Connect with us

SPECIAL

कोभिड १९ विरुद्धको युद्धका योद्धा

Avatar

Published

on

राजेश भोयद्यो
विश्व आज एकान्तबासमा रहँदै कोभिड १९ सँगको युद्ध लडिरहेको छ । त्यसमा आ–आफ्नो स्थानमा रही तपाईं हामी युद्ध लडिरहेका छौं । स्वास्थ्यकर्मीको प्रमुख नेतृत्वमा हामी सबै जनता एकान्तबासको पूर्ण पालना गर्दै युद्ध लडेका योद्धा हौं । यो युद्धमा हाम्रो जीत अवश्यम्भावी छ ।
नेपाली यस युद्धमा हरेक व्यक्ति समाजको आ–आफ्नै महत्वपूर्ण भूमिका प्रस्ट छ । अब हामीले यो युद्धबाट एउटा सन्देश भने पक्का पाउने छौं । हामी अरूको गल्ती औंल्याउन र आलोचना गर्न तथा सल्लाह सुझाव दिन माहिर छौं । सरकारले यस्तो गर्नुपर्ने तर गरेन, स्वास्थ्यकर्मीले हेरेन, सुरक्षा निकायले बल प्रयोग ग-यो, स्थानीय निकायले कामै गर्दैन आदि इत्यादि । आजको यस संकटको घडीमा हामीले के ग-यौं त ? के हामीले आफ्नो तर्फबाट गर्नुपर्ने नियम पालना गरेका छौं ? एकपटक आफ्नो छातीमा हात राखी आफूले आफैलाई सोधेर हेर्नुस् र आफैले त्यस उत्तरको मनन गरौं ।
यो विश्व महामारीको अवस्थामा सबैले आ–आफ्नो स्थानबाट इमानदारीका साथ कर्तव्य पालना गर्ने हो भने यो युद्ध जित्न अब धेरै टाढा पक्कै छैन । कुनै एक तहको बेइमानी सम्पूर्ण समाज र राष्ट्रलाई घातक हुने निश्चित छ ।
आज पनि हामी स्थानीय तह, प्रहरी प्रशासन, स्वास्थ्यकर्मी तथा सरकारको विरुद्ध बोल्न टोलटोल र चिया पसलमा समेत भेला हुँदै विरोधका कुरा गरिरहेको देख्न र सुन्न सक्छौं । अब आफू, आफ्नो परिवार र समाजको लागि आफै त एकान्तबासमा बस्न सक्षम छैन भने उसले विरोध गर्ने नैतिकता राख्दैन कि ?
अरूको विरोध गर्न माहिर हामीले आज अरूलाई खतरामा पार्दैछौं । शिक्षित–अशिक्षित दुवै तहका व्यक्तिहरू आज मानव अधिकार, स्वतन्त्रताको अधिकार भन्दै हिँड्डुल, यात्रा गर्दै एक स्थानको संक्रमण अन्य स्थानमा पु-याउने बाहक बनेका छन् । यसमा उनीहरू सुरक्षित हुने आफ्नो मानव अधिकार भन्दै अन्य हजारौं व्यक्तिको आफ्नो जीवन जिउने अधिकारमाथि धावा बोलेका छन् ।
देशको उच्च ओहोदाकादेखि मजदुर वर्गसमेतले आ–आफ्नो क्षेत्र अधिकारको दुरुपयोग गर्नु संक्रमण फैलनुको प्रमुख कारण हुन पुगेको प्रस्ट छ । अत्यावश्यक सेवाका सवारीदेखि सरकारी–निजी सवारीसाधनको चरम दुरुपयोग गर्दै एक स्थानबाट अर्को स्थानसम्म संक्रमित ओसारपसार एकान्तबासको पूर्ण पालना गर्ने बहुसंख्यक नागरिकलाई विनागल्तीको सजाय सावित भएको छ । करिब २ महिनाको एकान्तबासपछि सुरक्षित महसुस गरिरहेको बेला अनायसै यस्ता केही व्यक्तिहरूको कारणले थुप्रै सुरक्षित स्थानहरूमा समेत खतराको घण्टी बजाएका छन् ।
अब हामी यस युद्धका सम्पूर्ण योद्धा आ–आफ्नो स्थानबाटै सुरक्षितका साथ सक्रिय युद्ध लड्नुपर्ने आवश्यक भएको छ । हामीले आफ्नो परिवार तथा समाजको सुरक्षा गर्न आफै अग्रसर हुन जरुरी छ । सबै व्यक्तिहरूले आ–आफ्नो टोल छिमेकमा नयाँ अनुहारलाई कोभिड १९ को परीक्षणपश्चातमात्र प्रवेश दिनुपर्ने देखियो । अन्तरजिल्ला, अन्तरप्रदेश ओहोरोदोहोरो गर्नेलाई आएकै स्थानमा फर्काउने व्यवस्था गर्नुप-यो र आउजाउ गर्नेले समेत आ–आफ्नै स्थानमा सुरक्षित ढंगले बस्दै सहयोग गर्नुपर्ने देखियो । आफूले गर्दा आफ्नै बस्ती, सहरले संक्रमणको त्रासमा बस्न नपरोस् भनी केही समय आ–आफै दुःखकष्ट सही अरूलाई सुरक्षित बनाउनतर्फ लाग्नुपर्दछ ।
अब सरकारी तहबाट भएका के कति कुरा राम्रा नराम्रा भए हामीले हिसाबकिताब गर्नै पर्दछ । सम्पूर्ण सरकारका व्यक्ति हामीद्वारा निर्वाचित हुन् । त्यसको हिसाबकिताब हामीले चुनावमा गर्नै पर्दछ । नेपाल सरकार जनतामा निहित छ । समयमा हामी नेपाली जनताले यसको हिसाब माग्ने र आफ्नो अधिकार प्रयोग गर्न चुक्नु हुँदैन । अब चुनावमा यसको हिसाब हामी पार्टीगत रूपमा गर्छौं भने यस्तो समयमा हल्ला गर्नु समय सापेक्ष पक्कै नहोला कि ?
अतः यो कोभिड १९ विरुद्धको युद्धका हामी सबै योद्धा फेरि एकपटक सामाजिक एवं भौतिक दूरी कायम गर्दै आ–आफ्नो स्थानमै सुरक्षित हुँदै लड्नु अपरिहार्य छ । यो युद्धको जीत हाम्रो सुनिश्चित छ । घरैमा बसौं र बसाऔं । आफू सुरक्षित होऔं र बचौं तथा अरूलाई सुरक्षित बनाऔं । अरूलाई पनि बाँच्ने अधिकारको सुनिश्चित गरौं ।

लेखक शिक्षक हुन् । –सं.

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073 |

Design & Host By SITEMANDU.COM

Powered By GO BHAKTAPUR.COM