Published
3 years agoon
By
Indepthभक्तपुर । स्वास्थ्य क्षेत्रमा अक्टोबर महिनालाई स्तन क्यान्सरसम्बन्धी जनचेतनाको महिना मानिँदै आएको छ । त्यसैले यस महिनामा देशविदेशमा स्तन क्यान्सरसम्बन्धी जनचेतना फैलाउने, स्वास्थ्य शिविर गर्नेलगायतका गतिविधि हुँदै आएका छन् ।
नेपालमा पनि क्यान्सरको क्षेत्रमा कार्य गर्दै आएका संघसंस्था तथा अस्पताल र त्यहाँका चिकित्सकहरुले विविध कार्यक्रम गरी स्तन क्यान्सरसम्बन्धी जनचेतना फैलाउन लागिपरेका छन् ।
क्यान्सर विशेषज्ञ चिकित्सकहरुले ४० वर्ष उमेर नाघेका महिलालाई स्तन क्यान्सर हुने सम्भावना अधिक हुने बताएका छन् । केही महिलालाई वंशानुगत भए पनि धेरैलाई जीवनशैलीको कारण हुने उनीहरुको तर्क रहेको छ ।
ढिला विवाह गर्ने, विवाह गरेको धेरै वर्षसम्म बच्चा नजन्माउने र बच्चा जन्माए पनि स्तनपान नगराउने महिलाहरुलाई स्तन क्यान्सर हुने सम्भावना बढी रहने क्यान्सर विशेषज्ञ डा. उत्सवमान श्रेष्ठ बताउँछन् ।
‘विवाह नगरी बसेका ३५ वर्षमाथिका महिलासमेत स्तन क्यान्सरको जोखिममा पर्छन्’, भक्तपुर क्यान्सर अस्पतालका क्यान्सर सर्जन श्रेष्ठ भन्छन्, ‘त्यसैले क्यान्सरलाई कुरेर नबसौं, आफै सचेत बनेर ३५–४० वर्ष भएपछि वर्षमा एकपटक स्तनको परीक्षण गराऔं ।’
यी उमेरका विवाहित र अविवाहित सबै महिलाले वर्षमा एकपटक स्तनको मेमोग्राम वा अल्ट्रासाउन्ड गराए क्यान्सरको सुरुकै अवस्थामा थाहा हुने उनको भनाइ थियो ।
‘सुरुको अवस्थामै क्यान्सर पत्ता लागे उपचारबाट निको हुन्छ’, उनले थपे, ‘महिलाले आफ्नो स्तन पनि फाल्नु पर्दैन ।’
ढिलो पहिचान र उपचार भए क्यान्सर दुवै स्तनसम्म मात्रै नपुगी फोक्सो, कलेजोलगायत शरीरका अन्य भागमा पनि फैलने उनले स्पष्ट पारे ।
नेपाली महिलालाई हुने क्यान्सरमा स्तन क्यान्सर दोस्रो स्थानमा छ । पहिलो स्थानमा पाठेघरको मुखको क्यान्सर रहेको छ । तर पछिल्लो समय स्तन क्यान्सरका बिरामीको संख्या बढिरहेको भक्तपुर क्यान्सर अस्पतालले जनाएको छ ।
अस्पतालकी क्यान्सर रोग विशेषज्ञ डा. स्वेता बरालले जीवनशैलीको कारण सहरिया महिलाहरुमा बढीभन्दा बढी स्तन क्यान्सर देखिएको बताइन् । ‘आफ्नो सुन्दरता बिग्रने भन्दै बच्चा पाएर पनि स्तन नगराउने र मोटोपना भएका महिलालाई स्तन क्यान्सर हुने बढी सम्भावना हुन्छ’, उनले भनिन्, ‘दैनिक व्यायाम नगर्ने, चिल्लो र मसालेदार खानपान गर्नेलाई पनि स्तन क्यान्सरको जोखिम बढी हुन्छ ।’
उनका अनुसार हार्मोनको गडबढीले पनि स्तन क्यान्सर हुने क्रम बढेको छ । ‘हार्मोनको कारण पनि स्तन क्यान्सर हुन्छ । महिलाले बच्चालाई स्तनपान नगराउँदा, मोटोपना बढ्दा यो हार्मोन बढ्छ’, डा. बरालले भनिन्, ‘त्यसैले स्तनपान गराउँदा र व्यायाम गर्दा यो हार्मोन बढ्न पाउँदैन ।’
चिकित्सकहरुका अनुसार सुरुमा स्तनमा गिर्खा महसुस हुनु स्तन क्यान्सरको संकेत हो । साना गिर्खा बढेर डल्लो जस्तो देखिने र पछि घाउ बन्ने डा. श्रेष्ठ बताउँछन् । उनका अनुसार मुन्टो भित्र गड्दै गए पनि स्तन क्यान्सर हुने सम्भावना हुन्छ ।
‘घाउ हुँदा पनि उपचारमा नआउँदा त्यहाँ स्याउँस्याउँ कीरा भएपछि उपचारमा आएका महिलाहरु पाएका छौं’, उनले भने, ‘यस्तो अवस्थामा आएका महिलाहरुको उपचार ढिलो भइसक्छ । क्यान्सर अन्यत्र पनि फैलिएर अन्तमा ज्यान नै जाने हुन्छ ।’
उनले लक्षण नकुरीकन ४० वर्ष पुगेपछि वर्षमा एकपटक स्तन परीक्षण गर्नु नै क्यान्सरबाट बच्ने उपाय भएकोमा जोड दिए ।
‘लक्षण देखिन्छ अनि उपचारमा जाऔंला भनेर क्यान्सरलाई नकुरौं’, डा. श्रेष्ठले थपे, ‘क्यान्सर लागेको लक्षण थाहा पाउँदासम्म ढिलो भइसक्छ । त्यसैले आफै सचेत भएर वर्षमा एकपटक स्तन परीक्षण गराऔं ।’
पछिल्लो समय पुरुषलाई समेत स्तन क्यान्सर देखिएको छ । भक्तपुर क्यान्सर अस्पतालमा चालू आवमा मात्रै ४ जना पुरुषको स्तन क्यान्सरको उपचार गरिएको डा. श्रेष्ठ बताउँछन् । उनका अनुसार गएको वैशाखदेखि असोज १५ सम्म ७९ जना महिलाको स्तन क्यान्सरको अप्रेसन गरिएको छ ।
पुरुषहरुलाई हार्मोनकै कारण स्तन क्यान्सर हुने उनले बताए । त्यसैले दैनिक व्यायाम गर्ने, मोटोपना बढ्न नदिने, धूमपान तथा मद्यपान नगर्ने उनले सुझाव दिए ।
स्तन क्यान्सर भएपछि महिलाहरुले आफ्नो जिन्दगी नै सिद्धिएको महसुस गर्छन् । जसले गर्दा उनीहरुको दैनिकी सामान्य हुँदैन । निराशा र कुन्ठाले उनीहरुलाई क्यान्सरले नखाए पनि भित्रभित्रै खान थाल्छ । जसले गर्दा उनीहरु चाँडै मृत्यु नजिक पुग्छन् ।
स्तन क्यान्सर पीडितहरुको यस्तै मनोदशा बुझेर स्तन क्यान्सर भए पनि उपचारपछि स्वस्थ मानिस जस्तै सामान्य जीवन बाँच्न सकिन्छ भन्ने देखाउन भक्तपुरमा गुलाबी चंगा उडान कार्यक्रम राखिएको छ ।
भक्तपुर क्यान्सर अस्पतालको आयोजनामा भक्तपुरको सूर्यविनायक नपा ७ गुण्डुस्थित घ्याम्पे डाँडामा यही शुक्रबार उक्त चंगा उडान कार्यक्रम हुने भएको हो ।
स्तन क्यान्सर भएका महिलाहरुलाई उपचारपछि चंगाजस्तै हलुका भएर आकाशमा उड्न सकिन्छ भनेर सचेत गर्ने उद्देश्यले उक्त चंगा उडान राखिएको कार्यक्रम संयोजक डा. श्रेष्ठ बताउँछन् ।
‘गुलाबी रंग महिलाको प्रतीक हो, त्यहीं रंगका चंगा उडाएर आकाशलाई नै गुलाबी बनाउने कार्यक्रमको उद्देश्य हो’, उनले भने, ‘स्तन क्यान्सर हुँदैमा कुनामा कुप्रिनुपर्दैन । उपचारपछि स्वच्छन्द भएर आकाशमा उड्न सकिन्छ भन्ने सन्देश दिन खोजेका हौं ।’
उनका अनुसार स्तन क्यान्सरको जनचेतना फैलाउन विश्वभर नेपालमै पहिलोपटक गुलाबी चंगा उडान भएको हो । भक्तपुरमा गत वर्ष पहिलोपटक गुलाबी चंगा उडान भएको थियो ।