Connect with us

SPECIAL

बेवारिसेहरुलाई आश्रय दिँदै मानव कल्याण समाजको सेवाघर

Avatar

Published

on

भक्तपुरको चाँगुनारायण नपा ७ वागेश्वरीस्थित मानव कल्याण समाजको सेवाघरमा आश्रय पाएका बेवारिसे व्यक्ति तथा समाजका पदाधिकारी । तस्बिर : ईश्वरकाजी खाइजू

भक्तपुर ।
पात्र १
नाम : हरि रोकाया
ठेगाना : जाजरकोट
वर्ष : ९
हरिलाई आफ्नै दाजुले पढाउन भनी सँगै काठमाडौं ल्याएका थिए । दाजुले काम गरी पढाए पनि । दिन बित्दै वर्ष भयो । दाजुले काम गरी भाइलाई अक्षर सिकाए पनि । दाजुले विवाह गरे । एकदिन दाजु काममा व्यस्त भएको मौका छोपी भाउजूले कुटपिट गरी हरिलाई कोठाबाट घोक्रेठ्याक लगाए । बेवारिसे भई हरि सडक पुगे । सडक पुगे हरिलाई एक पसलेले काम दिए । तर पसलेले बीचैमा पसल अरुलाई बेचे । हरि फेरि बेवारिसे भए । मागेर कति दिन गुजारा चल्ला ? उद्धार गरिएर भक्तपुरको चाँगुनारायण नपा ७ वागेश्वरीस्थित मानव समाज कल्याणको सेवाघर पुगे हरि ।

पात्र २
नाम : रामबहादुर दमाइ
ठेगाना : गोकर्ण, काठमाडौं
वर्ष : अन्दाजी ५०
घुँडामुनि दुवै गोडा गुमाएका रामबहादुरले काठमाडौं गोकर्णको गोकर्णेश्वर महादेव मन्दिरमा मागेर दिन गुजार्दै आएका थिए । दुवै गोडा नभएकाले उनले अपांगता परिचयपत्र पाएका छन् । उक्त परिचयपत्रकै आधारमा उनी सरकारले दिने सामाजिक सुरक्षाभत्ता पाउन योग्य छन् । तर उनले न सामाजिक सुरक्षा हात पार्छन् न त मन्दिरमा दिनभरि बसेर मागेको पैसा नै आफ्नो हातमा पर्छ । उनको सामाजिक सुरक्षाभत्ता र मागेको पैसाले अर्कैले मोज गर्छन् । ती अरु कोही होइनन्, रामबहादुरकै बहिनी र बहिनी ज्वाइँ हुन् । उनीहरुले घरमा खान र लाउन नदिई उल्टै गोकर्णेश्वर महादेव मन्दिरमा माग्न पठाउँथे रामबहादुरलाई । रामबहादुर पनि खान र लाउन पाउला भनी मन्दिरमा बसेर माग्थे तर दिनभर मागेको पैसा बहिनी र बहिनी ज्वाइँले उछिट्याउँथे । मागेको पैसा र सामाजिक सुरक्षाभत्ता रामबहादुरको हात नलाग्ने चाल पाएपछि छिमेकीले उद्धार गरी मानव समाज कल्याणको सेवाघर पु¥याए ।

पात्र ३
नाम : माइली मगर
ठेगाना : तारकेश्वर नपा, नुवाकोट
वर्ष : ७४
करिब ५ वर्षको हुँदै फुपूले आफ्नो ७ वर्षीय छोराको हातबाट माइलीको सिउँदो सिन्दूर हाल्न लगाए । मगर जातिमा फुपूमामाका छोराछोरीबीच बिहेबारी चल्छ । सोहीअनुसार माइलीलाई उनको फुपूले बुहारी ओगट्नुभयो । माइली १४ वर्षकी भएपछि आमाबुबाले उनकै घर पठाए । उनी पनि खुसीसाथ माइती मकवानपुरको फापरबारीबाट तारकेश्वर नुवाकोटतर्फ हिँडिन् तर घर पुग्दा उनलाई बज्रपात प¥यो । घरमा आफ्नो श्रीमानकै पहिल्यै तीनवटी श्रीमती रहेछन् । घरआँगनभर सौताका बच्चाबच्ची देखेर उनी छाँगाबाट खसेजस्तै भइन् । त्यो दृश्य देखेर ड्राइभरी गर्ने आफ्नो श्रीमानको मुखै नहेरी माइली माइत फर्किन् । पहिल्यै अरुले सिन्दूर हालेकाले अरुसँग उनको विवाह हुन पाएन । उनको माइतमा उनीसरहका कोही पनि बाँचेका छैनन् । बाँकी भदाभदै, नातिनातिना आआफ्नै काममा व्यस्त भएकाले उनलाई हेर्ने कोही भएनन् । त्यसैले उनी विरक्त भएर घर छाडेर काठमाडौं आए । काठमाडौंको सडकमा बेवारिसे भएर बसेका उनलाई मानव कल्याण समाजले उद्धार गरी सेवाघर ल्यायो ।
हरि, रामबहादुर र माइली बेवारिसे भई सडक पुगेका केही प्रतिनिधि पात्रमात्रै हुन् । यसरी सडकमा बेवारिसे अवस्थामा पुगेका ३५ जनालाई भक्तपुरको मानव कल्याण समाजले उद्धार गरी आफ्नो सेवाघरमा आश्रय दिइराखेको छ । ३५ जनामा दुईजना दृष्टिविहीन छन् । ३ जनालाई पक्षघात छ । अरु ३ जना बोल्न सक्दैनन् । रामबहादुरका गोडा छैनन् । १० जना मनोरोगी छन् । पाँचजना सामान्य छन् । एकजना सुत्केरी आमा छिन् ।
‘सबै कहीं न कहीं हन्डर र ठक्कर खाएर कथा बोक्दै यहाँ आइपुगेका छन्’, समाजकी अध्यक्ष सुमित्रा चौलागाईं भन्छिन् । घरपरिवारमा खुसी पाउन नसकेर सडकमा आएको पाएको उनको अनुभव छ ।

भाडाको घरमा सेवाघर

समाजको सेवाघर वागेश्वरीको खरिपाटीस्थित यातुमहादेव मन्दिरसँगै रहेको एक निजी घरमा भाडामा छ । दुई फ्ल्याटको मासिक ३० हजार रुपैयाँ भाडा तिर्नुपर्छ । त्यस्तै खानेपानी र औषधोपचारमा पनि मासिक ३०–३० हजार रुपैयाँ खर्च हुँदै आएको छ ।
सेवाघरमा आश्रय पाएकाहरुको लागि खान र लाउनलाई भने अहिलेसम्म समस्या नभएको अध्यक्ष चौलागाईं सुनाउँछिन् । आफ्नो जन्मदिन, विवाह उत्सव, कुनै नयाँ कामको शुभकार्य गर्नेहरुले सेवाघरसम्म पुगेर खाना, लुगाफाटो सहयोग गर्दै आएको उनले जानकारी दिए ।
‘कसैले खानेकुरा, खाद्यान्न, कसैले लुगाफाटो र कसैले रकम नै सहयोग गर्दै आएका छन्’, उनले थपिन्, ‘यसले गर्दा अहिलेसम्म खान र लाउन समस्या भएको छैन । यस्तै सहयोगबाट औषधोपचारलाई समेत खर्च जोहो भइरहेको छ ।’
उनले सेवाघरको भाडा तिर्नसमेत मासिक एकदुईसयदेखि पाँच ६ हजार रुपैयाँसम्म योगदान गर्नेहरु बढेको बताए ।

सुरुमा रातो चामलको खाना

उनीसहित सातजना मिलेर गएको वैशाखदेखि सेवाघर सञ्चालनमा ल्याएका थिए । दुईजना ज्येष्ठ नागरिकबाट सुरु गरिएको सेवामा अहिले ३५ जना पुगेका छन् । सेवाघरको क्षमता नभएकाले धेरैतिरबाट बेवारिसे सडक मानवहरुको उद्धार गरिदिन आग्रह गरिए पनि आफूहरु जान नसकिएको उनी बताउँछिन् । उनले सुरुमा सेवाघरमा बसेकाहरुलाई यज्ञ, पूजाआजामा ब्राह्मणले पाउने रातो चामल किनेरसमेत खाना खुवाएको सुनाइन् ।
‘सहयोगी हातहरु नपाइँदा सस्तोमा पाइने होला भनी यज्ञ, पूजाआजा भएका ठाउँमा गएर ब्राह्मणसमक्ष हातसमेत फैलाऔं’, उनले स्मरण गरिन्, ‘सुरुमा राता चामल पखालेर खाना खुवाए पनि अहिले त्यस्तो अवस्था आएको छैन ।’
अहिले सेवाघरका सहयोगी धेरै बढेको उनले सुनाइन् । अहिले फोन गरेर सेवाघरलाई के चाहिन्छ जानकारी दिन भन्नेहरुको संख्या बढेको उनको भनाइ थियो ।
‘पहिले बिहान खुवाए, दिउँसो के खुवाउने भन्ने समस्या थियो’, अध्यक्ष चौलागाईंले थपिन्, ‘अहिले स्थिति उल्टिएको छ । सहयोगीहरु कुनै न कुनै बेला टुप्लुक्क आइपुग्छन् । ला चिनी सकियो, बिस्कुट सकियो, अब बाआमालाई के खाजा खुवाउने होला भनी सोच्न पाएको हुँदैन । कोही न कोही एक किलो चिनी, एक प्याकेट बिस्कुट लिएर सेवाघर आइपुग्नुहुन्छ ।’

सडकमा आउने स्थितिको अन्त्य आवश्यक

सुमित्रा र उनको समूहले खुला हृदयले बेवारिसेहरुको सेवा गर्दै आएको छ । सेवा गरेर देखाउन हो, भनेर हिँड्ने होइन भन्ने उनीहरुको जोड रहेको छ तर समाजले कहिलेसम्म सडकमा आएका बेवारिसे व्यक्तिहरुको उद्धार गरी सेवा गरिरहने ? समाजका पदाधिकारीहरु निरुत्तर छन् । उनीहरु आफै पनि अहिलेको अवस्थामा समाजले निरन्तर सेवा दिइरहन सक्नेमा विश्वस्त छैनन् ।
‘कमसेकम सेवाघरको आफ्नै भवन होस्, यसको नियमित आयस्ता होस्’, अध्यक्ष चौलागाईं सोचमग्न हुन्छिन्, ‘योभन्दा महत्वपूर्ण कुरा सडकमा कोही व्यक्ति बेवारिसे भई आउन नपरोस् । सडकमा बेवारिसे आइरहने र हामीले उठाइरहने, आखिर कहिलेसम्म ?’
यसको लागि नयाँ पुस्तालाई तयार गर्नुपर्ने उनी विचार पोख्छिन् । ‘नयाँ पुस्तामा सकारात्मक सोच र आफ्ना आमाबुबा तथा हजुरआमाहजुरबुबाको महत्व र आवश्यकतामा बोध गराउन सकिए सडकमा बेवारिसे भई आउनेहरुको संख्या न्यूनीकरण हुन्छ कि ?’, उनी प्रतिप्रश्न गर्छिन् ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!