Connect with us

SPECIAL

गंगा लिगललाई सिर्जना अभियान सम्मान

Published

on

वरिष्ठ साहित्यकार गंगा लिगलाई सिर्जना अभियान सम्मान प्रदान गर्दै प्राज्ञ माया ठकुरी । तस्बिर : ईश्वरकाजी खाइजू

भक्तपुर । रुपन्देहीको भैरहवाकी वरिष्ठ साहित्यकार गंगा लिगललाई भक्तपुरमा सिर्जना अभियान सम्मान प्रदान गरिएको छ ।
विदेशमा रहँदा समेत नेपाली साहित्य, संस्कृति र भाषाको क्षेत्रमा अतुलनीय योगदान गरेको भन्दै सिर्जना अभियान भक्तपुरले यस वर्षको सिर्जना अभियान सम्मान प्रदान गरेको हो ।
प्राज्ञ माया ठकुरीले आइतबार एक कार्यक्रमबीच साहित्यकार लिगललाई दोसल्ला ओढाएर उक्त सम्मान गरेकी हुन् । उक्त अवसरमा प्राज्ञ ठकुरीले महिलाले साहित्य लेख्दा बिग्रेको मान्ने नेपाली समाजमा धेरै परिवर्तन आएको बताइन् ।
सम्मानित व्यक्तित्व गंगाले पनि कविता लेख्न र पढ्न थाल्दा छिमेकीले उनका बुबालाई ‘तपाईका छोरी त बिग्री’ भनेर कुरा लगाएको उनले स्मरण गरिन् ।
‘प्रविधिले अहिलेका मानिसहरु विस्मृतिमा मरिरहेका छन्’, प्राज्ञ ठकुरीले भनिन्, ‘यस्तो अवस्थामा साहित्यले पुनर्जीवन प्रदान गर्छ ।’
सम्मानित लिगलका कथा, कविता, उपन्यास, खण्डकाव्य र लामो कविता संग्रहलगायत २१ वटा पुस्तक प्रकाशन भएका छन् ।
उनका गीत तथा गजल संग्रहसमेत प्रकाशित भएका छन् । संस्कृतिमा स्नातकोत्तर गरेकी उनी त्रिभुवन विश्वविद्यालयमा समेत अध्यापन गरेकी थिइन् ।
अध्यापन छाडेर संयुक्त राज्य अमेरिका गएकी उनले अमेरिका छँदा नै १३ वटा पुस्तक प्रकाशन गरेको सम्मानित साहित्यकार लिगलले बताइन् ।
अमेरिका गएपछि नेपाली साहित्यमा बढी समय दिन पाएको बताउँदै उनले साहित्य देश विदेशको अमूल्य निधि हुने सुनाइन् ।
नेपाली भाषा, साहित्य र कलाको क्षेत्रमा योगदान गर्ने व्यक्तित्वहरुलाई सम्मान गर्ने क्रममा यस वर्ष साहित्यकार लिगललाई सम्मान गरिएको अभियानका अध्यक्ष धनमान श्रेष्ठले जानकारी दिए ।
उनले साहित्यकारहरुलाई सम्मानसँगै अभियानले स्रष्टाहरुको सिर्जना प्रकाशनसमेत गर्दै आएको बताए ।
कार्यक्रममा अभियान सचिव ध्रुव मधिकर्मी, मीरा राजभण्डारी, रंगकर्मी हरिबहादुर थापालगायतले पनि आफ्नो सिर्जना वाचन र मन्तव्य व्यक्त गरेका थिए ।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!