Connect with us

SPECIAL

४० वर्षपछि रामशेखरको धिं ताल्लको दोस्रो संस्करण सार्वजनिक

Published

on

स्व. रामशेखर नकर्मीको हास्यव्यंग्य संग्रह धिं ताल्लको दोस्रो संस्करण सार्वजनिक गर्दै वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ । तस्बिर : ईश्वरकाजी खाइजू

भक्तपुर । भक्तपुरका वरिष्ठ साहित्यकार एवं कलाकार स्व. रामशेखर नकर्मीको हास्यव्यंग्य संग्रह धिं ताल्लको दोस्रो संस्करण सार्वजनिक गरिएको छ ।
नेपालभाषामा लेखिएको उक्त संग्रह पहिलोपटक २०३५ सालमा प्रकाशित भएको थियो । रामशेखरका सहकर्मी आशाकाजी थकु र माणिक होराले प्रकाशन गरेको उक्त संग्रहको दोस्रो संस्करण भक्तपुरको कुतः पिकाकले बजारमा ल्याएको हो ।
रामशेखर लुमन्ती दबूको उद्घाटनको क्रममा शनिबार एक कार्यक्रमबीच वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले धिं ताल्ल हास्यव्यंग्य संग्रहको दोस्रो संस्करणको विमोचन गरेका हुन् ।
रामशेखरद्वारा लिखित नेवारी गीतबाट आफ्नो मन्तव्य सुरु गरेका वरिष्ठ कलाकार श्रेष्ठले रामशेखरकै प्रेरणाले आफू हास्यव्यंग्यको क्षेत्रमा आएको सुनाए ।
रामशेखरसँग १२ बजे नाटक गर्दा उनको कलाकारिताबाट आफू प्रभावित भएको उनको भनाइ थियो ।
‘रामशेखर नकर्मी हास्यव्यंग्यका राम्रा लेखकमात्रै होइनन्, उत्कृष्ट कलाकार पनि हुन्’, उनले भने, ‘त्यसैले उनलाई नयाँ पुस्ताबीच चिनाउन उनकै नाउँमा हास्यव्यंग्य प्रतियोगिता गर्नुपर्छ ।’
कार्यक्रममा रामशेखरका समकक्षी कलाकार आशाकाजी थकुले लेख्न अल्छी मान्ने रामशेखरको बानीले धेरै हास्यव्यंग्य मञ्चन भए पनि लिखित पाउन मुस्किल भएको बताए ।
हास्यव्यंग्यले जसको बारेमा व्यंग्य गरिएको ऊ आफै पनि त्यो पढेर वा हेरेर हास्ने हुनुपर्ने रामशेखरको अभिव्यक्तिबाट आफू प्रभावित भएको उनको भनाइ थियो ।
कार्यक्रममा रामशेखर नागरिक सम्मान कार्यक्रमका संयोजक कलाकार राजेन्द्रमन शाक्य, सिद्धिदास प्रतिष्ठानका अध्यक्ष नरेन्द्रभक्त हाडा, नेपाल साहित्य मन्दिरका अध्यक्ष तिलकप्रकाश कायस्थ, विराट नेपालभाषा साहित्य सम्मेलन गुठीका अध्यक्ष कृष्णभक्त बोडेले साहित्यकार, कलाकार, अधिकारकर्मीलाई मरेपछि भन्दा जिवित छँदै सम्मान गर्ने संस्कृति बसाल्नुपर्नेमा जोड दिए ।
उनीहरुले नेपालभाषाको साहित्य र कलाकारिता क्षेत्रमा रामशेखर नकर्मीको योगदान अतुलनीय रहे पनि राज्यस्तरमा त्यसको मूल्यांकन हुन नसकेको गुनासो गरे ।
रामशेखरका सिमात फः फः स्व र सोतिपाँय गरी दुई कथा संग्रह, नसं फाःगुचा उपन्यास, मोहनी गीत संग्रह, जुजु धौ संस्मरण, चलचित्र कथा सिलु प्रकाशित भएका छन् ।
उनले मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यसँग मिलेर १२ बजे र लक्ष्मी, चर्चित नेवारी फिल्म राजमती र चकना, नेवारी टेलिफिल्म न्हि सुतु, पःखा, झोकमनिम्हलयायतमा निर्देशनसँगै अभिनय गरेका छन् । त्यस्तै पञ्चायती कालमा धेरै हास्यव्यंग्य (ख्याल) को निर्देशन तथा अभिनय गरेका छन् ।
उनको उपन्यास नसं फाःगु चा जापानी भाषामा समेत प्रकाशन भइसकेको छ । त्यस्तै सिमात फः फः स्व नेपाली भाषामा अनुवाद भई प्रकाशित भइसकेको छ ।
स्व. रामशेखरले नेपालभाषाको मदन पुरस्कार मानिने श्रेष्ठ सिरपा नेपाल संवत् १०९१ मा, नेपाल संवत् १११५ मा बसुन्धरा गंकी सिरपा, ने.सं १११८ मा नेवाः हना सिरपा पाएका थिए । त्यस्तै भैरव प्रतिभा, सर्वनाम, युद्धप्रसाद मिश्र पुरस्कार पाएका थिए ।
दबूका अध्यक्ष गोविन्दमान श्रेष्ठले नेपालभाषाको साहित्य र कला क्षेत्रमा रामशेखरले पु¥याएको योगदानलाई चिरकालसम्म स्मरण गर्ने काम गर्ने जानकारी दिए ।
दबूले रामशेखर नकर्मीको स्मृतिमा अक्षयकोष स्थापना गरिसकेको उनले बताए । सोही अक्षयकोषको व्याजबाट प्रत्येक वर्ष उत्कृष्ट कथा संग्रहलाई नगदसहित रामशेखर स्मृति पुरस्कार प्रदान गर्ने उनी बताउँछन् ।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!