Connect with us

SPECIAL

कोभिड–१९ को महामारी : नेपालमा बौद्धिक सम्पत्ति, पेटेन्टको भूमिका

Avatar

Published

on

Web Picture

अधिवक्ता राजकुमार सुवाल
एल.एल.एम., बौद्धिक सम्पत्ति कानुन

समाजोपयोगी चिजवस्तुको आविष्कार तथा प्रवद्र्धनको लागि सर्जकलाई प्रदान गरिने प्रोत्साहनको रुपमा बौद्धिक सम्पत्तिलाई लिइएको पाइन्छ । बौद्धिक सम्पत्ति समाजोपयोगी नवीन एवं मौलिक आविष्कार तथा सृजनाका लागि त्यस्तो सृजनाका सर्जकलाई प्रदान गरिने पुरस्कार हो । त्यस्तो सृजना आफैमा विशिष्ट हुन्छ, जसले समाजको आवश्यकता एवं समस्या निराकरण गर्न तथा विश्व जनमानसले मानव विकास क्रमलाई एक पाइला अगाडि बढाउन मद्दत मिलेको हुन्छ र सम्बृद्धिको सिंढी चढ्न मद्दत गरेको हुन्छ । बौद्धिक सम्पत्ति सर्जकको समाजोपयोगी सृजनाको सम्भावित गोप्यता भंग गरी समाजलाई उपलब्धता सहज होस् भन्नाका खातिर राज्य संयन्त्रद्वारा त्यस्ता सर्जकलाई निजको उपयोगी सूचना, विधि, प्रविधि वा युक्ति समाजलाई उपलब्ध गराएबापत उपलब्ध गराएको अभौतिक साम्पत्तिक अधिकारको प्रस्ताव हो, जसले सर्जकलाई आफ्नो सृजना गोप्य नराखी समाजलाई तत्काल उपलब्ध गराउन उत्साहित बनाएको हुन्छ । बौद्धिक सम्पत्तिको पेटेन्टलगायतका अधिकारको प्रोत्साहन पाई त्यस्तो सर्जकले आफ्नो सृजना गोप्य राखी आफैमा सीमित नगरी समाजलाई उपलब्ध गराउन राजी भएको हुन्छ । जसको अभावमा त्यस्तो उपयोगी एवं नवीन तथा मौलिक ज्ञान, सीप एवं दक्षता सर्जकको जीवनसँगै समय अन्तरालमा विलिन भएर जाने सम्भावना प्रवल हुन्छ । पेटेन्ट जस्तो बौद्धिक सम्पत्तिले आविष्कारकको अथक मेहनत, श्रम, सीप, समय एवं स्रोतको लागत जसको प्रतिफलको सुनिश्चितता त्यस्तो आविष्कारको प्रयास असफल भएको खण्डमा शून्यतुल्य हुन्छ तथापि आविष्कारक त्यस्तो जोखिम मोलेर पनि लगातार अथक मेहनत गरी धेरै–थोरै सफलताका सम्भावनाबीच प्राप्त उपलब्धि र आविष्कारको कदरस्वरुप निश्चित अवधिको लागि त्यस्तो आविष्कारको न्यायिक शोषण तथा उपयोगको एकाधिकार प्रदान गरिएको हुन्छ ।
विज्ञान र प्रविधिको क्षेत्रमा समाजोपयोगी कुनै नवीन एवं प्राविधिक प्रक्रियाद्वारा आविष्कार गरिएको विधि, वस्तु वा विधिद्वारा सृजना गरिएका चिजवस्तुको सम्बन्धमा त्यस्तो आविष्कारकले सम्बन्धित पेटेन्ट कार्यालय (नेपालमा उद्योग विभाग) विस्तृत विवरण (पेटेन्ट स्पेसिफिकेसन) सहित पेश गरेपछि त्यस्तो आविष्कारकलाई सीमित अवधिको लागि प्रदान गरिने सो आविष्कारको न्यायिक शोषण एवं उपयोगको एकाधिकारलाई पेटेन्ट भनिन्छ । त्यसरी पेटेन्ट प्राप्त गर्न आविष्कारकले पेश गर्ने पेटेन्टसम्बन्धी सूचना, कागजात पेटेन्ट स्पेसिफिकेसन त्यस्तो आविष्कारकलाई पेटेन्ट प्रदान गरेपछि सार्वजनिक रुपमा उपलब्ध गरिएको हुन्छ । जसको गैरनाफामूलक एवं गैरव्यावसायिक अध्ययन अनुसन्धान एवं उपयोग गर्न पेटेन्टसम्बन्धी कानुनले अनुमति दिएको हुन्छ । तर त्यसरी पेटेन्ट दर्ता गरिएको विधि वा चिजवस्तुको उपयोग गरेर कुनै तेस्रो व्यक्तिले गैरव्यावसायिक अध्ययन अनुसन्धानबाट थप नयाँ विषयवस्तु विधिको आविष्कार गरिएको अवस्थामा पनि पहिल्यै दर्ता गरिएको पेटेन्ट मिश्रित आविष्कारको व्यवसायिक उपयोग गर्न भने त्यस्तो पेटेन्ट धनीको अनुमति अनिवार्य हुन्छ ।
पेटेन्टसम्बन्धी अधिकार कानुनले निर्धारण गरेबमोजिम मात्र रहेको हुन्छ भने हरेक देशको पेटेन्टसम्बन्धी कानुन त्यस्तो देशको राजनैतिक सीमाभित्र सीमित भएको हुन्छ । तसर्थ पेटेन्टसम्बन्धी कानुन सधै राष्ट्रिय सीमामा सीमित रहेको हुन्छ । यसको अर्थ नेपालमा कुनै पेटेन्टको संरक्षण नेपालको पेटेन्ट डिजायन र टे«डमार्क ऐन २०२२ बमोजिम मात्र प्राप्त हुन्छ र यसको लागि संसारको कुनै कुनामा कसैले गरिएको आविष्कार नेपालको पेटेन्टसम्बन्धी कानुनबमोजिम नेपालमा दर्ता नगरी नेपालमा त्यसको संरक्षण प्राप्त हुँदैन । तर आविष्कारकले निजको आविष्कारमाथि पेटेन्ट प्राप्त गर्न कुनै देशको पेटेन्ट कार्यालयमा पेश गरेको पेटेन्टसम्बधी सूचना पेटेन्ट स्पेसिफिकेसन त्यस्तो देशले पेटेन्ट प्रदान गरेपछि सार्वजनिक रुपमा उपलब्ध गरेको हुन्छ र सो कुरा संसारको कुनै पनि देशमा रहेको व्यक्तिले उपयोग गर्नसक्छ ।


यस अवस्थामा आविष्कारकले आफ्नो आविष्कार जुन जुन देशमा संरक्षण प्राप्त गर्न जरुरी हुन्छ सो सबै देशमा आफ्नो आविष्कारको दर्ता गरी पेटेन्ट प्राप्त गर्नुपर्ने हुन्छ । पेटेन्ट दर्ता प्रक्रियामा लाग्ने समय र स्रोतको अस्वाभाविक भारको कारण संसारका धेरैजसो आविष्कारकले आफ्नो आविष्कार सबै देशमा दर्ता गर्न सकेका हुँदैनन् । यसको सहजताका लागि सन् १९७० मा पेटेन्ट कोअपरेसन ट्रिटी बनेर २४ जनवरी १९७८ बाट लागू भएको अवस्था छ । जसमा हालसम्म विश्वका १५३ राष्ट्रले सदस्यता लिइसकेका छन् । जसमा छिमेकी मुलुक चीन र भारत पनि पर्दछ । तर नेपालले हालसम्म सो सन्धिमा सदस्यता प्राप्त गरेको अवस्था छैन । उक्त सन्धिको प्रशासन विश्व बौद्धिक सम्पत्ति संगठनले गरेको छ । यस सन्धिको सदस्य राष्ट्रहरुबीच आफ्नो नागरिक वा आफ्नो देशका स्थायी बासिन्दाले आविष्कार गरेको विधि, चिजवस्तुको अन्तर्राष्ट्रियस्तरमा संरक्षण प्राप्त गर्न अलग अलग देशमा अलग अलग निवेदन नदिई एउटै आवेदनमा आफूले संरक्षण प्राप्त गर्न चाहेको देशको विवरण र आवश्यक विवरण भरी सम्बद्ध सदस्य राष्ट्रको पेटेन्ट कार्यालयमा निवेदन दिई सो कार्यालयमार्फत वा विश्व बौद्धिक सम्पत्ति संगठनमा सीधै आवेदन दिई अन्तर्राष्ट्रियस्तरमा पेटेन्ट दर्ता गर्न आवश्यक प्रक्रिया पूरा गर्न मद्दत गर्दछ । यस प्रक्रियामा विश्व बौद्धिक सम्पत्ति संगठनले अन्तर्राष्ट्रिय पेटेन्ट आवेदनको प्रशासन गर्ने क्रममा सो संगठनमा पेश भएको पेटेन्टसम्बन्धी सूचना, कागजात पेटेन्ट स्पेसिफिकेसन त्यस्तो आविष्कारकलाई पेटेन्ट प्रदान गरेपछि त्यसको रेकर्ड संसारको अन्य देशमा पेटेन्ट दर्ता गर्दा त्यस्तो आविष्कारमा नवीनता रहे नरहेको जाँच गर्नका लागि आवश्यक विश्लेषण कार्यका लागि उपलब्ध गरिएको हुन्छ । विश्व बौद्धिक सम्पत्ति संगठनमा मात्र वार्षिक लाखौंको संख्यामा पेटेन्ट दर्ताको लागि आवेदन गरेको हुन्छ । जसमध्ये सन् २०१९ मा मात्र संसारकै बढी चीनले ५८९९० वटा पेटेन्ट आवेदन विश्व बौद्धिक सम्पत्ति संगठनमा पेश गरेको अवस्था छ । विश्व बौद्धिक सम्पत्ति संगठनमा मात्र हाल ८० करोडभन्दा बढीको संख्यामा पेटेन्ट आवेदन पेश गरेको तथ्याङ्क रहेको छ ।
कोभिड–१९ को महामारीको वर्तमान अवस्थामा यस परिस्थितिसँग जुझ्न विश्व बौद्धिक सम्पत्ति संगठनका महानिर्देशक फ्रान्सिस गुरीले हालै अप्रिल २० मा संगठनको वेबपेजको जततउकस्ररधधध।धष्उय।ष्लतरउबतभलतकअयउभरभलर मा हालसम्म पेटेन्ट दर्ताका लागि प्राप्त भएको कोभिड–१९ को महामारीसँग जुझ्न उपयोगी आविष्कारहरुलगायत अन्य पेटेन्ट आवेदनहरु आवश्यक रुपमा खोज गर्न मिल्ने गरी पेटेन्टस्कोप आयोजना सार्वजनिक गरेका छन् । जसमा हाल देखिएको कोभिड–१९ को महामारीसँग जुझ्न आवश्यक पर्ने सम्भावित विधि, प्रविधि, वस्तुको स्थानीय उत्पादनमा सकारात्मक भूमिका निभाउन र अन्य आवश्यक व्यवस्थाको लागि उपयोगी हुनेछ । यसले विश्वभरि सम्बद्ध स्वास्थ्यकर्मी, वैज्ञानिक, इञ्जिनियर, नीति निर्माता, उद्यमी व्यवसायीलगायत सर्वसाधारणलाई कोभिड–१९ को महामारीसँग जुझ्न यसको पहिचान, नियन्त्रण, उपचार एवं निराकरणमा मद्दत मिल्ने अपेक्षा गरिएको छ । जसमा दसौं हजार आविष्कारका सूचना अलग अलग भाषामा उपलब्ध गराएको छ । जसले सम्बद्ध व्यक्तिले आफू अनुकूल आवश्यक प्रविधिको विकास गर्न सक्ने छ । विश्व बौद्धिक सम्पत्ति संगठनमात्र होइन विश्वको करिब करिब सम्पूर्ण राष्ट्रको पेटेन्ट कार्यालयहरुमा पेटेन्ट दर्ताका लागि पेश भएको पेटेन्टसम्बन्धी सूचना, कागजात पेटेन्ट स्पेसिफिकेसन त्यस्तो आविष्कारकलाई पेटेन्ट प्रदान गरेपछि सार्वजनिक रुपमा उपलब्ध गरेको हुन्छ भने विश्वका विकसित मुलुकहरुले त्यस्तो सूचना आफ्नो कार्यालयको वेबसाइटमा उपलब्ध गराएका हुन्छन् ।
यस अवस्थामा विश्व बौद्धिक सम्पत्ति संगठन र अन्य मुलुकमा पेटेन्ट दर्ताका लागि पेश भएको आविष्कार र सोको पेटेन्टसम्बन्धी सूचनासम्बन्धी कागजात, पेटेन्ट स्पेसिफिकेसन त्यस्तो आविष्कारकलाई पेटेन्ट प्रदान गरेपछि सार्वजनिक रुपमा उपलब्ध हुने पेटेन्टसम्बन्धी कानुनी व्यवस्था रहेको छ । त्यस्तो सम्पूर्ण पेटेन्टको संरक्षण सम्बन्धित राष्ट्रिय कानुनमा सीमित हुने भएको र नेपालको पेटेन्टसम्बन्धी कानुनले नेपालमा दर्ता नगरिकन विदेश आविष्कारको पेटेन्ट नेपालमा संरक्षण नहुुने व्यवस्था गरेको हुँदा नेपालमा हालसम्म दर्ता कायम रहेको ७७ वटा पेटेन्टमध्ये करिब ४० प्रतिशतको संरक्षण अवधि समाप्त भएको तथ्यलाई हेर्ने हो भने सो दर्ता गरी संरक्षणको अवधि बाँकी रहेका पेटेन्टबाहेक विश्व बौद्धिक सम्पत्ति संगठनलगायत संसारको कुनै पनि देशमा पेटेन्ट दर्ताका लागि पेश भएको आविष्कार र सोको पेटेन्टसम्बन्धी सूचनासम्बन्धी कागजात, पेटेन्ट स्पेसिफिकेसन त्यस्तो आविष्कारकलाई पेटेन्ट प्रदान गरेपछि सार्वजनिक रुपमा उपलब्ध रहेको अवस्था छ र सोको नेपालमा उपयोग गर्न कुनै कानुनी अड्चन नरहेको हुँदा त्यस्तो सूचना र प्रविधि विना कुनै आर्थिक दायित्व बहन गरी सित्तैमा उपयोग गरी नेपालको आन्तरिक उपयोगको लागि प्रयोग गर्न सकिन्छ । यसरी प्रयोग गर्दा कानुनतः मान्य कार्य भएको हुँदा यसले हालसम्म संसारमा उपलब्ध कोभिड–१९ को महामारीसँग जुझ्न यसको पहिचान, नियन्त्रण, उपचार एवं निराकरणमा मद्दत मिल्ने कुनै विधि, प्रविधि, तौरतरिका, चिजवस्तु, उपकरण आदि निर्माणका उपायसमेतको नेपालमै उत्पादन तथा उपयोग गर्न नेपालमा उपलब्ध मानव संशाधन उपयोग गरी हामीसँग उपलब्ध साधन स्रोतको परिचालन गरी नेपाल सरकार, सार्वजनिक संस्थान, गैरसरकारी संघसंस्था, विश्वविद्यालय, अनुसन्धान संस्थान, निजी क्षेत्र, उद्योग व्यावसायिक क्षेत्रलगायतले अगाडि बढ्न बौद्धिक सम्पत्ति, पेटेन्टसम्बन्धी कानुन तथा प्रणालीले हामीलाई मद्दत गरेको अवस्था छ । यस अवसरको लाभ उठाई नेपालमा हालको कोभिड–१९ को महामारीसँग जुझ्नका लागि सबै पक्षले हौसला प्राप्त गरी आआफ्नो क्षेत्रबाट आवश्यक र सम्भावित विधि, प्रविधि तौरतरिका, चिजवस्तु, उपकरण आदि विकास गरी आम नागरिकको स्वास्थ्य संकटमोचन गर्न, जनताको स्वास्थ्य रक्षा गरी सवल समाजको निर्माण र समृद्ध नेपाल निर्माणमा हौसला मिलोस् । यही कामना !

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073 |

Design & Host By SITEMANDU.COM

Powered By GO BHAKTAPUR.COM