Connect with us

SOCIAL

भक्तपुर नगरमा पूर्ण खोप सुनिश्चित

Published

on

भक्तपुर नगरपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गर्दै भक्तपुर क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य प्रेम सुवाल ।

भक्तपुर । जिल्लाको भक्तपुर नगरपालिकालाई शुक्रबार पूर्ण खोप सुनिश्चित नगर घोषणा गरिएको छ । नगरका १० वटा वडामा रहेका १६ महिनामुनिका एक हजार एकसय ५२, २३ महिनामुनिका ६ सय ४८ र छुट भएका ४१ गरी एक हजार आठ सय ४१ जना बालबालिकालाई पूर्ण खोप दिइएको सुनिश्चित भएपछि भक्तपुर नगरलाई पूर्ण खोप सुनिश्चित नगर घोषणा गरिएको हो ।
सिंगो नगरलाई पूर्ण खोप सुनिश्चित घोषणा गर्नुअघि नगरका दसवटै वडालाई पनि पूर्ण खोप सुनिश्चित घोषणा गरिएको नगर प्रमुख सुनिल प्रजापतिले जानकारी दिए ।
उनका अनुसार नगरमा पूर्ण खोप सुनिश्चित गर्न भक्तपुरमा गएको वैशाख ९ गतेदेखि वडास्तरमा अभियान सुरु गरिएको थियो । स्वास्थ्य स्वयम्सेविकाहरु घरघर भई बालबालिकाले खोप पाए नपाएको निश्चित गरिएको उनको भनाइ थियो ।
भक्तपुर नगरलाई पूर्ण खोप सुनिश्चित नपा घोषणा गर्दै भक्तपुर क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य प्रेम सुवालले भक्तपुरलाई भ्रष्टाचारमुक्त नगर घोषणा गर्नसमेत सुझाव दिए ।
विगतमा ट्रान्सपरेन्सी इन्टरनेसनलले भक्तपुरलाई सदाचारको टापुको रुपमा पुरस्कृत गरेको स्मरण गर्दै भक्तपुर नपाका पूर्वप्रमुखसमेत रहेको सांसद सुवालले सरकार स्वास्थ्यप्रति आफ्नो दायित्वबाट पन्छिएको आरोप लगाए ।
स्वास्थ्य क्षेत्रमा निजी क्षेत्र हावी हुँदा स्वास्थ्योपचार महंगो हुँदै आएको उनको भनाइ थियो ।

‘डा.केसी सत्यको पक्षमा छैनन्’

नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिवसमेत रहेको सांसद सुवालले फरक प्रसंगमा जुम्लामा अनसनमा बसेका डा. गोविन्द केसी पूर्णतः सत्यको पक्षमा नरहेको प्रतिक्रिया दिए ।
डा. केसीले काठमाडौं उपत्यकामा मेडिकल कलेज खोल्न नपाउने माग गर्दा सरकारी र सामुदायिक मेडिकल कलेजसमेत खोल्न बन्द हुने उनको भनाइ थियो ।
डा. केसीको मागअनुसार भक्तपुर नगरपालिकाले समेत ख्वप विश्वविद्यालयमातहत रहेर मेडिकल कलेज खोल्न नपाउने उनको दावी थियो ।
‘सरकारले डाक्टर पढ्न ३५ लाख शुल्क तोके पनि निजी मेडिकल कलेजले दोब्बरसम्म शुल्क लिँदै आएका छन्’, उनले भने, ‘तर डा. केसीले त्यसको विरोध गरेका छैनन् । जसले गर्दा उनको अनसनमा शंका गर्ने ठाउँ रहेको छ ।’
सांसद सुवालले विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार नेपालमा अझै हजारौं चिकित्सक आवश्यक भएको हुँदा त्यसलाई नियोजन गर्नेभन्दा सक्षम सम्पूर्ण विद्यार्थीहरुले डाक्टरी पढ्ने व्यवस्था गर्नुपर्ने धारणा राखे ।
पैसा नभएरै योग्य विद्यार्थीहरुले डाक्टर पढ्नबाट बञ्चित हुन नहुने उनको भनाइ थियो ।

रोटा भाइरसको खोप थपिने

कार्यक्रममा स्वास्थ्य मन्त्रालयको बाल स्वास्थ्य महाशाखाका खोप शाखा प्रमुख डा. झलक गौतमले आगामी आर्थिक वर्षदेखि रोटा भाइरसको खोप थप्न लागिएको जानकारी दिए ।
अहिले बालबालिकालाई निःशुल्क रुपमा एघार वटा खोप दिइँदै आएको छ । झाडापखाला हुन नदिने रोटा भाइरसको खोप थपिएपछि बालबालिकाले पाउने खोपको संख्या १२ पुग्ने प्रमुख डा. गौतम बताउँछन् ।
उनले अझै एक प्रतिशत बालबालिकाले कुनै पनि खोप नपाउने गरेको सुनाउँदै २२ प्रतिशत बालबालिकाले आंशिकमात्रै खोप पाउने जानकारी दिए ।
कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्णबहादुर चन्दले असार महिनाभित्र सिंगो भक्तपुर जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा गर्ने तयारी तीव्र पारिएको जानकारी दिए ।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!