Connect with us

SPECIAL

एएचएफकी वरिष्ठ निर्देशक म्यारो सुरुवातमा

Published

on

भक्तपुरको चाँगुनारायण नपा ३ झौखेलस्थित सुरुवातको आधुनिक गोलभेंडा पुगेकी एएचएफकी वरिष्ठ निर्देशक मार्गरेटा म्यारो । तस्बिरहरु : इनडेप्थ

भक्तपुर । एड्स हेल्थकेयर फाउन्डेसन (एएचएफ) को ग्लोबल एकाउन्टिङ तथा फाइनान्सियल अपरेसनकी वरिष्ठ निर्देशक मार्गरेटा म्यारो शुक्रबार भक्तपुरको झौखेलस्थित सुरुवात सामुदायिक उपचार तथा पुनःस्थापना केन्द्र पुगेकी छन् ।
एएचएफको आर्थिक सहयोगमा सुरुवातद्वारा सञ्चालित आधुनिक गोलभेंडा खेतीको अवलोकन भ्रमण गर्न वरिष्ठ निर्देशक म्यारो सुरुवात पुगेकी हुन् ।
उक्त अवसरमा उनले एएचएफको सानो सहयोगमा पनि सुरुवातले गरेको मेहनत र पाएको उपलब्धिबाट सिंगो एएचएफ खुसी रहेको सुनाइन् ।
सुरुवातले एचआईभी संक्रमितहरुको जीविकोपार्जन र उपचार तथा पोषणको क्षेत्रमा गर्दै आएको काम उदाहरणीय भएको उनको भनाइ थियो ।


‘एचआईभी संक्रमितको क्षेत्रमा सुरुवातको कार्यक्रम सफल उदाहरण हो’, वरिष्ठ निर्देशक म्यारोले भनिन्, ‘यसलाई थप संस्थागत बनाउँदै नमुनाको रुपमा अन्य क्षेत्रमा पनि विकास र विस्तार गर्न जरुरी छ ।’
उनले दातृ संस्थाको सहयोगमा मात्रै भर नपरी सुरुवातले संस्थागत विकास र आर्थिक स्थायित्वको लागि दरिलो प्रणाली विकास गर्नुपर्नेमा जोड दिइन् ।
‘एएचएफले सधैं सहयोग गर्छ भन्ने हुँदैन तर सहयोग नआए पनि सुरुवात र यसको कार्यक्रम रोकिनुहुन्न’, उनको जोड थियो, ‘यसको लागि सुरुवातले आर्थिक स्थायित्वको लागि दरिलो प्रणाली विकास गर्नुपर्छ ।’
उनले सुरुवातको सहयोगमा व्यवसायिक कृषि कार्य गर्दै आएका एचआईभी संक्रमित तथा प्रभावितहरुलाई स्रोत व्यक्तिको रुपमा क्षमता विकास गर्नसमेत सुझाइन् ।
वरिष्ठ निर्देशक म्यारोसँगै सुरुवात पुगेका एएचएफ नेपालका टेस्टिङ कोअर्डिनेटर बबी सिंहको एएचएफ नेपालमार्फत सहयोग पाएका संस्थामध्ये सुरुवातको काम उदाहरणीय रहेको बताए ।
सुरुवातले एचआईभी संक्रमित र प्रभावितहरुलाई व्यवसायिक तालिमसँगै तालिमबाट सिकेको सीपलाई व्यवहारमा ल्याउन बीऊ पूँजी दिने र सोअनुसार काम भए नभएको स्थलगत अनुगमन गर्ने कार्य प्रभावकारी भएको उनको भनाइ थियो ।
वरिष्ठ निर्देशक म्यारोलाई भक्तपुरमा स्वागत गर्दै सुरुवातका अध्यक्ष राजेश दिदियाले एएचएफको सहयोगमा गर्दै आएको आधुनिक गोलभेंडा खेतीको सुरुदेखि हालसम्मको प्रगतिबारे ब्रिफिङ गरेका थिए । उनले सुरुवातले आफ्नो गोलभेंडा फार्मलाई देशभरका एचआईभी एड्स संक्रमित तथा तिनका परिवारहरुको लागि तालिम केन्द्रको रुपमा विकास गर्दै आएको जानकारी दिए ।


‘सुरुवातले एएचएफको सानो सहयोगमा सन् २०१६ देखि करिब एक रोपनी क्षेत्रफलमा आधुनिक गोलभेंडा खेती सुरु गरेको थियो’, उनले भने, ‘त्यसलगत्तै सन् २०१७ देखि थप करिब पाँच रोपनी क्षेत्रफलमा आधुनिक गोलभेंडा खेती विस्तार गरेका छौं ।’
एएचएफ नेपालको एआरटी सेन्टरमा नियमित उपचार र स्वास्थ्य जाँच गरिरहेका देशभरका २४ जना एचआईभी संक्रमित, प्रभावित तथा तिनका परिवारका सदस्यलाई आधुनिक गोलभेंडा खेतीसम्बन्धी तालिम दिएको उनले जानकारी दिए । उक्त तालिम लिएकाहरुलाई आधुनिक गोलभेंडा खेती गर्न बीउ पुँजीको रुपमा केही रकम सहयोगसमेत गरिएको र सोहीअनुसार सुदूर पश्चिमको कैलाली, डोटी र पश्चिमको कास्कीमा व्यवसायिक गोलभेंडा खेती हुँदै आएको उनी बताउँछन् ।

सुदूर पश्चिमको कैलालीस्थित फार्म पुगेकी एएचएफकी वरिष्ठ निर्देशक मार्गरेटा म्यारो, एएचएफ नेपालका राष्ट्रिय कार्यक्रम व्यवस्थापक दीपक ढुंगेललगायतको टोली ।

भक्तपुर आउनुअघि वरिष्ठ निर्देशक म्यारोले सुरुवातले दिएको व्यवसायिक खेतीसम्बन्धी तालिम लिएका तथा आर्थिक सहयोग पाएका नेपालको सुदूर पश्चिमका कैलाली र डोटीका एचआईभी संक्रमित तथा प्रभावितहरुको फार्मको अवलोकन भ्रमण गरेकी थिइन् ।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!