Connect with us

SPECIAL

मल्लकालीन तलेजुभित्र सिमेन्टको प्रयोगप्रति आपत्ति

Published

on

सिमेन्ट प्रयोग गरेर ढुंगा छापिएको भक्तपुर दरबार क्षेत्रको ९९ चोक भित्रको द्वेयमाजु चोक । तस्बिर : ईश्वरकाजी खाइजू

भक्तपुर । विश्व सम्पदा भक्तपुर दरबार क्षेत्रस्थित ९९ चोकभित्र तलेजु परिसरमा रहेको द्वेयमाजु चोकभित्र ढुंगा छाप्दा सिमेन्ट प्रयोग गरिएकोमा आपत्ति जनाएको छ ।
भक्तपुर तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले पुरातात्विक महत्व बोकेको मल्लकालीन द्वेयमाजु चोकमा सिमेन्ट प्रयोग गरेर ढुंगा छापिएकोमा आपत्ति जनाएका हुन् ।
पुरातत्व विभागअन्तर्गत भक्तपुरमा रहेको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयले द्वेयमाजु चोकमा रहेको चिकं अप्पा (तेलिया इँटा) को ठाउँमा ढुंगा छापेको हो । पुरातात्विक क्षेत्रमा प्राचीन निर्माण सामग्री प्रयोग गर्नुपर्ने युनेस्कोको मापदण्ड रहेको छ । जसअनुसार चुनासुर्की, इँटाको धूलो र बालुवा प्रयोग गर्नुपर्ने मान्यता रहेको छ ।
‘पुरातात्विक एवं ऐतिहासिक ठाउँमा सिमेन्ट प्रयोग गरिनु आपत्तिजनक छ’, मूल नाइके जोशीले भने, ‘हाम्रै मौलिक निर्माण सामग्री हुँदाहुँदै सिमेन्ट प्रयोग गरिनु हुँदैनथ्यो ।’
उनले चोकभित्र छापिएको तेलिया इँटा केही नहुँदै ढुंगा छापिएकोमा समेत आशंका व्यक्त गरे ।
उनका अनुसार तेलिया इँटाको ठाउँमा ढुंगा छापिएपछि द्वेमाजु चोकको सौन्दर्य नै हराएको छ । ‘तेलिया इँटाको ठाँउमा ढुंगा किन छापियो ? प्रश्न गर्ने ठाउँ छ ।’, मूल नाइके जोशीले थपे, ‘तेलिया इँटाले जस्तो चकम ढुंगाले दिँदैन । अहिले द्वेयमाजु चोक उराठलाग्दो देखिन्छ ।’
स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका मुख्य इञ्जिनियर मोहनकृष्ण श्रेष्ठले ढुंगाका कापबाट पानी भित्र छिर्न नदिन माथि माथिमात्रै सिमेन्ट प्रयोग गरिएको स्पष्ट पारे ।

पुरातात्विक क्षेत्रमा प्राचीन निर्माण सामग्री प्रयोग गर्नुपर्ने युनेस्कोको मापदण्ड रहेको छ । जसअनुसार चुनासुर्की, इँटाको धूलो र बालुवा प्रयोग गर्नुपर्ने मान्यता रहेको छ ।

‘पानी छिर्नबाट बचाउन ढुंगा जोडिएको ठाउँमा सिमेन्टको प्वाइन्टिङमात्रै गरिएको हो’, उनले भने, ‘सिमेन्ट प्रयोग नगरिए ढुंगाभित्र पानी पसेर क्षति पुग्न सक्छ ।’
पुरातात्विक क्षेत्र भएकै कारण सिमेन्ट प्रयोग गर्न हुन्न भन्ने नभएको उनको भनाइ थियो ।
कार्यालयले द्वेयमाजु चोकमा ढुंगा छाप्नुका साथै प्राचीन अ¥ही पुखु (पोखरी) समेत जीर्णोद्धार गरेको छ । पोखरीको डीलमा वरपीपल उम्र्रिएर पोखरी जीर्ण हुँदै आएको थियो । झारपातले घेरिएको उक्त पोखरी सफा गरेर जीर्णोद्धार गरिएको हो ।
विजया दशमीको क्रममा प्रत्येक विहान भक्तजनहरु द्वेयमाजु देवीको पूजाआजा र दर्शन गर्न पुग्छन् । साथै पूजाआजा गर्नुअघि द्वेयमाजु देवीलाई उक्त पोखरीको जल चढाउनुका साथै भक्तजनले मुख धुनुपर्ने परम्परा रहँदै आएको छ ।
स्थानीय बुढापाकाहरुका अनुसार रुन्चे लागेका बालबच्चाहरुलाई उक्त पोखरीमा ल्याएर मुख धुन लगाएमा रुन्चे निको हुने जनविश्वास रहँदै आएको छ । द्वेयमाजु देवी र उक्त पोखरी भक्तपुरको तलेजुभन्दा पुरानो मानिन्छ ।
त्यस्तै तलेजुका मूल नाइके जोशीले आफूहरुसँग सल्लाह नै नगरी तलेजुभित्र जथाभावी पुनर्निर्माण र नयाँ निर्माण गरेकोमा आक्रोश पोखेका छन् ।
उनले आफूहरुलाई थाहा नै नदिई स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयले आफूहरुले नियमित पूजा गर्नुपर्ने ठाउँमा बाधा पुग्ने गरी तबेला निर्माण गरेको गुनासो गरे ।
कार्यालयले पुरानो तबेलालाई यथावत राखी तलेजुभित्र खाली ठाउँमा नयाँ तबेला निर्माण गरेको थियो । तलेजुको बाहन मानिने सेतो घोडा राख्न उक्त नयाँ तबेला निर्माण गरिएको कार्यालयले जनाएको छ । वडा दशैंको दिन तलेजुको खड्ग राखेर उक्त सेतो घोडालाई भक्तपुर नगर परिक्रमा गराउने परम्परा रहँदै आएको छ ।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!