समेत विविध कारण गाउँघर फर्कन नसकेकाहरू अहिले प्रायःजसो गाउँ पुगेका र पुग्ने क्रममा रहेका छन् । यस निश्चित समय क्वारेन्टाइनपश्चात एकै गाउँठाउँका व्यक्तिहरू यस महामारीबाट सुरक्षित हुँदै साथीभाइले फेरि आफ्नो विगत सम्झने समय पाएको छ । विछोडपश्चातको आ–आफ्नो दुःख पीडाका पल बालसखामाझ राख्दा र सुन्दाको पलको महसुस स्वर्णीम हुनेछ । साथीभाइबीचको दूरी यस समयले तोड्ने सहयोगी हुनेछ ।

आफ्नो जन्म स्थान विकासको अवसर

आज गाउँघर फेरि भरिएको अवस्था छ । ढुङ्गा–माटो खाँदासम्म पचाउन सक्ने युवाहरुको जमघटको यो समयमा टोल, गाउँ, सहरमा विकासको मूल फुटाउन सकिन्छ । धेरै समयबाट सुरु नभएका विकास निर्माण यो समयमा फत्ते गर्न हामी सक्षम छौं । गाउँ–टोलका पुरानो धारा, कुवा, पधेँरा, पाटीलगायतलाई पुनर्जीवित गर्न सक्छौं । खेतबारीसम्म सिंचाइको लागि कुलो कुलेसाहरुको मर्मतसम्भार, पुनर्निर्माण तथा स्थायीत्व गर्न सकिए गाउँ–टोलको उत्पादकत्व बढ्ने पक्का छ । पानीका विविध स्रोतहरुको संरक्षण तथा सम्बद्र्धन, बिग्रिएका, भत्केका महत्वपूर्ण मठमन्दिर, सम्पदाका धरोहरहरु, पुल–पुलेसा, बाटोघाटोलगायतको जीर्णोद्धार, पुनर्निर्माण, मर्मतसम्भार तथा नयाँ निर्माणका काम कार्य गर्न समयले सहयोग गरेको छ । गाउँ–टोलमा मिल्न र मिलाउन नसकेका पुराना समस्याहरुबारे टोलबासी, पञ्चभलाद्मीको भेलाले यो समय समाधान र निकास पाउन सक्छ । गाउँ–घर, छर–छिमेक, साँध–संधियारबीच नमिलेका समस्याहरुको समाधानका लागि उचित सरसल्लाह, राय सुझाब तथा बहस गर्न समय मिलेको छ । सदैव भाइचाराको व्यवहारको सुरुवातको लागि बिजारोपन गर्न यो समय फलदायी सावित हुनेछ । फुर्सदिला युवा जमातले आफ्नो गाउँ–टोल विकासमा नेतृत्व लिनु पर्दछ । युवाहरुले सहरबजार र विदेशमा सिकेका सीप अब आफ्नो गाउँठाउँको विकासको लागि उपयोग गर्न युवामाझ व्यापक सरसल्लाह, विचार–विमर्श तथा योजना तर्जुमा गर्ने यो उत्तम समयमा पर्छ । विदेशिएका युवाले आफूले फेरि विदेशी भूमिमा पसिना बगाउन जान नपर्नका लागि आफ्नो गाउँठाउँ र देशमै रोजगारीको सृजना गर्न अगुवा हुन जरुरी छ । आफ्नो गाउँठाउँको आफन्त, साथीभाइ, इस्टमित्र तथा बालसखाहरुबीचमै बृहत छलफल तथा योजनाबद्ध कार्यले रोजगारी सृजना गर्न यो समय बरदान सावित हुन सक्छ । आज यो विश्वव्यापी महामारीले आफ्नो जन्मस्थानको विकास गर्ने र मुहारै फेर्ने सुनौलो मौका पाएका छौं । आफ्ना सन्ततिले आफूले जस्तै रोजगारीका लागि सहरबजार चहार्न तथा विदेशिन नपर्ने अवस्थाको सृजना गर्न अब हामीले यो समयको सदुपयोग गर्नै पर्दछ ।
अरुको बारेमा चियोचर्चा, आलोचना गर्न खप्पिस हामीहरु अब आफ्नो गाउँठाउँको विकासमा आ–आफ्नो नागरिक कर्तव्य पालना गर्दै आफ्नो देश विकासशील राष्ट्रबाट विकसित राष्ट्रमा पुर्याउन चुक्नु हुँदैन । कुनै पनि विपद् तथा संकट स्वयं एक विकासको मूल भएको इतिहासले देखाउँछ । त्यसलाई हामी युवाले चिन्दै सदुपयोग गर्न चुक्नहुन्न ।

लेखक शिक्षक एवं अधिवक्ता हुन् । -सं.

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073 |

Design & Host By SITEMANDU.COM

Powered By GO BHAKTAPUR.COM