Connect with us

SPECIAL

आज नेपाल संवत् को नयाँ वर्षको पहिलो दिन

Published

on

शंखधर बुलेटिन विमोचन गर्दै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित र कांग्रेस नेता गोपालमान श्रेष्ठ । तस्बिर : ईश्वरकाजी खाइजू

नेपाल संवत् का प्रवर्तक शंखधर साख्वाःको प्रतिमामा माल्यार्पण

भक्तपुर । आज नेपाल संवत् ११३९ को पहिलो दिन कछलाथ्व पारु । यसै दिन नेपाल संवत् को नयाँ वर्ष सुरु भएको छ । सबैलाई न्हुँदया भिन्तुना (नयाँ वर्ष ११३९ को शुभकामना) ।
यसैबीच नेपाल संवत्का प्रवर्तक शंखधर साख्वाःको प्रतिमामा आज माल्यार्पण कार्यक्रम गरिएको छ ।
भक्तपुरको मध्यपुर थिमी नगरपालिकास्थित शंखधर साख्वाःको प्रतिमामा माल्यार्पण गरिएको हो । प्रत्येक वर्ष उक्त प्रतिमामा सरकार प्रमुखले माल्यार्पण गर्दै आएका छन् तर यस वर्ष सरकार प्रमुख प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भए । उनी शंखधर साख्वाःलाई माल्यार्पण गर्न उपस्थित हुन सकेनन् । उनले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई आफ्नो प्रतिनिधिको रुपमा पठाए । र, मन्त्री पण्डितले सरकारको तर्फबाट शंखधर साख्वाःको प्रतिमामा माल्यार्पण गरे ।
उक्त अवसरमा मन्त्री पण्डितले सरकार संघीयता कार्यान्वयनको भूमरीमा फसिरहेको बताए ।
उनले भने, ‘सरकार संघीयता कार्यान्वयनको भूमरीमा फसिररहेको छ तर यो भूमरीबाट उम्केर अघि बढ्न सरकार सक्षम पनि रहेको छ ।’
उनले इतिहासमा सबैले सम्झने गरी वर्तमान सरकारले काम गर्ने दावीसमेत गरे ।
समृद्ध नेपाल र सुखी नेपाली बनाउन सरकारले हरसम्भव प्रयास गरिरहेको उनको भनाइ थियो ।
‘धेरै कुरा तुरुन्तै भन्नासाथ सम्भव हुँदैन’, मन्त्री पण्डितले भने, ‘तर सरकारबाट हर सम्भव प्रयास भइरहेको छ ।’
आफूभन्दा अघि बोल्ने नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठलाई जवाफ दिने क्रममा मन्त्री पण्डितले सरकार एकलकाँटे हिसाबले अघि नबढेको बताए ।
‘कांग्रेसले पनि प्रतिपक्षको भूमिका सही ढंगले निभाउनुपर्छ । आफू सत्तापक्षमा हुँदा के गरेको थियो, त्यतातिर पनि ध्यान दिनुपर्छ’, उनले थपे, ‘त्यसैले सरकार एकलकाँटे हिसाबले अघि बढ्दैन । सत्ता पक्ष र प्रतिपक्ष दुवै सँगसँगै पाइलामा पाइला मिलाएर देश निर्माणमा अगाडि बढ्नुपर्छ । यति गर्न सके समृद्ध नेपाल र सुखी नेपाली बनाउन धेरै समय लाग्दैन ।’
कार्यक्रममा कांग्रेस नेता श्रेष्ठले सरकार दुईतिहाइको दम्भ लिएर एकलकाँटे ढंगले अघि बढिरहेको आरोप लगाएका थिए ।
उनले नेपाल संवत् लाई व्यवहारमै लागू गर्ने पूर्ववर्ती धेरै सरकारले निर्णय गरे पनि पछि आउने सरकारले अपनत्व स्वीकार गर्न नसक्दा नेपाल संवत् व्यवहारमै कार्यान्वयन हुन नसकिरहेको सुनाए ।

राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानद्वारा आयोजित माल्यार्पण कार्यक्रममा भक्तपुर क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य महेश बस्नेत, मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ, प्रतिष्ठानका अध्यक्ष श्यामकृष्ण मानन्धर, पूर्वअध्यक्ष मदनकृष्ण श्रेष्ठलगायतले नेपाल संवत्का प्रवर्तक शंखधर साख्वाःलाई माल्यार्पण गर्ने कार्यक्रम सरकारी तहमै हुनुपर्ने माग गरे ।
उनीहरुले नेपालको मौलिक संवत् नेपाल संवत् लाई सरकारी कामकाजकै संवत्को रुपमा व्यवहारमा प्रयोगमा ल्याउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाल संवत् को नयाँ वर्षको अवसरमा शुभकामना ¥याली गर्ने क्रममा पहिलोपटक मोटरसाइकल ¥यालीको आयोजना गर्ने लयता दबूका अध्यक्ष राजा शाक्य, नेपाल संवत्को पञ्चाङ निर्माण तथा व्यवस्थापन समितिका संयोजक दैवज्ञ केशरगोविन्द जोशीलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।


कार्यक्रममा विभिन्न मौलिक एवं सांस्कृतिक नाच तथा नौबाजा प्रस्तुत गरिएको थियो । त्यस्तै शंखधर बुलेटिनसमेत विमोचन गरिएको थियो ।
आजभन्दा ११३८ वर्षअघि शासक वर्गको ऋणमा डुबेका जनताको ऋणमोचन गरी शासकको अनुमति एवं स्वीकृतिमा शंखधर साख्वाःले नेपाल संवत् सञ्चालनमा ल्याएका थिए । नेपाल संवत् को पात्रोअनुसार बिहीबार नयाँ वर्षको पहिलो दिन हो । यस दिन नेपालभाषी समुदायले म्हःपूजा गरेर नयाँ वर्षलाई शुभारम्भ गर्छ ।
आजै देशभर नयाँ वर्षको शुभकामना ¥याली गरिएका छन् ।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!