Connect with us

HEALTH

मृत संक्रमितलाई सलामीसहित अन्तिम बिदाई गर्नेहरुको कथा

Published

on

फोटोहरु सौजन्य : सहायक सेनानी डम्बर बुढा

पछिल्लो समय कोरोना भाइरस संक्रमितहरुको मृत्युदर बढिरहेको छ । अस्पतालमा उपचारको लागि भर्ना भएका संक्रमितहरुले अक्सिजनसमेत पाउन सकेका छैनन् । अस्पतालका भएभरका शय्या संक्रमितले भरिएन थालेका छन् । संक्रमितहरुले अस्पतालमा आफ्नो पालो कुर्नुपर्ने बाध्यता आइलागेको छ । जसले गर्दा नयाँ थपिएका संक्रमितहरुले अस्पतालको मुखै नहेरी ज्यान गुमाउनुपर्ने अवस्था आइरहेको छ ।
संक्रमितहरुको उपचार जति असहज बन्दै आएको छ, कोरोना भाइरस संक्रमणले मृत्युवरण गरेकाहरुको शव व्यवस्थापन पनि उत्तिकै चुनौतीपूर्ण भएको छ । काठमाडौंको पशुपतिस्थित दुइटा विद्युतीय शवदाह गृह अपुग भएको छ । संक्रमण हुँदा अस्पतालमा उपचारको लागि लाम बस्नुपर्ने बाध्यता एकातिर छ भने अर्कोतिर मृत्युपछि अन्तिम संस्कारसहित सदगदको लागि समेत विद्युतीय शव दाहगृहमा पालो कुर्नुपर्ने भएको छ । विद्युतीय शवदाह गृहमा पालो पाउन धेरैसमय कुर्नुपरेपछि शव व्यवस्थापन टोलीले बागमती किनारमा संक्रमितको सदगद गर्न थालेको छ । बागमती किनारमै ठाउँ अभाव भएपछि खुला चौरमा संक्रमितहरुको सदगद हुन थालेको छ । जुन दृश्यले कोरोना भाइरस संक्रमण कति भयावह बन्दैछ भन्ने आँकलन गर्न गा-हो छैन तर स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा अवज्ञा गरी सडकमा आउने सर्वसाधारण घटेका छैनन् । उपत्यकाका सहरी क्षेत्रमा गुडेका सवारीसाधनको संख्या हेर्दा निषेधाज्ञा छ भन्ने अवस्था नभएको भक्तपुरको सूर्यविनायकस्थित नेपाली सेनाको इन्द्रबक्स गणका शव व्यवस्थापन टोलीका सदस्यहरु बताउँछन् ।

सरकारले कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएका व्यक्तिहरुको शव सदगद गर्न नेपाली सेनालाई जिम्मा दिएको छ । सोहीअनुसार भक्तपुर जिल्लामा मृत्यु हुने संक्रमितहरुको शवको व्यवस्थापन सूर्यविनायकस्थित नेपाली सेनाको इन्द्रबक्स गणले गर्दै आएको हो । इन्द्रबक्स गण ३ महिनाअघि मात्रै भक्तपुरको सूर्यविनायकमा आएको हो । सूर्यविनायकस्थित सैनिक व्यारेकमा इन्द्रबक्सअघि वीरदल गण रहेको थियो । वीरदलले गर्दै आएको शव व्यवस्थापन अहिले इन्द्रबक्स गणको जिम्मेवारीमा सरेको छ । इन्द्रबक्स गण आएको ३ महिनाभित्र ३७ जना संक्रमितको शव व्यवस्थापन गरिएको गणका सहायक सेनानी डम्बर बुढा बताउँछन् ।
अहिले बुढासँगै सहायक सेनानीद्वय प्रदीप थापा र अम्बर सुवेदी, उपसेनानी सुनिल हेम्बा, दुर्गा महत्तो, जुनुराम महत्तो, सोमबहादुर मगर, सुरेश तिवारीलगायत शव व्यवस्थापनमा परिचालित छन् । उनीहरुलाई एकएकजना शव बाहन र एम्बुलेन्स चालकहरुले समेत साथ दिइरहेका छन् । त्यस्तै गणका प्रमुख प्रमुख सेनानी सामन्तध्वज खाँड र सेनानीहरुले प्रत्यक्ष अप्रत्यक्ष सहयोग पु-याउँदै आएका छन् ।
भक्तपुरमा हालसम्म एकसय ५४ जना संक्रमितहरुको मृत्यु भएको छ ।
भक्तपुरमा मृत्यु भएका संक्रमितहरुको सदगद गर्न पशुपतिसम्म लानुपर्दा धेरै समय कुर्नुपर्ने बाध्यता रहेको सहायक सेनानी बुढा बताउँछन् ।
‘पशुपतिमा शव सदगद गर्न लामो समय पालो कुर्नुपर्छ’, उनले थपे, ‘त्यसैले भक्तपुरमै कतै सुरक्षित स्थानमा सदगद गर्न पाए हुन्थ्यो ।’
यसबारे भक्तपुरस्थित डीसीसीएमसी, नगरपालिकाहरुको ध्यानाकर्षण गरिएको उनको भनाइ थियो ।
आफूहरुले ज्यान जोखिममा राखेर मृत्यु भएका संक्रमितहरुको शव सदगद गर्न जाँदा र फर्कँदा सडकमा देखिएका सर्वसाधारणको भीडले पीडा महसुस हुने उनीहरु बताउँछन् । अझ सहरका सडकमा गुडेका सवारीसाधनको संख्याले भित्री मनैदेखि दुःख लाग्ने उनीहरुको भनाइ छ ।
‘आफ्नै ज्यान जोखिममा राखेर मृत्यु भएका संक्रमितहरुको सदगद गरिरहेका छौं’, उनीहरु सबैले एकैस्वरमा भने, ‘तर निषेधाज्ञाकै बीच सडकभरि मान्छेको हुल देख्दा पीडा महसुस हुन्छ । सडकमा गुडेका गाडी देख्दा मनभित्रैदेखि दुःख लाग्छ ।’

‘एकपटकमा ४ जना खटिँन्छौं’

– सहायक सेनानी डम्बर बुढा

हामी संक्रमितको मृत्यु भएको खबर प्राप्त भएपछि आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गर्छौं । यसबाहेक भक्तपुरका संक्रमित उपचार भइरहेका अस्पतालमा हाम्रो निरन्तर सम्पर्क भइरहन्छ । त्यस्तै डीसीसीएमसी, प्रहरी, नगरपालिकाहरुसँग पनि हामी अटुट सम्पर्कमा हुन्छौं । यी सबैबाट हामीकहाँ संक्रमितको मृत्यु भएको जानकारी संकलन गर्छौं । जसअनुसार अस्पतालमा उपचार रहँदै र होम आइसोलेसनमा बस्दाबस्दै मृत्यु भएका संक्रमितहरुको शव उठाएर व्यवस्थापन गर्छौं ।
संक्रमितको मृत्यु भएपछि आवश्यक प्रक्रिया पूरा गरेर एकपटकमा ४ जना खटिन्छौं । संक्रमितको शव उठाउन ४ वटा कागजात आवश्यक पर्छ । पहिलो, परिवारको मञ्जुरीनामा, दोस्रो कोरो भाइरस संक्रमण परीक्षण गरिएको पीसीआर रिपोर्ट, तेस्रो अस्पताल वा वडा कार्यालयले दिएको मृत्युको प्रमाणपत्र र चौथोमा सीसीएमसीको निर्णय आदेश । यी प्रक्रिया पूरा नभई शव व्यवस्थापन गर्ने टोली परिचालन हुँदैन । २ जनाले संक्रमितको शव पोको पार्ने र सुरक्षित रुपमा शव बाहनमा राख्ने गर्छन् । एकजनाले शव उठाइसकेपछि निःसंक्रमण गर्ने कार्य गर्छ । अर्को एकजनाले आवश्यक कागजात मिलाउने तथा सुपरभिजन गर्ने कार्य गर्छ । शव बाहनमा राखेको शव पशुपतिस्थित विद्युतीय शव दाहगृहमा लान्छौं । मृतकका परिवारलाई अन्तिम दाहसंस्कार गर्ने समय दिन्छौं । आफन्तले मृतकको अनुहार हेर्न मिल्दैन भनी सोध्छन् । त्यसबेला आफू पनि भावविह्वल भइन्छ । मन भित्रैदेखि भक्कानिन्छ तर सहनै पर्छ । रोगै यस्तो सुरक्षित रुपमा पोको पारिएको शव खोल्न मिल्दैन । आफन्तले अन्तिममा पनि मृतकको अनुहारै हेर्न नपाइने अवस्था आउँदा पनि सर्वसाधारण सचेत भएको देखिँदैन । निषेधाज्ञा घोषणा गरिएको छ तर सडकमा सर्वसाधारणको चहलपहल घटेको छैन । सडकमा सवारीसाधन उत्तिकै गुडेका छन् । यसले भित्री मनदेखि पीडा महसुस हुन्छ ।

‘सबै सुरक्षा मापदण्ड पालना गरेका छौं’

– सहायक सेनानी प्रदीप थापा

सबै सुरक्षा मापदण्ड पालना गरेरमात्रै हामी परिचालित हुन्छौं । पीपीई सेट अनिवार्य लगाउँछौं । डबल सर्जिकल माक्स, केएन ९५ माक्स, गगल्स, फेस शिल्ड, हेड कभर, खुट्टामा गमबुट, गमबुटबाहिर अर्को कभर, हातमा पञ्जा लगाउँछौं । हाम्रो शरीरको कुनै पनि भाग खुला हुँदैन । जसले गर्दा कोरोना भाइरस हाम्रो शरीरको पहुँचमा जान पाउँदैन । शव व्यवस्थापनपछि लगाएको सम्पूर्ण सुरक्षा सामग्री जलाएर नष्ट गरिन्छ । साथै हामी आफ्नो स्वास्थ्य सुरक्षाप्रति त्यत्ति नै सचेत छौं । जसले गर्दा अहिलेसम्म शव व्यवस्थापनमा खटिएका हामीमध्ये कोही पनि संक्रमित भएका छैनौं । सबै सुरक्षित छौं । पशुपतिमा शवको लाइन लागेकाले सदगद गर्न भने बढी समय कुर्नुपर्ने समस्या आइलागेको छ । विद्युतीय सवदाह गृहमा एउटा शव जलाउनको लागि एकघन्टाभन्दा बढी समय लाग्छ । अहिले बागमती किनारमा चिताको संख्या बढे पनि ठाउँ कम छ । त्यसैले भक्तपुरका मृतकहरुको शव भक्तपुरमै कतै सुरक्षित रुपमा व्यवस्थापन गर्न सकिए छिटो र सहज हुने थियो । यसबारेमा डीसीसीएमसीको ध्यानाकर्षण गरेका छौं । यहीं रफ्तारमा मृत्यु हुने संक्रमितको संख्या बढे भारतकै अवस्था आउन धेरै समय लाग्दैन । त्यसैले भक्तपुरमै संक्रमितको सशव व्यवस्थापन गर्नेतर्फ अहिल्यै तयारी अघि बढाउनुपर्ने देखिन्छ ।
हामीलाई सुरुसुरुमा शव व्यवस्थापन गर्न स्वास्थ्य सामग्री अभाव थियो । संक्रमितको शव पोको पार्ने ब्याग नै अभाव थियो । हामीले लगाउने पीपीई सेट पनि कमै थियो । अहिले नगरपालिका, रेडक्रसलगायतले सहयोग गरेकाले समस्या छैन । तर संक्रमणदर तीव्र हुँदा पनि सर्वसाधारण सचेत भएको पाइँदैन । जसले गर्दा भोलि शव उठाउनै नभ्याउने अवस्था नआओस् भनी हामीले कामना गर्दै आएका छौं ।

‘घरपरिवारले हौसला दिएका छन्’

– सहायक सेनानी अम्बर सुवेदी

संक्रमितको शव व्यवस्थापन गर्न हामी खटिएको घरपरिवारलाई जानकारी छ । घरपरिवारले सुरक्षित भएर काम गर्न हौसला दिँदै आएका छन् । उहाँहरुले जहाँ गए पनि जहाँ बसे पनि कामै गर्ने हो, काम गर्नुस्, आफू सुरक्षित भएर जिम्मेवारी पूरा गर्नुस् भन्नुभएको छ । यसले गर्दा कर्म क्षेत्रमा जिम्मेवारीपूर्वक लाग्न प्रेरित गरेको छ । नेपाली सेनामा रहेर महामारीको बीचमा काम गर्न पाउँदा हामी गौरवान्वित छौं । हामी भित्री मनदेखि सन्तुष्ट छौं । महामारीकै बीच अग्रपंक्ति बसेर काम गर्न पाइरहँदा हामीले गर्व महसुस गरिरहेका छौं । नेपाली सेनाले आफ्नो ज्यानलाई यति जोखिममा राखेर पनि खटिएर काम गरिरहेको छ भनेर हामीले देखाउन पाएका छौं । यसैले हामीलाई गर्व महसुस गराउँछ । नेपाली सेनामा लागेर महामारीको बीच देश र जनताको सेवा गर्न पाएका छौं । महामारीको बेला हाम्रो कर्तव्य र परम धर्म नै सेवा गर्नु हो । मर्नु त सबैलाई एकदिन छँदैछ । हामीले गर्नुपर्ने काम खुसी भएर गरिरहेका छौं तर संक्रमितको मृत्यु बढेको देख्दा मनैदेखि दुःख पनि लाग्छ । अन्तिम समयमा आफन्त मृतकको शवलाई फूलमाला चढाउन आउँदा घरपरिवारको याद आउँछ । त्यसबेला कोरोना भाइरस संक्रमण नियन्त्रण तथा व्यवस्थापन गर्न अझ गर्नुपर्ने धेरै काम बाँकी छ जस्तो लाग्छ र थप काम गर्न उत्साह पनि प्राप्त हुन्छ ।
निषेधाज्ञा भए पनि अवस्था खुकुलो देखिन्छ । त्यसैले यसलाई कडाइ गर्न सकिए बढीभन्दा बढी जनता सुरक्षित हुन्छन् कि भन्ने लाग्छ । संक्रमित कम भए मृत्युवरण गर्नेहरु पनि न्यून हुन्छ कि भन्ने लाग्छ ।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!