Connect with us

SOCIAL

‘कोभिडबाट बच्ने एकमात्रै निर्विकल्प खोप’

Published

on

काठमाडौं । विशेषज्ञ चिकित्सकहरुले कोरोना भाइरस संक्रमणको तेस्रो लहर नआउँदै सम्पूर्ण जनताको लागि खोपको सुनिश्चित गर्न जोड दिएका छन् । उनीहरुले कोरोना भाइरस संक्रमणको चेनलाई रोक्ने एकमात्रै निर्विकल्प खोप भएकोसमेत स्पष्ट पारे ।
एड्स हेल्थकेयर फाउन्डेसन (एएचएफ) नेपालले सञ्चालन गरेको ‘भेक्सिनेट आवर वल्र्ड’ (भीओडब्ल्यू) सम्बन्धी भर्चुअल पत्रकार सम्मेलनमा विशेषज्ञ चिकित्सकहरुले खोपले जटिल स्वास्थ्य समस्या आउन नदिएकाले निसंकोच कोरोना भाइरसविरुद्धको खोप लगाउन आह्वान गरे ।
भर्चुअल पत्रकार सम्मेलनमा संक्रामकरोग विशेषज्ञ डा. शेरबहादुर पुनले कोरोना भाइरस संक्रमणबाट बच्न खोपमात्रै निर्विकल्प भएको स्पष्ट पारे ।
उनले दोस्रो लहर आउनुअघि नै नेपालमा खोप दिन सकिएको भए मृत्युदर धेरै हदसम्म रोक्न सकिने बताए ।
‘दोस्रो लहर आउनुअघि नै नेपालमा खोप दिन सकिएको भए अहिले बढिरहेको मृत्युदर धेरै हदसम्म रोक्न सकिन्थ्यो’, डा. पुनले भने, ‘जनस्वास्थ्य मापदण्ड पालना गर्दागर्दै सर्वसाधारण संक्रमित हुन सक्छन् । यस्तो अवस्थामा खोपमात्रै निर्विकल्प हो ।’
खोप लगाएकाहरुलाई संक्रमण भए पनि उनीहरुमा जटिल स्वास्थ्य समस्या नदेखिएको चितवनस्थित भरतपुर अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा. कल्याण सापकोटाले जानकारी दिए ।
‘खोप लिएकाहरुमा जटिल स्वास्थ्य समस्या नदेखिएपछि उनीहरुले धेरै दिन अस्पताल बस्न परेन’, उनले भने, ‘अस्पतालमा बिरामी कम भएपछि राज्यको खर्च पनि धेरै बच्यो । त्यसैले सरकारले खोपमै बढी जोड दिनुपर्छ ।’
अहिले स्थानीय, प्रदेश र संघ गरी तीनै तहका सरकारको ध्यान खोपको जोहो गर्नेतर्फ नै केन्द्रित हुनुपर्ने उनको भनाइ थियो ।
उनले खोप दिन सकिएको भए अक्सिजन प्लान्ट धेरै बनाइरन नपर्ने धारणा राखे ।
‘हामीकहाँ सुरुवातदेखि नै त्रुटिपूर्ण कार्य भयो । अहिले पनि अक्सिजन प्लान्ट बनाउने, आईसीयू थप्ने कार्य भइरहेको छ’, डा. सापकोटाले भने, ‘यसो गर्नुहुन्न भनेको होइन तर हामीले तेस्रो लहरको प्रतिक्षा गर्ने होइन । खोपको व्यवस्थापनतर्फ लाग्ने हो ।’
चिकित्सकद्वयले सरकारले सक्षम कूटनीतिक पहल गरी खोप खरिद गर्नुपर्ने सुझाव दिए ।
एएचएफको एसिया व्युरोका एड्भोकेसी एण्ड मार्केटिङ म्यानेजर दीपक ढुंगेलले मानव जातिको रक्षाको लागि सबै देश र जनताको खोपमा समान पहुँच हुनुपर्ने औंल्याए ।
धनी मुलुककै कारण गरिब मुलुकले खोप नपाउने अवस्थाको अन्त्य हुनुपर्ने उनको भनाइ थियो ।
‘कोरोना भाइरस संक्रमण विश्वबाटै निस्तेज हुन धनी मुलुकका जनताले मात्रै खोप पाएर पुग्दैन’, म्यानेजर ढुंगेलले भने, ‘गरिब मुलुक र जनता खोपविहीन भएर धनी मुलुक र जनता सुरक्षित हुन सक्दैनन् ।’
राष्ट्रिय एचआईभी एड्स महासंघ नेपाल (एनएपीएन) का अध्यक्ष राजेश दिदियाले खोप नपाउँदा नेपालका २०६ जना एचआईभी संक्रमितले ज्यान गुमाउनुपरेको सुनाए ।
उनले करिब ३० हजार एचआईभी संक्रमित रहेको नेपालमा अहिलेसम्म ७० जनाले मात्रै कोरोनाको खोप पाएको जानकारी दिए ।
एचआईभी संक्रमितहरुसँग पहिल्यै भाइरस भएकाले कोरोना भाइरस संक्रमण हुन नदिन उपचारबाट बञ्चित नगर्न उनले सरकारसँग माग गरे ।
कार्यक्रममा एएचएफ नेपालका कन्ट्री प्रोग्राम म्यानेजर दिव्यराज जोशीले विकसित मुलुकहरुले होल्ड गर्दा खोपमा विकासशील राष्ट्रहरुको पहुँच टाढिँदै गएको बताए । यस्तो अवस्थामा सबै विकासशील मुलुकहरुले एकजुट भई खोपमा समान पहुँच बढाउनुपर्ने आवश्यकता भएको उनको भनाइ छ ।
कार्यक्रममा विश्वका १४ प्रतिशत धनी मुलुकले उत्पादन भएको खोपमध्ये ८५ प्रतिशत खरिद गरिसकेको जानकारी दिइएको छ । जसले गर्दा गरिब मुलुकले खोप पाउने सम्भावना टाढिँदै गएको छ । साथै विकसित मुलुकको तुलनामा गरिब मुलुकको लागि खोप महंगिँदै आएकोसमेत बताइएको छ ।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!