Connect with us

SOCIAL

भक्तपुरका ३० वटा विद्यालय अझै पुनर्निर्माण बाहिर

Published

on

भक्तपुर दरबार क्षेत्रस्थित भूकम्पले ध्वस्त बनाएको पद्म माध्यमिक विद्यालयको राणाकालीन भवन ।

भक्तपुर । भक्तपुरका ३० वटा सामुदायिक विद्यालय अझै पुनर्निर्माण बाहिर रहेका छन् । २०७२ साल वैशाख १२ को महाभूकम्प र त्यसपछिका पराकम्पले यहाँका ६२ वटा सामुदायिक विद्यालयमा बढी क्षति पुगेको थियो । त्यसमध्ये चाँगुनारायण नपा ६ नगरकोटस्थित गडगडे आधारभूत र सूर्यविनायक नगरपालिका १० चित्तपोलस्थित महाँकालेश्वर आधारभूत विद्यालय पूर्ण क्षतिग्रस्त बनेका थिए ।
भूकम्पले अधिक क्षतिग्रस्त सामुदायिक विद्यालयमध्ये ३२ वटा विद्यालयको मात्रै पुनर्निर्माण कार्य भइरहेको छ । जसमध्ये नौ वटा विद्यालयको पुनर्निर्माण सम्पन्न भएको जिल्ला आयोजना कार्यान्वयन ईकाई (शिक्षा) का प्रमुख देवकुमार बरालले जानकारी दिए ।
उनका अनुसार आर्थिक वर्ष २०७३÷७४ मा विद्यालय व्यवस्थापन समितिबाट पुनर्निर्माण कार्य अघि बढाइएका आठ विद्यालय अझै पूर्ण हुन सकेका छैनन् । एसियाली विकास बैंकको सहयोगमा पुनर्निर्माण भएको ती विद्यालयको काम चालू आवभित्र नसकिए थप सहयोग नहुने हुँदा अधुरै हुने सम्भावना देखिएको प्रमुख बराल बताउँछन् ।
उक्त आर्थिक वर्षमा विद्यालय पुनर्निर्माणको क्रममा कार्यालय शिक्षा मन्त्रालयमातहत थियो तर अहिले उक्त कार्यालय राष्ट्रिय पुनर्निर्माण प्राधिकरण मातहत ल्याइएको छ ।
‘शिक्षा मन्त्रालयमातहत कार्यालय हुँदा पुनर्निर्माण अघि बढाइएका विद्यालयको काम नसकिए अधुरै हुने सम्भावना छ’, उनले भने, ‘अहिले कार्यालय राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमातहत आएकाले पुराना कार्यक्रम बजेट नपाउने स्थिति आएको हो ।’
उक्त आर्थिक वर्षमा पुनर्निर्माण सुरु गरिएको आठ विद्यालयमध्ये मध्यपुर थिमी नपास्थित बोडे मावि, भक्तपुर नपास्थित वरदायिनी आधारभूत विद्यालय र चण्डेश्वरी आधारभूत विद्यालय अधुरै रहने देखिएको उनी बताउँछन् ।
चालू आर्थिक वर्षमा विद्यालय व्यवस्थापन समितिबाट १०, केन्द्रीय आयोजना कार्यान्वयन इकाईमार्फत निर्माण व्यवसायीबाट दुई र दातृ संस्थाबाट दुई गरी १४ वटा विद्यालयको पुनर्निर्माण कार्य भइरहेको कार्यालयका इञ्जिनियर अजयकुमार साहले जानकारी दिए ।
उनका अनुसार चालू आर्थिक वर्षमा विद्यालय पुनर्निर्माणतर्फ करिब ६५ प्रतिशत प्रगति भएको छ । बाँकी ३५ प्रतिशत प्रगति २०७५ कार्तिकभित्र प्राप्त गर्ने गरी पुनर्निर्माण तीव्र गतिमा भइरहेको उनी बताउँछन् ।
कार्यालय प्रमुख बरालले आउँदो आर्थिक वर्षको लागि १२ वटा विद्यालयको पुनर्निर्माणको लागि अहिल्यै बजेट माग गरी पठाइएको जानकारी दिए ।
‘आउँदो आर्थिक वर्षसम्म हामीले अझै ३० वटा विद्यालय पुनर्निर्माण गर्न बाँकी छ’, उनले भने, ‘जसमध्ये आउँदो आर्थिक वर्षमा १२ वटा विद्यालयको पुनर्निर्माणको लागि बजेट तथा कार्यक्रम माग गरी पठाएका छौं ।’
धेरै विद्यालयले पुनर्निर्माण गर्न तोकिएको मापदण्डअनुसार आफ्नै जग्गा नहुँदा समस्या भएको उनको भनाइ छ ।
उनका अनुसार नगरपालिकाबाट नक्सा पास गर्न ढिलाइ हुँदा पनि कति विद्यालयले बजेट तथा कार्यक्रम पाउन समस्या भएको छ ।
आर्थिक वर्ष २०७५÷७६ मा रेट्रो फिटिङ गर्ने कार्यक्रम तथा बजेट आउने प्रमुख बरालले जानकारी दिए । जुन कार्यक्रमले भूकम्पले आंशिक क्षति पुगेका विद्यालयलाई सघाउ पुग्ने उनी दावी गर्छन् । भूकम्पको क्रममा यहाँका ३५ वटा विद्यालयमा सामान्य क्षति पुगेको थियो ।
भक्तपुरमा कूल एकसय २९ वटा सामुदायिक विद्यालय रहेका छन् ।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!